अस्पताल निर्माणका लागि ७ दिने महायज्ञ



३० कार्तिक २०७५, काठमाडौं

सोलुखुम्बुमा अस्पताल निर्माणका लागि महायज्ञ सञ्चालन हुने भएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ मुक्लीमा ५० शैय्याको अत्याधुनिक तथा सुविधासम्पन्न अस्पताल निर्माणका लागि चैत २ देखि ९ गतेसम्म श्रीमद् भागवत सप्ताहज्ञान महायज्ञ आयोजना हुने भएको हो ।

वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल महायज्ञको प्रमुख वाचकका रुपमा रहने छन् । महायज्ञ सम्पन्न गर्न मंगलबार थुलुङ दूधकोशी गाउँपालिका प्रमुख असिम राई संयोजक, विमल बस्नेत महासचिव र वलराम गुरुङ कोषाध्यक्ष रहेको १ हजार १ सदस्य मूल समारोह समितिसमेत गठन गरिएको छ । थुलुङ दूधकोशी गाउँपालिकाको कार्यालय मुक्लीमा अस्पताल निर्माणार्थ आर्थिक सहयोग जुटाउने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

पण्डित पोखरेलले अस्पताल निर्माणका लागि महायज्ञ आयोजना हुनु आफैंमा परोपकारी तथा धर्म र विज्ञानको संयोजन भएको बताए । “धार्मिक अनुष्ठानबाट संकलित आर्थिक सहयोगको माध्यमबाट मानव जगतको हितका लागि अस्पताल निर्माण गर्नु आफैंमा विज्ञान र धर्मबीचको संयोजन हो,” मूल समारोह समिति गठनमा बोल्दै पण्डित पोखरेलले भने, “यसबाट धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बढाउनुका साथै मानव जगतको हितमा धर्मको महत्व कति छ भन्ने स्पष्ट पारेको छ ।”

मूल समारोह समितिका संयोजक तथा गाउँपालिका प्रमुख राईले भेण्टिलेटरसहित ५० शैय्याको अस्पताल निर्माण गर्न सके सोलुखुम्बु तथा आसपास जिल्लाका नागरिक स्वास्थ्य उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यताबाट मुक्त हुने बताए । अस्पताल निर्माणकै लागि यसअघि नै गाउँपालिका–१ मुक्लीका स्थानीय बलराम गुरुङले ५० रोपनी जग्गा निःशुल्क उपलब्ध गराइसकेका छन्

प्रतिक्रिया दिनुहोस्