एक अर्ब ५९ करोड राजश्व सङ्कलन



२९ कार्तिक २०७५, विराटनगर

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको तीन महीनामा कूल रु एक अर्ब ५९ करोड ११ लाख राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु एक अर्ब ४८ करोड ६५ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

तीन महीनामा रु १० करोड ४६ लाख बढी राजश्व सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिनुभयो । गत आवमा सो अवधिमा रु एक अर्ब २१ करोड ८३ लाख राजश्व सङ्कलन गरेको थियो । चालु आवको तीन महीनामा गत आवको तुलनामा ३० प्रतिशत अर्थात् रु ३७ करोड २८ लाख बढी राजश्व सङ्कलन गर्न सफल भएको गौतमले बताउनुभयो ।

चालू आवमा आयकरतर्फ रु ३९ करोड ८३ लाख ४८ हजार, बहाल करतर्फ रु एक करोड ८७ लाख ६४ हजार, ब्याज करतर्फ रु दुई करोड ४२ लाख १५ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ३४ करोड ६२ लाख, अन्तःशुल्कतर्फ रु ७७ करोड ४३ लाख, स्वास्थ्य सेवा करतर्फ रु दुई करोड ४० लाख २३ हजार र शिक्षा करतर्फ रु ५२ लाख ६१ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले मङ्सिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित कर सप्ताह मनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्