आयरल्याण्डको आकाशमा देखियो अनौठो चम्किलो वस्तु, अनुसन्धान सुरु गर्ने अधिकारीहरुको भनाई



२७ कार्तिक २०७५, काठमाडौं

आयरल्यान्डको आकाशमा अनौठो चम्किलो वस्तु देखिएको छ । आयरल्यान्डको आकाशमा अचानक चम्किलो प्रकाश र उडान तश्तरी युएफओ (अनआइडेन्टिफाइ फ्लाइङ अब्जेक्ट) देखिएको भन्दै अनुसन्धान शुरु भएको छ। स्थानीय सयमअनुसार शुक्रबार बिहान ६ बजेर ४७ मिनेटमा ब्रिटिश एयरवेजकी पाइलटले सबैभन्दा पहिले पश्चिम दक्षिण तटीय क्षेत्रमा चम्किलो प्रकाश र उडान तश्तरी देखिएको जानकारी शानन एयर ट्राफिक कन्ट्रोललाई गराएकी थिइन् ।

त्यसपछित्यस क्षेत्रमा उड्दै गरेका अन्य केही विमानले पनि त्यस विषयमा ट्राफिक कन्ट्रोललाई जानकारी गराएका बिबिसिले जनाएको छ । ब्रिटिश एयरवेजकी पाइलटले ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरेर त्यस क्षेत्रमा ‘केही वस्तु तीव्र गतिमा उडिरहेको देखिएको’ जानकारी ट्राफिक कन्ट्रोललाई दिएकी थिइन । उनले ट्राफिक कन्ट्रोलसँग ‘त्यस क्षेत्रमा सैनिक अभ्यास भैरहेको हो’ भनेर सोधेकी थिइन् । ट्राफिक कन्ट्रोलले भने सैनिक अभ्यास नभएको जानकारी गराएको थियो ।

बोइङ विमानकी ती पाइलट क्यानडाको मोन्ट्रियलबाट हिथ्रोतर्फ जाँदै थिइन् । उनले ‘धेरै चम्किलो प्रकाशसहितका वस्तुहरू उत्तरी दिशामा बिलाउनु अघि विमानको बायाँबाट तीव्र गतिमा माथि जाँदै गरेको’ बताइन् । विमानमा ठोक्किन नआए पनि सो वस्तु के हो भन्दै उनले आश्चर्य व्यक्त गरेकी थिइन् । भर्जिन विमानका पाइलटले पनि त्यस्तै रिपोर्ट गरेका थिए । उनले उल्का वा अन्य वस्तु पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हुनसक्ने जानकारी गराएका थिए । उनले ‘धेरै वटा वस्तुहरु एकै दिशामा जाँदै गरेको र ती सबै निकै चम्किलो भएको’ बताएका थिए । ती पाइलटले आफ्नो दायाँतिर दुई वटा चम्किलो वस्तु माथितिर जाँदै गरेको देखेको रिपोर्ट गरेका थिए । तेस्रो पाइलटले भने त्यो चम्किलो वस्तुको गति ‘म्याच २ जस्तो निकै तीव्र भएको’ जनाएका थिए । म्याच २ को गति ध्वनीको गतिभन्दा दुई गुणा बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्