फर्केर हेर्दा : मनोज कुमार घिमिरे



२६ कात्तिक २०७५ काठमाडौँ

काठमाण्डौ जिल्लाको मनमैजु गाउँ विकास समिति अर्थात हालको तारकेश्वर नगरपालिकामा २०३० सालमा जन्मिएका हुन् मनोज कुमार घिमिरे । मध्यम वर्गीय परिवारमा जन्मिएका घिमिरेसँग हाल तारकेश्वर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष, हेराल्ड इन्टरनेशनल कलेजका संस्थापक तथा प्रशासकीय इञ्चार्ज,एन प्याबसनका पूर्व उपाध्यक्ष लगायतका विभिन्न परिचयहरु जोडिएका छन्  ।

शैक्षिक यात्रा

बालाजुमा अवस्थित तरुण माध्यमिक विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात गरेका घिमिरेले २०४६ सालमा एसएलसी उत्तीर्ण गरे । तत्पश्चात उनले पब्लिक युथ क्याम्पस धोवीचौरबाट आइकम , सरस्वती क्याम्पसबाट स्नातक तथा शंकरदेव क्याम्पसबाट स्नातकोत्तर (एमबिएस)  उत्तीर्ण गरेका हुन् ।

शिक्षा क्षेत्रमा रुची राख्ने घिमिरेले आफैँले केहि गर्नुपर्दछ भन्ने अठोटका साथ आइकमको परिक्षा दिए लगत्तै २०४९ सालमा केही साथीहरुसँग मिलेर ग्राम आदर्श इङलिस स्कुलको सुरुवात गरे । उक्त स्कुल २०५६ सालमा ज्ञानभूमि हाई स्कुलमा परिणत भयो ।

ज्ञानभूमिमा सुरुवातमा अकाउन्टेनको भूमिका निर्वाहा गरेका घिमिरले २०५६ देखि २०७२ सालसम्म कूशलतापूर्वक  प्रिन्सिपलको जिम्मेवारी बहन गरे । २०५९ बाट एसएलसी परीक्षामा सामेल भएको ज्ञानभूमिमा हाल ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गत स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएपछि उनी ज्ञानभूमिमा संस्थापकको रुपमा आबद्ध छन् ।

२०६३ सालमा महाराजगंजमा हेराल्ड इन्टरनेशनल कलेजको सुरुवात भयो  । हाल आफ्नै भवनमा बसुन्धारमा सञ्चालन भइरहेको हेराल्डमा २५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उक्त कलेजको संस्थापक सदस्य रहेका घिमिरेले बिहानी सत्रको प्रशासकीय इञ्चार्जको भूमिका निर्वाह गर्दै आएका छन्  ।

विद्यालय तथा कलेज सञ्चालनको दौरान उनी नेशनल प्याबसन (एनप्याबसन) सँग पनि आबद्ध भए । २०६२ सालमा एन प्याबसन काठमाडौं  जिल्ला सदस्य बनेका घिमिरे २०६४ मा एन प्याबसनको केन्द्रीय सदस्य भए । त्यस्तै २०६६ सालमा एन प्याबसनको उप–महासचिब बनेका घिमिरे २०७० मा केन्द्रीय उपाध्यक्ष तथा उपत्यका इन्चार्ज भए ।

राजनैतिक यात्रा

उनमा कलिलो उमेरमा नै राजनैतिक चेतना पैदा भयो । उनी २०४० सालबाट  नै  तत्कालिन मालेमा आबद्ध भए ।  उनका दाजु पनि मालेबाट नै राजनीति गर्ने भएकाले उनलाई सहजता थपियो । कम्युनिष्ट राजनीतिमा आबद्ध भएपछि उनले जनताका हक अधिकार, दमन, थिचोमिचो आदि बिषयमा लेखिएका थुप्रै पुस्तकहरु अध्ययन गरे ।

उनी सम्झन्छन्, ‘२०४२ सालको सत्याग्रलाई नजिकबाट नियाल्ने अवसर पाएँ । २०४३ सालतिर कम्युनिष्ट पार्टीले बन्द कोठमा  दिएको प्रशिक्षणहरुमा  सहभागी हुन थालेँ । घरमा राजनीतिक भेटघाट बाक्लिन थाल्यो । २०४६ सालको जन-आन्दोलनमा निकै दुःख पायौँ । जानीनजानी आन्दोलनमा सहभागी भइयो ।’

उनी कलेज पढ्न थालेपछि खुल्ला रुपमा राजनीतिमा आए  । कलेजको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै तत्कालिन नेकपा एमाले मनमैजु गाउँ कमिटीको सदस्य बने । तत्पश्चात उनले दुई कार्यकाल नेकपा एमाले मनमैजु गाउँ कमिटी सचिवको जिम्मेवारी बहन गरे ।

त्यस्तै २०५८-५९ मा राष्ट्रिय जनसाँस्कृतिक मञ्च काठमाण्डौ जिल्ला कमिटीको सदस्य बनेका घिमिरेले २०६१ सालमा राष्ट्रिय जनसाँस्कृतिक मञ्चको जिल्ला कमिटी अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह गरे ।

२०६३ मा जनसाँस्कृतिक मञ्च अन्तर्गतको उपत्यका समन्वय समितिको सह-इञ्चार्ज को रुपमा काम गरेका घिमिरेले २०६४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्बर २ मा सांस्कृतिक टोलीको नेतृत्व गरी माधव कुमार नेपाललाई भोट मागे ।

तत्पश्चात उनी पुनः गाउँ कमिटीमै फर्किए । २०७० सालमा नेकपा एमाले ताराकेश्वर नगर कमिटी वडा नम्बर ८ को उपाध्यक्ष बनेका घिमिरे हालसम्म पनि कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दे आएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा ताराकेश्वर नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित भए ।

सामाजिक पाटो

उनले व्यतिगत खर्चबाट ज्ञानभूमि स्कुलमा तराकेश्वर वडा नम्बर ७ र ८ का दलितबस्तीका ३०–३५  जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराइरहेका छन् । त्यस्तै कलेजमा पनि व्यक्तिग रुपमा छात्रवृत्ति उपलब्ध गराइरहेका छन् । उनी सन् २०१८–१९ का लागि रोटरी क्लब अफ कपनको अध्यक्ष समेत हुन् ।

उनले २०६३ मा गठन भएको ज्ञानभूमि हाइट सुधार समितिको संस्थापक अध्यक्षको रुपमा दुई कार्यकाल काम गरे । त्यस्तै उनी  लायन्स क्लबमा सन् १९९८ देखि २००६ सम्म आबद्ध रहे ।

सडक खानेपानीलाई प्राथमिकता

‘वडाअध्यक्षको रुपमा निर्वाचित भएपछि आफ्नो दायित्व बढेको महशुस गरेको छु । वडा बासीहरुको पनि वडाअध्यक्षसँग निकै अपेक्षा हुने गर्दछ । तर हामीसँग जन अपेक्षा अनुसारको पर्याप्त बजेट छैन् । निश्चित बजेटबाट जनताको चाहना पूरा गर्नुपर्ने अवस्था छ । तथापी हामीले गर्न सक्ने कामहरुलाई प्राथामिकताका आधारमा अघि बढाइरहेका छौँ, उनले भने  ।

आफू वडाको नेतृत्वमा आइसकेपछि गत वर्षको बजेटमा केहि बजेट थप गर्दै भित्री सडकहरु ४ किलोमिटर ढलान तथा २ किलोमिटर सडक कालोपत्रे गरिएको उनले बताए ।

भन्छन्, ‘यस वर्ष पनि सडक र खानेपानीलाई प्राथामिकतामा राखेको छु । खानेपानीको अवस्थामा केहि मात्रामा सुधार आएको छ  । त्यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत साँस्कतिक कार्यक्रम , सामाजिक सुधार , चेतनामूलक कार्यक्रमहरु, लैंगिक असमानताका बिषयका कार्यक्रमहरुलाई पनि प्राथिामिकता दिने योजनामा छु ।’

 

प्रदेश सरकारले साथ दिएको खण्डमा ३० लाख लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गर्ने उनको योजना छ । वडामा खेल मैदान निमार्ण गरिएको तथा  खेल मैदानलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।

‘वडा कार्यालमा सिसिटिभी जडान गरी विशेष निर्देशनका साथ कर्मचारी साथीहरुलाई सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न आग्रह गरेको छु । नगर कार्यपालिकाको सदस्य पनि भएको नाताले आफ्नो तर्फबाट निभाउन सक्ने भूमिकामा कुनै पनि कसर बाँकी राखेको छैन । सिंगो नगरपालिकाले महशुस गर्ने काम गर्ने जमर्को गर्दैछु । केही काम गर्न पनि खोजिएको छ । वडाको मात्रै नभएर सिंगो नगरपालिकाको दायित्व पनि बढेको महशुस गरेको छु, उनले भने ।

उनी मानिस भौतिक रुपमा गरिब भएपनि मानसिक रुपमा गरिब हुनु हुँदैन भन्ने धारणा राख्छन् ।

अन्य पाटो

उनले शिक्षा र राजनीतिमा मात्र नभएर अन्य क्षेत्रमा विभिन्न कार्यहरु गरेका छन् ।  २०५८ सालमा जनता बहुउद्देशीय सहकारी संस्थामा आबद्ध भएका घिमिरे हाल लेखा समितिमा रहेर काम गरिरहेका छन् । त्यस्तै उनी आदीमा बहुउद्देशीय सहकारी संस्था लिमिटेडको लेखा समिति संयोजक पनि हुन् ।

घिमिरले २०६३ सालमा भारतको दिल्लीबाट को-अपरेटिभ इन म्यानेजमेन्टमा डिप्लोमा गरेका छन् । नेहरु  विश्वविद्यालय अन्तर्गत सहकारी शिक्षा लिएका घिमिरेले केहि समय सहकारीको विज्ञको रुपमा तालिम पनि दिए । साथै उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम लिनुका साथै दिएका पनि छन् ।

त्यस्तै उनी करिब ५-६ बर्ष अघिबाट नेपाल डेरी एशोसियसनमा पनि आबद्ध भए ।  उनी डेरी एशोसियसनको केन्दीय सदस्य पनि हुन् । उनको आफ्नै घरेलु डेरी पनि छ । भन्छन्, परिवारको सदस्यहरुले डेरी सञ्चालन गरिरहेका छन् ।

सम्मान तथा पुरस्कार

त्यस्तै उनले शिक्षा क्षेत्रमा पुर्याएको योग्दान स्वरुप केही सम्मानहरु प्राप्त गरेका छन् । उनी राष्टिय शिक्षा पुरस्कार २०६५ तथा जिल्ला शिक्षा कार्यलयले प्रदान गर्ने शिक्षा पुरस्कारबाट पनि सम्मानित भएका छन् ।

भ्रमण

उनले चीन, थाइल्याण्ड, सिंगापुर, मलेसिया, भुटान लगायतका मुलुकहरुको भ्रमण गरेका छन् ।

शिक्षा क्षेत्रबाट टाढा जाँदिन

‘मेरो जग शिक्षा  भएकाले यसै क्षेत्रबाट चिनिन चाहन्छु । शिक्षा क्षेत्रले नै मलाई चुनाव जित्न मद्धत गर्यो । आफूले पढाएका  विद्यार्थी र अभिभावकले चुनावमा साथ दिनुभयो ।  त्यसैले शिक्षा क्षेत्रबाट टाढा जाँदिन , वडासँग सम्बन्धित सम्पूर्ण कुराहरुमा मेरो ध्येय हुनेछ । समयको व्यस्थापन गर्दै शिक्षा र राजनीतिलाई सँगसँगै अघि बढाइरहेको छु, उनले भने ।

जीवनका विभिन्न संघर्षलाई छिचोल्दै शैक्षिक र राजनैतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल बहुआयामिक व्यक्तित्व  मनोज कुमार घिमिरेको आगामी जीवन फलदायी रहोस् हाम्रो पनि कामना ।

प्रतिक्रिया दिनुहोस्