भरियादेखि अन्तर्राष्ट्रिय ब्राण्ड एम्बासडरसम्म



२१ कार्तिक २०७५, काठमाडौँ

सन् १९६३ मा सोलखुम्बु जिल्लाको तत्कालिन चौँरीखर्क गाँउ विकास समिति अर्थात हालको खुम्बु पासाङ ल्हामु गाउँ पालिकामा जन्मिएका हुन् आङतेम्बा शेर्पा । उनले १३ वर्षको कलिलो उमेरमा नै विदेशी पर्यटकहरुको भारी बोक्ने कामसँगै आफूलाई प्रकृतिको एक सच्चा पहरेदारका रुपमा परिचित गराए ।

संघर्ष, परिश्रम अनि दरिलो अठोटका साथ भरियाको पेशाबाट आफ्नो जीवनको नयाँ अध्यायको सुरुवात गरी हिमालसँग निकटताको साइनो गाँस्न पुगेका शेर्पालाई आज विश्वले नजिकबाट नियाली रहेको छ ।

आज उनीसँग वरिष्ठ पर्यटनकर्मी, पर्वतारोही, खेलाडी, कलाकार, विश्व विख्यात मोडल ,अन्तर्राष्ट्रिय ब्राण्ड एम्बासडर लगायतका परिचयहरु जोडिएका छन् । नेपाली मिडियाहरुमाझ विरलै देखिने शेर्पालाई रोयटर्स, बीबीसी,सिएन.एन जस्ता मिडियाले पनि समय समयमा पछ्याइरहेका हुन्छन् ।

बाल्यकाल

सामान्य परिवारमा जन्मिएका शेर्पाको बाल्यकाल संघर्षशील रह्यो । तत्कालिन श्री मेहन्द्र ज्योती प्राविमा कक्षा तीन पढ्दापढ्दै  परिवारको आर्थिक अवस्थाका कारण शेर्पा  भरिया बन्न पुगे । बाल्यकालमा नै विदेशीहरुसँगको सहकार्य र मित्रताले उनलाई विभिन्न कठिनाइकाबीच सफलताको बाटोतर्फ डोर्याउन मद्धत गर्यो ।

१२-१३ वर्षको बाल उमेरमा नै विदेशी पर्यटकहरुको झोला बोकी विश्वको छानो सगरमाथाको आधार शिविरमा पुग्दा दुर्घटनामा परेर उनको दाहिने हात भाँचियो । घुँडा र टाउकोमा चोटपटक लाग्यो । ती चोटहरुको खत अझै पनि देख्न सकिन्छ । मेरो शरीरमा अझै पनि ठूला अनि डरलाग्दा खतहरु बाँकी नै छन्, तर म स्वस्थ छु, दुख:को त्यो कथालाई उनी हाँसेर भन्छन् । अन्ततः त्यो उपचार सगरमाथाका पहिलो आरोही मध्येका एक सर एडमन हिलारीको खुन्दे अस्पतालमा सम्भव भयो ।

१५–१६ वर्षकै उमेरमा उनले मनांगेहरुको झिटीगुन्टाको भरियाको रुपमा नेपाल मात्र नभई हङकङ, सिंगापर थाइल्याण्ड, बंगलादेश लगायतका मुलुकहरु भ्रमण गर्ने अवसर पाए । उनी जीवनका विभिन्न अवरोधलाई छिचोल्दै आफूभित्रको अद्भुत क्षमतालाई विश्वसामु परिचित गराउन सफल भए ।

प्राय:जसो विश्वका कुना कन्दराहरुमा पर्यटनको माध्यमबाट विश्व शान्तिको सन्देश बोकेर एक अथक यात्रीझैँ अनवरत लम्किरहने अनि चम्किरहने उनी एसियाका तिब्बत, भारत, पाकिस्तानसँगै युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिका लगायतका स्थानहरुमा नेपाल र नेपालीको गौरवका गाथाहरु सुनाउँदै हिँड्छन् ।

पर्वतारोहण, पदयात्रा, खेलकुद, मोडलिङ , प्याराग्लाइडिङ आदिजस्ता विषयवस्तुहरु उनका यी विविध भ्रमणहरुका अभिन्न पाटाहरु हुन् । यी बहुआयामिक छविहरुका कारण नै विश्वसामु एउटा प्रिय अनि स्थापित नाम बन्न पुग्यो- आङतेम्बा शेर्पा।

विदेशी पर्यटकसँगको समिपताका कारण उनले  आवत-जावतका क्रममा स्वीट्जरल्यान्डमा झण्डै  ३०-३५ वर्ष  बिताए । त्यहाँ उनले हिमाल चढ्न चाहिने सामग्रीहरू पाइने ट्रान्सबासेल लिमिटेड कम्पनिमा काम गरे । हेलिकप्टर, प्याराग्लाइडिङ,र हाङलाइडिङसम्बन्धी तालिम मात्र लिए ।

विश्व विख्यात लेखकहरुबाट प्रशंसा

सोही क्रममा विदेशीसँगको सह–लेखनमा नेपालको पर्यटन, कला, संस्कृति, रितिरिवाज, धार्मिक तथा साँस्कृति धरोहरका विषयमा पुस्तक लेखे । सन् १९९० मा जर्मनबाट ‘स्टेप वाइ स्टेप इन नेपाल’ भन्ने पुस्तक प्रकाशित भयो । त्यस्तै ‘ट्रेकिङ गाइड इन नेपाल’ नामक पुस्तक पनि प्रकाशनमा आयो । त्यस्तै विश्व प्रसिद्ध डा.पावल अर्नीले नमस्ते नेपाल नामक पुस्तकमा उनको जीवनी समावेश गरेका छन् । जुन पुस्तकहरु प्रकाशित भएपछि  विश्व विख्यात लेखकहरुले पनि उनको प्रशंसा गरेका थिए ।

अन्तर्राष्ट्रिय ब्राण्ड एम्बासडर

उनले थुप्रै दुर्लभ अवसर प्राप्त गरेका छन् । उनी विश्व प्रसिद्ध स्वीस घडीको इट्टा कम्पनीबाट निर्मित वेस्ट इन वाच, राडो, रोयलेक्सको ब्राड एम्बासडर,फ्रासमा बनेको तथा स्वीजरल्याण्डमा चल्दै आएको लामा हेलिकप्टर, नेपालको उपहार चिया र अल्टा लाइट प्लेन लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीको ब्राण्ड एम्बासडर हुन् । हुन्डाई गाडी, हेलिकप्टर, पानीजहाज तथा ब्रान्डेड पहिरनहरूमा उनले मोडलिङ गर्ने अवसर प्राप्त गरेका छन् ।  हाल अमेरिकाबाट उत्पादित विभिन्न सामग्रीको मोडलिङ गर्दै आएका छन् । भन्छन्,‘मोडलिङका लागि अफर आइरहेको छ ।’

खेल जीवन

वास्तवमा उनी पर्यटनकर्मी मात्र नभएर खेलाडी पनि हुन् । शेर्पा सन् २००३ मा चेक गणतन्त्रमा सम्पन्न भएको रक क्लाइबिङमा स्वर्णपदक प्राप्त गरी च्याम्पियन बनेका थिए । त्यस्तै सन् १९८९ मा इटालीको मेरिटेनीमा भएको पौडी प्रतियोगिताका पनि उनी च्याम्पियन हुन् । सन् १९९५ मा स्वीटरजरल्यान्ड र फ्रान्समा भएको प्याराग्लाइडिङमा पनि उनी च्याम्पियन बने । ती उपाधीहरुले पनि उनको उचाइलाई अग्ल्याउन मजबुत खम्बाको काम गरे ।

सामाजिक जीवन

विभिन्न माध्यमबाट पर्यटन तथा कृषी क्षेत्रको प्रवर्दनमा लागि परेका शेर्पा बैङकिङ तथा हाइड्रोपावरमा पनि काम गरिरहेका छन् ।

त्यस्तै उनी विश्व वातावरण संरक्षणका  लागि न्युजील्याण्ड, अष्ट्रेलिया र इङल्याण्डको संयोजकको भूमिका निर्वाह गरिरहेका छन् । भन्छन्, पृथ्वी बचाउ अभियान अन्तर्गत निमावि, माविका विद्यार्थी परिचालन गर्दै वृक्षारोपण गरिरहेको छु ।’

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पछि उनले भूकम्पपीडितको राहतका लागि आफ्नो सहृदयी मन फैलाए । शेर्पाले स्वीटजरल्याण्डका संस्थाहरु हेल्भेटास ,कारिताश र शोलीडासँग सहकार्य गर्दै  नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा पाँच सय अस्थायी आवास निर्माण पनि गरेका छन् ।

 

मानिसलाई पँखेटा लगाएर उडाउने चामत्कारिक कला

शेर्पा हाल पावर प्याराग्लाइडिङ मार्फत मानिसलाई पँखेटा लगाएर उडाउने काममा व्यस्त छन् । उनी प्याराग्लाइडिङका आविष्कारक पनि हुन् । दुई विदेशी र शेर्पाले प्याराग्लाइडिङको आविष्कार गरेका थिए। यो चामत्कारिक कलामा मानिसलाई चराझैँ उडाइन्छ ।

कलायात्रा

बहुआयामिक व्यक्तित्व शेर्पा कलाकार पनि हुन् । प्रसिद्ध चलचित्रकर्मी चेतन कार्कीको निर्देशनमा शेर्पाको जीवनमाथि आधारित ठूलो पर्दाको चलचित्र अतिथि देवो भवः नामक चलचित्र छायांकन भइरहेको छ ।

त्यस्तै उनले चलचित्र एउटा यस्तो प्रेम कहानीमा पनि अभिनय गरेका छन् । उनी हिमाल चढ्न आउने विदेशी पर्यटकलाई सूचना दिने काम पनि गर्दछन् ।

संलग्नता

-विश्व वातावरण संरक्षण अन्तर्गतका रारा काउ, ग्लोबल वार्मिगं र कार्बन क्रेडिटको सद्भावना राजदुत ।
-आफ्नै नाममा रहेको ए.टि फाउण्डेशनको संरक्षक ।
-नेदरल्याण्ड र नेपालको माउन्टेन चाइल्ड केयरको डाइरेक्टर तथा सल्लाहकार ।
-एस.ओ.एस. नेपालका लागि सल्लाहाकार ।
-जेनेभास्थित अन्तर्राष्टिय उड्डयन संस्था एफ.आई.ए. अन्तर्गत नेपालकको तर्फबाट एक मात्र सदस्य ।
-हवाई खेलकुद संघ नेपालका संस्थापक महासचिव ।
-जनता वाणिज्य बैंकको संस्थापक सञ्चालक ।

विकट बस्तीमा जन्मिएर विश्वमाझ आफूलाई परिचित गराउन सफल शेर्पाको आगामी जीवन सुखमय रहोस् हाम्रो पनि कामना ।

 

 

प्रतिक्रिया दिनुहोस्