स्थानीय लगानीमा पूर्वाधार निर्माण



१६ कार्तिक २०७५, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले रु ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् ।

पोखरा, काठमाडौँलगायत देशका विभिन्न शहर, बेलायत, हङ्कङ, अमेरिकालगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो । समुदायको रु ९१ लाखको लगानीमा निर्माण भएको स्वाँत–किन्दु ग्रामीण कृषि सडक, बहुद्देश्यीय खेल मैदान, सामुदायिक भवन र छिर्केश्वर मन्दिर परिसरको सत्तलको बिहीबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र सांसद विनोद केसीले उद्घाटन गर्नुभयो ।

किन्दु टोल विकास समिति र सिख्तानी समाजको पहलमा आर्थिक स्रोत जुटाइएको थियो । रु ४९ लाख २३ हजार ७७५ मा ६.५ किमी सडक, रु २८ लाख ५५ हजारमा खेल मैदान, रु सात लाख ४४ हजारमा सभा हल र रु पाँच लाख ७४ हजार ७७० मा सत्तल निर्माण भएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङले बताउनुभयो ।

पूर्वाधार निर्माणका लागि ८० घरधुरी किन्दुवासीले रु चार लाख २५ हजार बराबरको श्रमदान, तत्कालीन जिल्ला विकास समितिले रु एक लाख ८० हजार र अन्नपूर्ण गाउँपालिकाले रु चार लाख ३८ हजार सहयोग गरेका छन् । सडक, सभाहल, खेल मैदान र सत्तल निर्माणपछि आवतजावत, ढुवानी, तरकारी निकासी, खेल अभ्यास, प्रतियोगिता सञ्चालन, तालीम, गोष्ठी, भेला सञ्चालन गर्न सहज भएको किन्दुका ज्ञानबहादुर शेरपुञ्जाले बताउनुभयो । उद्घाटन समारोहमा मन्त्री पुन, सांसद केसी र गाउँपालिकाका अध्यक्ष पुनले किन्दुवासीले राज्यको तुलनामा धेरै आर्थिक स्रोत जुटाएर विकासका पूर्वाधार तयार पारेर विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्