काठमाडौं चाबाहीलस्थित काउन्टरमा यातायात व्यावसायीको मनपरीतन्त्र, एउटै यात्रुबाट असुल्छन् तीन हजार



२७ असोज, काठमाडौं ।

दशैं तिहार लगायतका चाडवाडको मौका छोपेर यातायात व्यावसायीले यात्रुबाट मनपरी ढंगले भाडा असुल गर्ने गरेको पाईएको छ । काठमाडौंको चाबाहीलमा रहेका काउन्टरहरुले यात्रुहरुबाट आफुखुशी भाडा असुल्ने गरेको पाईएको हो ।

चाबाहीलबाट पुर्वका जिल्लाहरु ओखल्ढुङगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, रामेछाप, धरान, ईटहरी लगायतका ठाँउमा जाने निजी तथा सार्वजनिक सवारीले तोकेभन्दा दोब्बर–तेब्बर भाडा लिने गरेका छन् । व्यावसायीले एक व्यक्ती बराबर २५ सय देखी ३ हजार सम्म लिने गरेको पाईएको छ । सरकरले सार्वजनिक र प्रा.लि. दुवैमा अग्रिम टिकट बुकिङ् गर्ने व्यवस्था गरेको भएपनि चाबाहीलका काउन्टरहरुले भने अग्रिम टिकट बुकिङ गर्न पनि नदिएको र जानेबेलामा एकै चोटी धेरै भाडा लिएको यात्रुहरुको गुनासो छ ।

चाबाहीबाट पुर्वका जिल्लाहरुमा चल्ने दुधकुण्ड यातायात, हिमगंगा यातायात, ए वान सिटी भिलेज यातायात, खोटाङ यातायात, मध्ये पहाडी सनराईज यातायत, रुपाकोट हलेसी यातायात, ओखल्ढुंगा यातायात, चोमोलुङमा यातायात र हलेसी मारातीका यातायात लगायतले यात्रुबाट तोकेभन्दा तेब्बर भाडा लिने गरेका हुन् । गाडीनै नभएको, बाटो अप्ठेरो भएको, अग्रिम टिकट बुकिङ भैसकेको लगायतका अनेकौं बहना बनाएर यात्रुबाट दोब्बर–तेब्बर भाडा असुल्ने गरेको यात्रुहरुको भनाई छ । काउन्टरहरुले भनेको जति पैसा नतिरे जानै नपाईने र आफु घर जानै पर्ने भएकाले जति भएपनि तिर्न बाध्य भएको यात्रुहरुले बताएका छन् ।

व्यावसायीका मनपरीतन्त्रले गर्दा यात्रुहरुले ठुलो सास्ती बेहोर्नु परिरहेको छ । व्यवसायीले तेब्बर भाडा असुल्दा पनि सरकारका सम्बिन्धित निकायले अनुगमनमा कुनै चासो नदेखाएको सर्वसाधरणको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्