कपन प्रहरीको सफलता : चोरी गर्ने र चोरेको समान किन्ने दुवै व्यक्ति ७२ घण्टा नबित्दै पक्राउ



२१ असोज २०७५, काठमाडौं

रौतहट जिल्ला स्थायी घरभई हाल बूनपा–११, शान्तिटोलमा डेरा गरी बस्ने  वर्ष ४७ की मिरा बडाल बस्ने फ्ल्याटको मूल ढोका फोरी उनको कोठामा रहेको  नगद २०,००० सहित करिब ४ तोला सुनका विभिन्न गरगहना चोरी भएको ७२ घण्टा नबित्दै कपन प्रहरीले चोरी भएको सामान, चोरी गर्ने व्यक्ति र चोरीको समान किन्ने पसलेलाई समेत पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले बरामद गरेको चोरीका सामानहरु

सिसि क्यामराको माध्यमले चोरीमा प्रयोग भएको मोटरसाईकल नम्बरको सहायताले कपन प्रहरीको विशेष अनुसन्धान टोलीले त्यसैलाई मुख्य आधार बनाएर खोजी अगाडि बढाएको थियो । रातको समयमा कपन क्षेत्रमा चोरी गर्ने व्यक्ति गोकर्णमा लुकि बसेको भन्ने गोप्य सूचनाको आधारमा मध्यरातमा गोकर्णेश्वर नगरपालिका वडा नं. ३ जोरपाटी कुवाटोलमा स्थाई बसोबास गर्ने ३८ वर्षीय राजु तामाङलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटी गएको टोलीले पक्राउ गर्न सफल भयो ।  तामाङ २०६९ सालमा ललितपुर ताल्सिखेलमा टयाक्सी प्रयोग गरी सुन चोरीको मुद्दामा डेढ वर्ष जेल सजाय भई  २७ लाख धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका गरगहनाहरु

चोरी गर्ने तामाङबाट नेपाली  ४०,००० नगद,  विभिन्न २६ देशका ७० थान विदेशी नोट, करिब ४ तोला सुनका विभिन्न गरगहना, १ थान आई फोन ७ प्लस, चाँदीका ११ थान सिक्का, घर फोर्न प्रयोग गरिएका ३ थान खुकुरी, चावी फोर्ने फलामको विशेष हतियार लगायतका विभिन्न औजारहरु बरामद गरेको प्रहरी प्रभाग कपनका ईन्चार्ज प्रहरी निरीक्षक मीन बहादुर कुँवरले परिवर्तन खबरलाई बताए ।

बरामद गरिएका सिक्का तथा नोटहरु

तामाङसँगै उदयपुर जिल्ला बेलटार–५ घर भई पुल्चोक बसेर काठमाडौं महानगरपालिका–१० शंखमुलचोकमा छिन्ताङ्ग देवी सुनचादी पसल संचालन गर्ने ३९ बर्षिय धन कुमार गहतराजलाई तामाङले चोरी गरेका सुनका विभिन्न गरगहनाहरु सहित पक्राउ गरेको छ ।

चोरीमा प्रयोग भएका हतियारहरु

अख्तियारबाट खटि आएको टोलीले महानगरीय प्रहरी वृत्त बौद्धका ईन्चार्ज डीएसपी श्यामकुमार राईले सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ नगद घुस लिँदालिँदै पक्राउ परेको केहि घण्टा नबित्दै कपन प्रहरीले नागरिकको धनमाल चोर्नेलाई सार्वजनिक गर्न सफल भएको छ । डीएसपी राईले दशैंको दाउ छोपी जनताबाट जवर्जस्ती रकम असुली गरेर सिंगो प्रहरी प्रशासनलाई बदनाम गराउँदै गर्दा सोहि  वृतकै माताहतमा रहेको कपन प्रहरीका ईन्चार्ज प्रहरी निरीक्षक कुँवर भने जनताको सेवा गर्दै प्रशंसा बटुलिरहेका छन् । कुँवर ईञ्चार्जको रुपमा कपन प्रहरी कार्यालय आएदेखि नै चोरीका घटनामा कमी आएको बुझिएको छ । जनताको अप्ठ्यारोमा तत्काल सहयोग गर्ने कपन प्रहरी, स्थानीय जनप्रतिनिधि तथा नागरिकसँग सुमधुर सम्बन्ध स्थापना गर्न समेत सफल भएको छ । प्रहरी संगठनलाई सामाजिक काम र दुर्व्यसन विरुद्धको अभियान संचालन गरी वास्तवमै प्रहरीलाई जनताको साथी बनाउन कुँवर नेतृत्वको टिमले अहोरात्र काम गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्