उदाहरणीय बन्दै जागृति समुह



२१ असोज २०७५, काठमाडौँ

विक्रम संवत २०२७ सालमा  सिन्धुपाल्चोक जिल्लाको हगाम गाउ विकास समिति अर्थात हालको जुगल गाउँपालिकामा जन्मिएका हुन्, सामाजिक अभियान्ता पूर्ण श्रेष्ठ ।  गाउँमा  झाडापखालाको महामारी फेलिएपछि सेनामा जागिरे पिताले चार वर्षको उमेरमा श्रेष्ठलाई काठमाण्डौ ल्याएका थिए ।

 

काठमाण्डौमा केहि वर्ष अध्ययन गरेपछि पुन गाउँ फर्किएका श्रेष्ठले २०४४ सालमा आनन्द माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिएका हुन् । कक्षा ९ मा अध्ययन गर्दा नै कम्युनिष्ट पार्टीमा आबद्ध भएका श्रेष्ठले २०५२ सम्म सक्रिय रुपमा राजनीति गरे । गाउँमा शिक्षाको आवश्यक्ता महसशुस गरी २०५० मा सालमा शिक्षा क्षेत्रमा कार्य गर्नका लागि आफ्नो अध्यक्षतामा सात जना रहने गरी जागृति समुह हगाम -नेपालको स्थापना गरे ।

त्यतिबेला अष्ट्रेलियाका डाक्टर र्याबिट भ्रमण गर्न आएका थिए । उनले गाउँमा रुख विरुवा कम देखेपछि नर्सरी राख्न सुझाव दिए । तत्पश्चात जागृति समुहले हगाम एकमा नसर्रीको सुरुवात गर्यो । त्यस्तै उक्त समुहले २०५१ मा शिक्षाको ज्योति फैलाउनका श्रमदान गरेर कालिदेवी प्राथामिक विद्यालयको स्थापना गर्यो । जसमा आर्थिक सहयोग भने इकाडर्स नेपालले गरेको थियो ।

केहि समयपछि राजनीतिक खिचातानीका कारण नर्सरी बन्द भयो । तत्पश्चात् उनी अमेरिकी नागरिक दावा थ्याकसँग मिलेर रुखको बोक्राबाट धागो निकाल्ने अध्ययन (नेटल फाइभर रिसर्च)गर्न थाले । त्यस्तै उनले थ्याकको परामर्शमा जंगली सिस्नोको धागो बनाउने रिसर्च पनि गरे ।

चौतारा महिला सहकारीसँग मिलेर उत्पादन गरिएको धागो विदेश निर्यात गर्यौँ । उक्त रकम सामाजिक कामका लागि महिला कोषमा जान्थ्यो । जंगली धागो उत्पादन रिसर्च वापत् उनी २०५४ सालमा राष्टिय पुरष्कार हासिल गर्न सफल भए ।

पछि महिला कोष पनि बन्द भयो । जंगली धागोको विक्रि शुन्यमा झरेपछि उनले २०५८ सालमा उक्त काम पनि छाडिदिए । त्यसपछि उनी सानोठिमीमा गाई फार्म सञ्चालन गर्दै आफ्नो व्यवसायमा लागे । आफनो व्यवसायमा हराइरहेका श्रेष्ठ २०६८ सालपछि भने संस्थालाई पुन जागरण गर्न लागिपरे । संस्थामा हाल ११ जना रहेका छन् भने २०७४ मा संस्था काठमाण्डौमा स्थापना भएको छ ।

जागृति समुह हगामका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘शिक्षा नै  महत्वपूर्ण धन भएकाले हामीले संस्था मार्फत २०६८ मा सिन्धुपाल्चोकको क्यौरिनीमा विज्ञानको सामाग्री विरतण गर्यौँ । २०७० मा सेतिदेवी माध्यमिक विद्यालयमा झोला वितरण गर्यौँ । साथै हगामको सेर्माथा प्राविमा शैक्षिक सामाग्री वितरण गर्यौँ ।

त्यस्तै २०७० मा हगामकै कालिदेवी प्रावि र २०७४ मा नन्दलादेवी आधारभूत विद्यालय चोकटीमा शैक्षिक सामाग्री वितरण गरेका छौँ । हामी पसल पसलमा गएर खुत्रुकेमा सहयोग माग्छौ र संकलित रकमकबाट शैक्षिक सामागी विद्यालयमा हस्तान्तरण गर्दै आएका छौँ ।’ जागृति समुह सकारात्मक कार्य मार्फत समाजमा उदाहरणीय बन्दैछ ।

हाल धर्मलाई पनि प्राथामिकता दिने निर्णयका साथ अघि बढेको संस्थाले बनेपाको चण्डेश्वरी मन्दिरमा लाख बत्ति जलाउनुका साथै बुद्ध जयन्तीको अवसरमा अशोक स्तुपामा सरसफाई गर्दै १०८ दीप जलाएको थियो ।

नेपालमा धार्मिक पर्यटक भित्र्याउनका लागि विश्वकै सर्वोच्च पञ्चधातुबाट निर्मित त्रिशुल स्थापना गर्ने लक्ष्य लिएका छौँ । त्यस्तै छिट्टै नै मोबाइल हस्पिटल सञ्चालन गर्ने तयारी गरिरहेका छौँ, श्रेष्ठले भने । समाज सेवामा निरन्तरता दिने सोचमा रहेका श्रेष्ठ सानो ठिमीमा तरकारी खेती पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्