बूढानीलकण्ठ नगरपालिकाको दुई दिने “दीर्घकालिन सोच निर्धारण कार्यशाला गोष्ठी” सम्पन्न (फोटो फिचर)



२० असोज २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको दुई दिने दीर्घकालिन सोच निर्धारण कार्यशाला गोष्ठी बूनपा ३ स्थित तपेश पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

नेपाल सरकारको शहरी विकास विभागको सहयोगमा परामर्शदाता कम्पनीद्वारा संयोजन गरिएको कार्यक्रमको पहिलो दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बूढानीलकण्ठ नगरपालिकाको बृत्तचित्र प्रोजेक्टर मार्फत क्लिक गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा माननीय गगन कुमार थापा, माननीय दिव्य मणि राज भण्डारी, विशेष अतिथि माननीय दीपक निरौला, माननीय कुसुम कुमार कार्की, माननीय भिमसेन खत्री, माननीय न्हुच्छे नारायण श्रेष्ठ, माननीय सीता लामा लगायत नेपाल सरकारका पूर्व सचिवहरु, राजनीतिक दलका प्रतिनिधिहरु वडाध्यक्षहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरु लगायत नगर भित्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नगरप्रमुख उद्धवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख रमादेवी राईले स्वागत मन्तव्य राखेकी थिईन भने नगरपालिकाका प्रशासकीय अधिकृत एकनाथ वास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरेलले बूढानीलकण्ठ नगरपालिकाको दीर्घकालिन सोच निर्धारण गर्ने कार्यशालाले काठमाडौंको सुन्दरता विगारेर हामीले गरेको अपराधलाई कमी ल्याउने बताए । हिजोको स्थानीय निकाय अधिकार विहिन थियो । बर्तमान स्थानीय सरकारलाई धेरै अधिकार र स्रोत भएकोले घरघरको बेरोजगारीलाई रोजगारी दिने कार्यक्रम ल्याउने गरी कार्यशाला केन्द्रीत हुने शुभकामना व्यक्त गरे ।

जमिनको उपयोग जनताले गर्ने हो तर केन्द्रको उद्देश्य अनुरुप तोकिएको स्थानमा तोकिएको काम गर्नुपर्छ । अहिले पनि जमिनको स्वामित्व राज्यको र उपभोग गर्ने अधिकार जनताको छ । तर राज्यको भूउपयोग नीति नभएकोले शहरको सुन्दरतामा कुरुपता आएको बताए । जमिनको खण्डिकरणले कृषिको व्यवसायिकरणलाई रोकेको भन्दै हामीले लाउने अर्वाैको जनै चीनबाट आयात हुने र प्रतिवर्ष विस अर्वभन्दा बढीको माछा मासु भारतबाट आयात हुनु दु:खपूर्ण रहेको बताए ।

सांसद गगनकुमार थापाले प्रकृतिसँगको हाम्रो सन्तुलन विग्रिएकोले नगरको सुन्दरतामा कुरुपता थपेको बताए । नगर विकासको लागि गरिने योजनामा स्थानीय सरकारले अनुगमन गर्नुपर्ने समेत उनको जोड थियो ।

प्रदेश सभा सांसद दीपक निरौलाले नगरको सुन्दरतामा जमिनको खण्डिकरणले ठूलो भूमिका निर्वाह गरेको भन्दै तीन वर्षसम्म बूढानीलकण्ठ नगरपालिका भित्र जग्गाको खरिद विक्रि रोक्नुपर्नेमा जोड दिए ।

बूढानीलकण्ठको समृद्धिको मुख्य आधार पर्यटन नै भएको बताउँदै प्राकृतिक सुन्दरता बचाउँदै पर्यटकीय विकास गर्न जोड दिए । बूढानीलकण्ठमा खेल तथा शाहसीक पर्यटनको सम्भावना प्रचुर रहेकोले कार्यशाला यसतर्फ केन्द्रित हुन समेत जोड दिए ।

परामर्शदाताका टिम लिडर तथा शहरी योजना र वास्तुशास्त्रविद ईश्वर जोशीले दुई दिने कार्यक्रमको बारेमा जानकारी दिदै एकीकृत शहरी विकास योजना मार्फत अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना छनौट गर्नका लागि कार्यशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिएका थिए ।

नगरपालिकाले छानेको अग्रिणी क्षेत्र पर्यटन, आवास, व्यवसाय तथा उद्यमशिलताको विषयमा क्रमश: प्रदेश सांसद कुसुम कुमार कार्की, नगरपालिकाका ईन्जिनियर बैकुण्ठ भण्डारी, पर्यटन व्यवसायी तथा शिक्षा सेवी अर्जुन पाण्डेले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नगरपालिकाको दीर्घकालिन योजना बनाउँदा सवै पार्टीले अपनत्व लिन सकून भनेर नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी, संघीय समाजवादी फोरमका प्रतिनिधिहरुले आफ्नो पार्टीगत दृष्टिकोण समेत राखेका थिए ।

कार्यशालामा विज्ञद्वारा प्रस्तुत धारणा र राजनीतिक पार्टीका प्रतिनिधिले प्रस्तुत गरेको धारणा समेत समेटेर तीन समूहमा छलफल आयोजना गरिएको थियो । आयोजित छलफलपछि तीनै टिमका टिम लिडरले तीस मिनेटमा छलफलका निचोडहरु प्रस्तुत गरेका थिए ।

दुई दिनसम्म चलेको कार्यशालाले नगरपालिकाको नारा “स्वच्छ, शान्त, समृद्ध : पर्यटकीय नगर बूढानीलकण्ठ” पारित गरेको थियो ।

नगर विकासको अग्रिणी क्षेत्रमा पर्यटन र सहायक अग्रिणी क्षेत्रमा आवास, व्यवसाय तथा उद्यमशिलता दुङ्गो लगाएको थियो ।

       

प्रतिक्रिया दिनुहोस्