उदयीमान गायिका कल्पना दुलाल



१९ असोज २०७५, काठमाडौं

सानै उमेरमा आफ्नो जादूमयी आवाज मार्फत दर्शक स्रोतालाइ मन्त्रमुग्ध बनाउन  सक्ने क्षमता थियो ।  १२-१३ वर्षको उमेरमा उनी कसैले गीत गाउनका लागि गरेको आग्रह स्वीकार गर्थिन् र उनीहरुलाई आफूतर्फ आकर्षित गर्न सफल हुन्थिन् ।

त्यतिबेला उनलाई गीत गाउन लगाउने मान्छेहरु भन्ने गर्दथे ‘तिमी त कलाकार बन्छौ’ । सायद उनीहरुको भविष्यवाणी यथार्थमा परिणत भयो र काठ क्षेत्रका भाकामा सुमधुर आवाज मार्फत दर्शक स्रोतामाझ परिचित छिन्, गायिका तथा सञ्चारकर्मी कल्पना दुलाल ।

विद्यालयका विभिन्न कार्यक्रमहरुमा  उनले  गीत प्रस्तुत गरेपछि स्वरको प्रशंसा गर्दै कल्पनाका शिक्षकहरुले झनै हौसला प्रदान गर्दथे । मेलम्ची नगरपालिकामा विक्रम संवत २०५२ सालमा जन्मिएकी कल्पनाले जनजागृती माध्यमिक विद्यालयबाट २०६८ मा एसएलसी दिएकी हुन् । ततपश्चात् अध्ययनका लागि काठमाण्डौ प्रवेश गरेकी कल्पनाले कैलाशकुट क्यामपसबाट पत्रकारिता विषयमा स्नातक गरेकी छिन् ।

उनका दाजु हरि दुलाल सञ्चारकर्मी भएकाले उनी प्लस टृु अध्ययनका दौरान रेडियो सिजेएमसीमा जाने आउने गर्थिन् ।त्यहाँ आउजाउ गर्दा उनका दाजुले रेडियोमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । सुमधुर आवजकी धनी कल्पनाले ततपश्चात् उक्त रेडियोमा फोन इन कार्यक्रम सञ्चालन गर्न थालिन् ।

समय क्रमसँगै दुई वर्ष सिजेएमसीमा रहँदा लोकदोेहोरी, स्वास्थ्य, फोन इन लगायतका थुप्रै कार्यक्रम प्रस्तुत गरिन् ।
सानै उमेरमा जादूमय आवाजबाट प्रशंसा बटुलेकी कल्पनाले दुई वर्ष अघि मात्रै सुजिता आचार्यको लोकदोहोरी गीत ‘जोडी ढुकुर’मा आवाज भरिन् । गायक रमेश श्रेष्ठ र कल्पनाको आवाजमा सजिएको उक्त गीत काठ क्षेत्रमा निकै नै रुचाईयो । भन्छिन्, पहिलो गीत कस्तो होला भन्ने डर थियो तर दर्शक स्रोताहरुले निके नै मन पराउनुभयो र सकारात्मक प्रतिक्रिया दिनुभयो ।

‘मलाई गीतसंगीत असाध्यै मन पर्ने , प्राय: गीतहरु सुनिरहेको हुन्छु । गायक रमेश श्रेष्ठको अघिल्लो गीत  मन परेपछि आफैले गाएर गायकलाई नै पढाएँ । उहाँले मेरो स्वर मन पर्यो भन्दै एउटा गीत गाउन आग्रह गर्नुभयो । र मैले गायिका बन्ने अवसर पाएँ ।’

पहिलो गीत सुनेपछि गायक नवराज ढुंगानाले उनको स्वरको प्रशंसा गर्दै एउटा गीत गाउन आग्रह गरे । तत्पश्चात उनले गायक ढुंगानासँग ‘फूलको बास्नाले’ बोलकोे गीतमा आवाज भरिन् । रमाइलो किसिमको उक्त गीतबाट पनि कल्पनाको चर्चा झनै बढ्यो ।

तत्पश्चात उनी  दर्शक सोतामाझ ‘अर्गानिक जित’ बोलको गीत लिएर बजारमा आईन । उक्त गीतबाट पनि उनले सकारात्मक प्रतिक्रिया बटुलिन् । आफूले गाएका गीतहरु चर्चा बटुलेपछि झनै उनमा उर्जा थपिएको छ । भन्छिन्, एकपछि अर्को गीतबाट पाएको दर्शक स्रोताको मायाले झनै उत्साहित भएको छु । दशै लगत्तै आज गाउँमा रमाईलो मेला छ बोलको काठे भाकाको गीत बजारमा ल्याउने तयारी गरेको छु । यो गीतको छायांकनको काम भने बाँकी छ ।

साथै केहि रमाइलो किसिमका गीतहरु रेकडिगं गर्ने तयारीमा रहेकी कल्पना रेडियो काठमाण्डौ तथा कलाकार खबर डट कममा सञ्चारकर्मीको भूमिका निर्वाह गरिरहेकी छिन् ।

उनी आफूलाई निरन्तर परिवारको साथ सहयोग रहेको बताउछिन् । ‘विगतमा लामो समय सञ्चारकर्मीको भूमिका निर्वाह गर्नुभएको हुनाले पनि होला सांगीतिक क्षेत्रमा दाइले निकै साथ सहयोग र हौसला प्रदान गर्नुभएको छ । उहाँले मलाई सहिमार्ग निर्देश पनि गर्नुभएको छ । त्यस्तै बुवा पनि गीत गाउन मन पराउने भएकाले निकै सपोर्ट गनुभएको छ, उनले भनिन् ।

गायिका दुलालले सञ्चार माध्यममा आबद्ध भएकाले अफर आएपनि सांगीतिक प्रस्तुतीका लागि स्टेज प्रोगाममा जान नभ्याएको बताईन् । तथापी उनले यस वर्षको तिजमा ५- ७ वटा कार्यक्रममा प्रस्तुती दिएकी थिइन् भने दशैंका केहि कार्यक्रमहरुमा प्रस्तुती दिने योजना बनाएकी छिन् ।

सांगीतिक क्षेत्रलाई निरन्तरा दिने योजना छ ,उनको । काठ क्षेत्रका भाकामा सुमधुर आवाज भर्दै दर्शक स्रोतालाई लोभ्याउन सफल उदयीमान गायिका दुलालको योजना सफल होस हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्