बसको कन्डक्टरदेखि वडा अध्यक्षसम्म



१४ असोज २०७५, काठमाडौं

सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट गाउँ विकास समिति अर्थात हालको मेलम्ची नगरपालिकामा २०२८ सालमा जन्मिएका हुन्, शम्भु प्रसाद भट्टराई । २०४२ सालमा अमृत बोहोराले पार्टी सदस्यता प्रदान गरेपछि राजनीतिमा चासो राख्न थालेका भट्टराई विभिन्न भूमिकामा रहँदै गत स्थानीय तहको निर्वाचनबाट बुढानिलकण्ठ  नगरपालिका वडा नम्बर १२ को वडाअध्यक्षमा निर्वाचित भए  । उनी पार्टी सदस्यता लिँदा कक्षा ८ मा अध्ययन गर्दै थिए ।

आठ वर्षको कलिलो उमेरमा नै पिता गुमाउन पुगेका शम्भु त्यसपछिका दिनमा आफन्तले गरेको व्यवहारबाट दिक्क भए । ३८ वर्षको उमेरमा पिताको निधन हुँदा उनकी माता भने ३२ वर्षको थिइन् । भन्छन्, ‘श्रीमान् बितेका महिलाप्रति हेर्ने नजर र गर्ने व्यवहार अहिले त फरक नै छ भने त्यतिबेला कस्तो होला ।’ साथै दुई भाइको जिम्मेवारी पनि उनको काँधमा थियो ।

कक्षा तीनसम्म महेन्द्र प्राथामिक विद्यालयमा अध्ययन गरेका भट्टराईले २०४५ सालमा श्री सिन्धु पुरानागाउँ माद्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । एसएलसी पश्चात् राजधानी प्रवेश गरेका शम्भुलाई काठमाण्डौमा बसोबास गर्न त्यति सहज थिएन् । आठ कक्षामा पढ्दा नै राजनैतिक चेतना भएकाले २०४६ सालको आन्दोलनमा उनी सक्रियताका साथ लागे ।

अध्यननका लागि पशुपति क्यामपसमा भर्ना भएका शम्भुले आफ्नो दैनिकीलाई सहज बनाउन २०४७ तिरबाट नै काम थाले । पुतलिसडकमा रहेको कपडा पसलमा काम थालेका शम्भुलाई मासिक ६०० रुपैँया दिइएको थियो । त्यतिबेला उनले कपनमा रहेको कोठाको भाडा भने मासिक ५०० रुपैँया बुझाउनुपर्दथ्यो ।

केहि समयपछि उनले उक्त पसलको मालिकले आफूमाथि गरेको तुच्छ व्यवहार सहन गर्न सकेनन् र त्यो पसल नै छाडिदिए । तत्पश्चात उनले ६–७ महिना एयरपोर्ट-गौशाला बसमा कन्डक्टरको काम गरे ।  त्यसपछि एक वर्षजति पोलेथिन ब्याग बनाउने काम गरेका शम्भु  एक पसलमा काम गर्न थाले ।

जहाँ उनलाई मासिक ९०० रुपैँया दिइएको थियो । त्यहाँ काम गर्दागर्दै  उनले आफ्नो व्यवसाय पनि सुरु गरे । पसलको काम र आफ्नो व्यवसायलाई सँगसँगै अघि बढाउँदा आम्दानी  राम्रो हुँदै गयो । तत्पश्चात उनले  कपनमा दुई आना जग्गा किने र केहि समयपछि घर  पनि बनाए । २०५० पछि उनी भन्सारतर्फ लागे ।  एयरपोर्टको भन्सारतर्फ  २०५१ देखि भन्सार लोडरको रुपमा काम गरेका शम्भुले २०५५\५६ बाट  भन्सार एजेन्टको रुपमा काम गर्न थाले ।

स्थानीय तहको निर्वाचन अघिसम्म भन्सार एजेन्टको रुपमा शम्भुले गरिरहेको काम हाल उनका घरका सदस्य तथा कर्मचारीहरुले  हेर्दै आएका छन् । उनले जग्गाको काम पनि गरेका छन् भने फुर्सदको समयमा त्यसलाई निरन्तरता दिँदै आएका छन् ।

जीवनमा आएका विभिन्न उतारचढावकाबीच पनि उनले आफ्नो कामलाई अघि बढाउँदै राजनीति तथा समाजसेवालाई पनि निरन्तरता दिए । २०४७ सालदेखि कपनमा बसोबास गर्दै आएका शम्भु २०५०–२०६५ सम्म कपन गाउँ कमिटीको सदस्यको रुपमा रहे । त्यस्तै उनी २०६५–२०७३ सम्म नेकपा एमालेको क्षेत्रीय कमिटी सदस्यको भूमिकामा रहे ।

२०७३ देखि हालसम्म नगर कमिटी सदस्य रहेका शम्भुले २०५१–२०५८ सम्म यज्ञमती टोल सुधार समितिको सहसचिवको जिम्मेवारीमा रहेर काम गरे । त्यस्तै उनले आदर्शनगर टोल सुधार समितिमा २०५८–२०६२ सम्म उपाध्यक्ष तथा २०६२–२०७२ सम्म कुशलतापूर्वक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन् ।

उनी विभिन्न संघसंस्थामा पनि आबद्ध छन् । कपन साहित्य समाजको सदस्य रहेका शम्भू, नेपाल ह्याण्डबल संघ काठमाण्डौ जिल्ला समितीको उपाध्यक्ष पनि हुन्। त्यस्तै कपन स्पोटर्स क्लबका अध्यक्ष रहेका उनी लायन्स क्लब अफ काठमाण्डौका कोषाध्यक्ष  हुन् ।  काञ्जिरोवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका शम्भु, हिमाली बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक पनि हुन् ।

बाल्यकालमा नै पिता गुमाउँदा अप्ठ्यारो अवस्थामा आफन्तबाट साथ नपाएका शम्भु, समाजमा राम्रो काम गरेर केहि बन्नुपर्दछ भन्ने सोचसहित निरन्तर अघि बढिरहे । कोही पनि व्यक्तिले अनाहकमा दु:ख पाउनु हुदैन भन्ने मान्यता राख्ने शम्भु, शिक्षा र स्वास्थ्यलाई राज्यले  प्राथामिकतामा राख्नुपर्ने बताउछन् ।  साथै सबै मानिस राष्ट्रप्रति बफादार बन्नुपर्ने उनको तर्क छ ।

पैसाको लोभमा कुनै पनि काम गर्न हुँदैन भन्ने धारणा राख्ने शम्भु वडाअध्यक्षको रुपमा आए पछि हालसम्म तीनजना सचिव परिवर्तन भइसकेको बताउँछन् । ‘समाज कसरी परिवर्तन गर्न सकिन्छ भनेर लागि परिरहेको छु , उनले भने ।

टोल सुधार समितिमा रहेर बाटो, ढल लगायतका थुप्रै काममार्फत समाजमा आफनो छृट्टै पहिचान कायम गरेका शम्भुले अब जनप्रतिनिधि बन्छु भन्ने सोचका साथ स्थानीय तहको निर्वाचनमा उमेद्वारी दिए । तत्पश्चात बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को अध्यक्ष बनेका शम्भु भन्छन्, अन्य उमेद्वार भन्दा राम्रै काम गरेकाले नै विजयी भएँ ।

उनले बुढानिलकण्ठ नगरपालिकाको १३ वटा वडामध्ये आफ्नो वडालाई फरक बनाउने लक्ष्य लिएका छन् । सडक, विजुली खानेपानी, सांस्कृतिक सम्पदा लगायतलाई सुधार गरेर वडा नम्बर १२ को जनिप्रतिनिधिले राम्रो काम गरेका रहेछन् भन्ने आभास दिलाउने योजना छ उनको ।

‘पाँच वर्षमा पूर्वाधार सम्पन्न हुनेछ, वडा भित्र रहेका मन्दिरहरुमा पित्तलको छानो छाइनेछ । सबै घरमा खानेपानी पुर्याउने योजना छ । साथै फ्रि वाइफाइको व्यवस्था गर्ने प्रक्रियामा छौँ । स्वर्गीय साहित्यकार पूर्णप्रकाश यात्रीको नाममा पुस्तकालय निमार्ण गरेका छौँ । साथै प्रत्येक चोकमा ग्रीन बोर्ड राखेर बाटो पहिल्याउन सहजता बनाउने तयारी भइरहेको छ,उनले भने ।’

विभिन्न पदमा रहेर आफ्नो छुट्टै पहिचान बनाएका शम्भु वडावासीको ढुकढुकीमा बास गर्न सफल छन् । आफ्नो वडाको फरक पहिचान बनाउने लक्ष्यसहित अघि बढेका शम्भु राजनीति र व्यवसायलाई सँगसँगै अघि बढाउने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्