चितवनको रत्ननगरमा ‘फ्री’ वाइफाइ सेवा सुचारु



१० आसोज २०७५, काठमाडौं

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले मंगलबारबाट औपचारिक रुपमा ’फ्री’ वाइफाइ सेवा  सञ्चालनमा ल्याएको छ । रत्ननगरको वडा नं ११ स्थित कृष्ण प्रणामी मन्दिरमा एक कार्यक्रम गरि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

सर्वसाधारणलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन नगरपालिकाले नगर भित्रका मुख्य बजारहरुमा निःशुल्क वाइफाइ सेवा जडान कार्य शुरु गरेको हो ।

नगरपालिकाले यहाँको पारिजात चोक, टाँडीचोक, सौराहाचोक, कृष्णप्रणामी मन्दीर, बसपार्क लगायतका स्थानमा निःशुल्क वाइफाइ जडान गरेको जानकारी रत्ननगर नगरपालिका आईटी अधिकृत रवि तिवारीले परिवर्तन खबरलाई दिएका छन् ।

तिवारीका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी ‘टेकमाइन्ड’ नेटवर्कसँगको सहकार्यमा नगरपालिकाले नगरभित्रका विभिन्न मुख्य ठाउँहरुमा निःशुल्क वाइफाइ सुचारु गर्ने कार्यक्रम ल्याएको हो ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्न प्रयास गरेको भन्दै प्रशंसा गरेका थिए ।

पाण्डेले मानवले हरेक कुरा इन्टरनेटबाट सिक्न सक्ने भन्दै बालबालिकाका लागि फ्री वाईफाइले ठूलो मद्दत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्