बालबालिकाहरुको समस्याको स्वरुप फेरियो : सन्जोग ठकुरी



०५ असोज २०७५, काठमाडौं

भनिन्छ, ‘बालबालिका भविष्यका कर्णधार हुन् ।’ तर बालबालिकामाथि हुने दुर्व्यवहार , श्रम शोषण ,  सडक बालबालिका लगायतको अवस्थाप्रति सरोकारवाला निकाय मूकदर्शक जस्तै बनेको देखिन्छ । यस्तो आस्था देख्दा लाग्छ सम्बन्धित निकायलाई भविष्यको चिन्ता छैन् ।

तुलनात्मक रुपमा बालबालिकको अवस्थामा केहि सुधार आएपनि पनि सन्तोष मान्ने ठाउँ भने पटक्कै छैन् । पछिल्लो समय बालिका बलत्कारका घटना दिनुहुँ जसो सार्वजनिक हुन थालेका छन् । शक्ति र सम्पतिको आडमा कतिपय बलत्कारका घटना लुकाउन खोजिएको तितो यथार्थ हामीमाझ छर्लङ्गै छ । कतिपय बालिका आफन्तबाटै बलात्कृत भएको विषयप्रति हामी अनविज्ञ छैनौँ ।

नेपालमा बाल अधिकारका काम गर्दै आइरहेका कतिपय संघसंस्थालाई बालबालिकाको नाममा डलरको खेती गरिरहेको छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । बालबालिकाको हक हितका लागि केहि निकायहरु लामो समयदेखि लागि पर्दासमेत बालबालिकाको समस्यामा समाधान नहुनु दु:खद कुरा हो ।

विगत २३ वर्ष बाल अधिकारका क्षेत्रमा काम गर्दै आएका बाल अधिकारकर्मी सन्जोग ठकुरी बालबालिकको समस्याको स्वरुप परिवर्तन भएको बताउँछन् । भन्छन् ,’समस्याहरु पहिला पनि थिए र अहिले पनि छन् । पहिला एक खालको समस्या थियो भने अहिले समस्याको स्वरुप बदलिएको छ ।’

‘पछिल्लो समय इन्टरनेट  समस्याको रुपमा समेत देखा परेको छ । केहि मानिसहरुले गलत रुपमा यसको प्रयोग गरेका कारण बालबलिकामा मानशिक समस्या पनि देखिदै आएको छ । इन्टरनेटका कारण कतिपय बलत्कारका घटना पनि भएका छन् । हामीले कस्ता खालको सन्देश र भिडियो बालबालिकालाई प्रदान गरिरहेका छौँ , त्यो बुझ्न जरुरी छ । इन्टरनेटलाई सस्तो, सजिलो र छरितो त बनायौँ तर सुरक्षित बनाएनौँ, त्यसकारण इन्टरनेट सुरक्षामा विशेष ध्यान पुर्याउन आवश्यक छ , उनले भने ।

त्यस्तै उनले थपे, ‘ पहिले संस्कारको नाममा बाल विवाह हुन्थ्यो । तर अहिले सामाजिक सञ्जालका कारण बाल प्रेम विवाह हुन थालेको छ । यस्ता कुरालाई निरुत्साहित गर्न आवश्यक छ । यसको मतलब इन्टरनेटलाई प्रयोग नगरौँ, चाहिँदैन भनेको होइन् , सुरक्षित र सकारात्मक रुपमा प्रयोग गरौँ भन्न खोजेको ।’

निम्न मध्यम वर्गीय परिवारमा काठमाण्डौमा जन्मिएका सन्जोग पढाईमा भन्दा अतिरिक्त क्रियाकलापमा अब्बल थिए । सन्जोगको बुवा विदेशी पर्यटकको पथ प्रदर्शक भएकाले उनको घरमा विदेशी पर्यटक आउने गर्दथे । उनी विदेशी पर्यटकलाई अभिनय गरेर देखाउँथे ।

सन्जोगको स्कुलमा एक दिन केहि साथीहरु सडक नाटक लिएर आए । अभिनयमा रुची राख्ने सन्जोगलाई सो नाटकमा अभिनय गर्न मन लाग्यो । त्यसपछि उनका साथीहरुले नाटकमा अभिनय गर्नका लागि क्लबमा आवद्ध हुन सुझाव दिए । त्यसपछि उनी नाटकका लागि हरेक शुक्रबार कुपण्डोलमा रहेको हातेमालो क्लब जान थाले । नेपालमा भर्खरै बालक्लब सुरु भएको अवस्था अर्थात् सन् १९९५ मा उनी बाल क्लब जान थाले ।

उनले सम्झिए, ‘हातेमालो सञ्चारले रेडियो नेपालमा ‘हातेमालो‘ नामक बाल कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यहाँ नाटक गर्ने अवसर पाइयो । रेडियो नेपालमा हरेक शनिबार बाल कार्यक्रम प्रशारण हुन्थ्यो त्यहाँ पनि जान पाइयो । नेपाल टेलिभिजनमा पनि बाल कार्यक्रममा जान पाइयो । तत्पश्चात बिस्तार बिस्तारै बालक्लबमा नाटकका मात्रै होइन् बाल अधिकारका कुरा पनि उठ्न थाले ।

नाटकमा मात्रै सिमित हुनु हुँदैन भन्ने लागेर उनी बालअधिकार सम्बन्धिका समाचार पढ्ने, बाल अधिकार सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र तालिम लिन थाले । तत्पश्चात उनी नाटक भन्दा पनि बालअधिकारको क्षेत्रमा सक्रिय हुन थाले । तत्पश्चात बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न अन्तराष्ट्रिय संघसंस्था नेपाल भित्रिए । सन्जोग उक्त संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै बाल अधिकारको क्षेत्रमा आवाज उठान थाले ।

उनी सन् २००२ मा बालबालिकालाई अबको संसार कस्तो देख्न चाहन्छौ भनेर युयनमा सम्पन्न (UNGASS) महासभामा सहभागी भए । महासभामा नेपालको तर्फबाट सन्जोग सहित चार जान सहभागी भएका थिए । ‘उक्त महासभाबाट बालबालिकाका लागि सुहाउँदो विश्व भन्ने घोषण पत्र निकालियो , उनले भने ।

६ दिने उक्त महासभामा तीन दिन बालबालिको बिषयमा मात्रै कुराकानी भएको थियो भने तीन दिन संसार भरका राष्टाध्यक्षहरुले भाषण दिएका थिए । उक्त महासभामा सन्जोगले मानव बेचविखनको विषयमा दिएको भाषण मतदानबाट पहिलो भयो । ‘त्यहाँबाट आएपछि १० वर्षका लागि बालबालिका सम्बन्धि राष्ट्रिय कार्ययोजना बनायौँ । त्यो कार्ययोजना ७५ जिल्लाका बालबालिकाले छलफल तयार तयार पारिएको कार्ययोजना हो । हालसम्म पनि त्यसरी कुनै पनि बालबालिका सम्बन्धि नीति बनेको छैन्, उनले भने ।’

त्यसपछि नेपालमा बनेका बालबालिकासँग सम्बन्धित कार्ययोजना, कानुनमा सन्जोग सहभागी हुन थाले । बालबालिका सम्बन्धी नीति २०६९ बनाउने टोलीमा उनी पनि थिए । भन्छन ,‘हाल गाउँपालिका र नगरपालिकालाई बालमैत्री बनाउने अभियानमा लागेको छु ।’सानोमा उनी बोल्दा अरु हाँस्थे । किनभने उनको बोली अस्पष्ट थियो । उनी बालक्लबमा गएर परिचय दिँदा पनि साथीहरु हाँस्ने गर्थे , त्यो कुराले उनको निकै चित्त दुख्थ्यो । त्यसपछि उनले आफूलाई बोलिरहने मान्छे बन्छु भन्ने अठोट गरे । र उनी १३–१४ वर्षको उमेरबाट नै प्रशिक्षक बनेर प्रशिक्षण दिने थाले ।

६०–७० वटा जिल्लाको भ्रमण गरिसकेका सन्जोग १६–१७ वर्षको उमेरबाट उच्च ओहदाका व्यक्तिहरुलाई पनि प्रशिक्षण दिन थाले । हाल उनी नेता, सभासद, सरकारी तथा गैरसकारी संस्थाका प्रतिनिधि लगायतलाई फरक फरक विषयमा प्रशिक्षण दिने गर्छन् ।

‘हामीले सन् २०१३ मा युवालय भन्ने संस्था स्थापना गर्यौ । यो नेपालकै पहिलो संस्था हो,जुन युवाको नेतृत्वमा बालक्लबका पूर्व सदस्यहरुले स्थापना गरेको संस्था हो । युवालयमा दुई वर्ष संस्थापक सदस्य रहेका सन्जोगले दुई वर्ष अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन् । सन् २०१४ मा युवालयमा रहँदा मेरो नेतृत्वमा दक्षिण एसियामै पहिलो महिला हिंसा विरुद्ध पहिलो पदयात्रा सुरु गर्यौँ । हरेक वर्ष नारी दिवसको दिन पुरुषहरुको र्याली हुन्छ । नारीहरु आफ्नै परिवारका पुरुष सदस्यहरुबाट बलाकृत हुन थाले । उनीहले पुरुषहरु प्रति हेर्ने दृष्ट्रिकोण नै फरक हुन थालेपछि पुरुषहरु सबै खराब छैनन् भनेर पुरुष र्यालीको सुरुवात गर्यौँ ।’

उक्त कार्य गरेवापत् २०१६ तिरै युएनको एक संस्थाले पाँच सय डलरको अर्वाड पनि दिएको थियो । युवालयबाट आफ्नो नेतृत्वमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पपछि बालबालिकामाथि दुर्व्यवहार र बेचबिखनका घटना हुन सक्छन् भन्ने जनचेतना फैलाउँदै भूकम्प अति प्रभावित जिल्लाका तत्कालिन सबै गाविसमा पुगेको बताउँछन् ।

‘बालक्लबका पूर्व सदस्यहरु, प्रहरी प्रशासनसँग सहकार्य गर्दै उक्त जनचेतनामूलक कार्यक्रम लिएर गाउँगाउँ पुग्यौँ ,उनले भने ।’ बालिकामाथि दिनप्रतिदिन भइरहेका बलत्कारका घटना रोक्नका लागि सर्वप्रथम सचेतनामूलक कार्यक्रम अघि बढाउनुपर्ने उनी बताउँछन् ।

‘हामीले आत्मसुरक्षका तालिम गर्दै आएका छौँ । सचेतनामूलक आत्मसुरक्षाका तालिमलाई अघि बढाउनुपर्छ । त्यस्तै दोस्रो नम्बरमा प्रहरी प्रशासनको भूमिका पनि बढाउनुपर्छ । गाउँगाउँमा बालिकालाई उजुरी गर्न सहज छैन् । नभएका ठाउँमा उजुरी संयन्त्र बनाउन जरुरी छ भने भएका ठाउँमा संयन्त्र बलियो बनाउनुपर्छ । त्यस्तै पुरुषलाई महिलालाई जस्तै हामीले तालिम दिन आवश्यक छ । दुर्व्यवहार त उनीहरु माथि पनि त हुनसक्छ । हामीले यो कुरा बिर्सिरहेका छौँ । पुरुषहरुलाई पनि सँगै नलगेमा समानताको परिकल्पना गर्न सकिदैनँ , उनले भने । भन्छन्, ‘जीवनमा जस्तोसुकै समस्या पर्दा हतोत्साहित हुनु हुँदैन् । समस्यालाई अवसरको रुपमा लिनुपर्दछ । त्यस्तै संघर्षलाई पनि अवसरको रुपमा हेर्नुपर्दछ ।’

उनी पहिलेको तुलनामा गाउँपालिका, नगरपालिका लगायतका क्षेत्रमा बालसहभागिता बढेको बताउँछन् । पहिले मानिसहरु बालबालिकालाई कामदारको रुपमा हेर्थे भने हाल बालश्रमिकको रुपमा हेर्न थालेका छन् । त्यो नै एउटा ठूलो परिवर्तन हो , उनले भने ।

बालबालिकको विषयमा अध्ययन अनुसन्धान गर्ने, विचार लेख्ने र प्रशिक्षण दिनमा व्यस्त रहेका सन्जोग निरन्तर  बालबालिकाकै क्षेत्रमा काम गर्ने योजनामा छन् । ३२ वर्षीय सन्जोगले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले युवाका क्षेत्रमा पनि लामो समय काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्