उदाहरणीय युवाको कथा



४ असोज २०७५,काठमाण्डौ

विक्रम संवत २०४९ साल साउन २९ गते ओखलढुङ्गाको रानीवनमा जन्मिएका जगदिश कार्की सानै उमेरमा युवाहरुको प्रेरणाको स्रोत बनेका छन् ।

हालै मात्र स्नातकोत्तर उत्तीर्ण गरेका जगदिश कार्की हाल शारदा एकेडेमी, पुष्पलाल स्कुल, ज्ञानप्रकाश स्कुल तथा गेल्डेन गेट कलेज , न्यू मिलेनियम कलेज र विभिन्न इन्स्टिच्यूटमा समय मिलाएर अध्ययापन गराउँदै आएका छन् ।  विशेषगरी अकाउन्ट र फाइनान्स अध्यापन गराउँदै आएका जगदिशलाई साथीभाइ, विद्यार्थी र आफन्तहरुले सानै उमेरमा प्रगति गरेको भन्दै प्रेरणाको स्रोत पनि मान्दै आएका छन् ।

मध्यम वर्गिय परिवारमा जन्मिएका जगदिशले कक्षा चारसम्म्म रानीवनमै अध्ययन गरे । सरकारी जागिरको सिलसिलामा उनका पिता काठमाण्डौमा बसोबास गर्दै आएकाले उनी घरमा आमाको कामकाजमा सहयोग गर्थे । ‘बुवा जागिरको सिलसिलामा काठमाण्डौमा बस्नुहुन्थ्यो । आमा बिरामी भएपछि उपचारका लागि काठमाण्डौ आएका थियौँ र हामी पनि यतै बस्न थाल्यौँ , उनले भने ।’

ओखलढुङ्गामा सरकारी विद्यालयमा अध्ययन गरेका जगदिशलाई निजी विद्यालयमा कक्षा पाँचमा भर्ना लिइएन् । त्यसकारण उनी तत्कालिन समयमा कपनमा रहेको नेपाल मोडल स्कुलमा कक्षा चार मा नै भर्ना भए ।

उनी कक्षा पाँचमा पुग्दा उक्त स्कुल नै बन्द भएपछि  महांकालमा रहेको अरुणिमा शिशु सदनमा कक्षा पाँचमा भर्ना भए ।कोठा सर्दै बसाइ विभिन्न ठाउँमा पुगेका कारण जगदिशले २०६५ सालमा पिंगलास्थानमा रहेको सत्य शाहीबाट एसएलसी उतीर्ण गरे ।

तत्पश्चात रिलायन्स कलेजबाट प्लस टु तथा स्नातक गरेका जगदिशले हालै मात्र गोल्डेन गेट कलेजबाट स्नात्तकोत्तर उत्तीर्ण गरेका हुन्  । उनलेएसएलसीको नजिता आएपछिको क्षण सम्झँदै  भने, ‘मेरो पढाई सानैदेखि कमजोरै थियो । एसएलसीमा अरु साथीहरुले निकै राम्रो नतिजा ल्याउँदा म भने प्रथम श्रेणीमा उत्तीर्ण भएँ । त्यसपछि भविष्यमा केहि गर्न गाह्रो हुन्छ भन्ने सोचेको थिएँ । तर अहिले केहि गरेँ जस्तो लाग्छ ।’

रिलायन्स कलेजमा स्नातक तेस्रो बर्षमा अध्ययन गर्दा उनले नवमञ्जु श्री स्कुलमा कक्षा ३–९ सम्मका विद्यार्थीलाई पढाउन थाले । भन्छन्,, ‘आफ्नै आर्जनबाट स्नातककोत्तर अध्ययन गरेँ ।’ तत्पश्चात स्नातककोत्तर अध्ययन गर्दा उनले विभिन्न इन्स्टिच्यूटमा प्लस टु र ब्याचलरका विद्यार्थीलाई अध्ययापन गराउन थाले ।

स्नातककोत्तर अध्ययन गर्दा प्रायजसो उनका केहि साथीहरु चिया खान भेट हुन्थे । त्यहि क्रममा उनीहरुले चार पाँच जना साथी मिलेर हामीले केहि गर्नुपर्दछ भन्ने सोच बनाए र युथ अहेड अर्थात युवा अगाडी नामक संस्थाको स्थापना गरे ।

‘सँधै जसो चिया पिउनका लागि भेटघाट हुँदा साथीहरु मिलेर घुम्न जाने कुरा भयो । तर हामीले, घुम्ने खर्चले संस्था स्थापना गर्ने निर्णयमा पुग्यौँ । उक्त संस्था मार्फत दोलखा र मनकवानपुरका केहि  विद्यालयमा धामी जातिका बालबालिकालाई लत्ताकपडा, झोला, किताब  कापि लगायतका शैक्षिक सामाग्री वितरण गर्यौँ । त्यस्तै संस्था मार्फत सरसफाइको कार्यक्रम पनि गरेका छौँ ,उनले भने ।

त्यस्तै युथ अहेडले २०७२ साल वैशााख १२ गते गएको विनाशकारी महाभूकम्पमा बौद्ध स्तुपाको पुननिमार्णमा सहयोग गर्यो ।  युथ अहेडको स्थापनाकालदेखि महासचिवको भूमिका निर्वाह गरिरहेका जगदिश भन्छन्, ‘संस्था मार्फत युवाहरुलाई प्रेरणादायी तालिम पनि सञ्चालन गरिरहेका छौँ  ।’ त्यस्तै उनले युथ अहेडलाई विस्तार गर्दै सकारात्मक कामहरु गर्दै जाने योजना रहेको बताए ।

आफू विद्याथी हुँदादेखि नै शिक्षकको भूमिका निर्वाहा गर्न थालेका जगदिश कार्कीले केहि समयअघि निमार्ण भएको ‘मंगले’  नामक छोटो दुरीको चलचित्रमा अभिनय समेत गरेका छन् । सडक बालबालिकाको कथामा अधारित उक्त चलचित्रमा आफूले निर्वाह गरेको ‘लाले’ भन्ने चरित्रबाट चर्चा बटुलेको पनि सुनाए । त्यस्तै भविष्यमा चलचित्रमा अभिनय गर्ने योजना पनि छ उनको ।

उनले अध्ययापन सुरु गर्दा मासिक तलब ६५०० थियो । भन्छन् ‘सुरुवातमा ६५०० थियो अहिले, ५० हजारभन्दा बढि मासिक आम्दानी  हुन्छ ।’उनी विदेश जान चाहने युवाहरुलाई स्वदेशमै केहि गर्न सकिन्छ भन्दै विदेश नजान आग्रह गर्छन् ।भन्छन्, ‘देशमै बसेर केहि गर्न सकिन्छ , कुनै पनि कामलाई निरन्तरता दिँदै सकारात्मक सोचका साथ अघि बढेमा अवश्य पनि सफल भइन्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्