कलाकार सुष्मा कार्कीको कला यात्रा



०३ असोज २०७५, काठमाडौं

बाल्यकाल

विक्रम संवत २०३० साल साउन २ गते विराटनगरमा जन्मिएकी गायिका, नायिका, समाजसेवी तथा राजनीतिज्ञ सुष्मा कार्कीको बाल्यकाल सुखमा बित्यो ।

राजनैतिक पारिवारिक पृष्ठभूमिमा हुर्किइन् उनी । उनको घरमा बीपी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताको आउजाउ हुन्थ्यो । उनका बुवा तोरण कार्की राजनीतिज्ञ भएकाले उनले तत्कालिन प्रधानमन्त्री सूर्य बहादुर थापासँग हाम्रा छोराछोरी पढाउनु पर्यो भनि निजी विद्यालयको माग गरे । तत्पश्चात बुवाको पहलमा स्थापना भएको विराटनगरको पहिलो निजी विद्यालयमा तीन वर्षको उमेरमै पढ्ने अवसर पाइन् सुष्माले ।

उनले सम्झिइन्, ‘म जन्मदाँ चार पुस्ता वरिपरि बस्नु भएको थियो रे । सम्पन्न परिवार भएकाले म जन्मने बेला नै ज्योतिषलाई घरमा बोलाइएछ । म जन्मनासाथ ज्योतिषले यो छोरीलाई राष्ट्रले चिन्नेछ, यिनले राजनीति गर्छिन्,देशले मान्ने छ भनेछन् ।’
कक्षा चारसम्म उक्त स्कुलमा अध्ययन गरेपछि छोरीलाई इन्दिरा गान्धी जस्तो बनाउने भन्दै उनका बुवाले उच्च स्तरको शिक्षाका लागि भारत पढाए । कक्षा दशसम्म दिल्लीमा अध्ययन गरेपछि उनी पुन: नेपाल फर्किइन् । तत्पश्चात नेपालबाटै एसएलसी दिने निर्णयमा पुगेकी सुष्माको जीवनले नयाँ मोड लियो । उनले एसएलसी  दिइन्  तर नतिजा आउनु अघि नै उनको  विवाह पो भयो ।

कलिलै उमेरमा विवाह

सानै उमेरमा नातिनीको कन्यादान गर्न पाए पुण्य कमाउने आशाले उनका हजुरआमाले सुष्मालाई गुन्यौचोली दिने कार्यक्रममै  विवाहको  टिकाटालो गरिदिइन् । छोरीलाई इन्दिरा गान्धीजस्तो बनाउने सोच लिएका उनका बुवा भने त्यतिबेला व्यवसायको क्रममा भारत पुगेका थिए । भन्छिन्, बुवाले भारतबाट आएर बिहे रोक्ने प्रयत्न गर्नुभयो । तर हजुरआमा र बुवाको मत नमिल्दै पनि हजुरआमाको कन्यादान दिने रहनै विजयी भयो ।’

पन्ध्र वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी सुष्मा १६ वर्षको उमेरमै  छोरीकी आमा बन्न पुगिन् । जेठी छोरी हुर्काउँदै परिवारको अनुमति लिएर उनी आई. ए मा भर्ना भइन् । आर्थिक रुपमा सवल परिवार भएकाले उनको अध्ययन गर्ने  तिव्र इच्छालाई केहिले पनि रोक्न सकेन् । घरमा पढाउने शिक्षकको व्यवस्था भएकाले पनि  होला सानैदेखि उनको पढाई राम्रो थियो । तत्पश्चात दुई छोरी र एक छोरा हुर्काउँदा  उनले २०५२–५३ सालमा अर्थशास्त्र विषयबाट स्नातकोत्तर उत्तीर्ण गरिन् ।

ठूलो परिवारमा तीन जना बालबच्चा हुर्काउँदै जेठी बुहारीको भूमिका निर्वाहा गर्न उनलाई खासै असहज भएन् । किनभने उनको घरमा काम गर्ने मानिस थिए । उता विवाह लगत्तै उनको साथमा माइतबाट पनि काम गर्ने मानिस आएका थिए ।

पहिचानको खोजी

विवाह गरेको २० वर्षसम्म संयुक्त परिवारमा बसेकी सुष्माले आफ्नो छुट्टै पहिचान बनाउने निर्णय गरिन् । तत्पश्चात उनले विराटनगरमा छुट्टै घर बनाइन् । साथै त्यतिबेला उनको घरबाट महिलालाई सरकारी जागिर खान पाउने अधिकार दिइएको थिएन् । त्यसकारण उनले केहि गर्ने सोच बनाएर आफूसँग भएको सुन बेचिन् ।

सुष्मालाई आफू होस्टलमा बसेर पढेकाले होस्टल व्यवसायको  ज्ञान थियो । विद्यार्थीहरुलाई बस्नका लागि सहजता प्रदान गर्ने उद्देश्यले उनले  विराटनरमा गर्ल्स होस्टलको स्थापना गरिन् । त्यस्तै कलिलै उमेरमा मादल बजाउन जान्ने सुष्मालाई गीत गाउन असाध्यै रहर लाग्थ्यो । उनी कक्षा चारमा पढ्दा दरबार भित्र भएको कार्यक्रममा स्काउटबाट गीत गाएर द्वितीय समेत भएकी थिइन् । आफूजस्तै गीत गाउन रहर लाग्ने मानिसहरुलाई सहज होस भन्ने लागेर उनले रेकर्डिङ स्टुडियो पनि स्थापना गरिन् ।

भन्छिन्, ‘केहि गर्ने इच्छाले मैले सुन बेचेर विराटनगरमा होस्टल र रेर्कडिङ स्टुडियोको स्थापना गरेँ । हाल रेकडिङ स्टुडियो र गर्ल्स होस्टल विराटनगरमा कायमै छ भने काठमाण्डौको बानेश्वरमा गर्ल्स र बोइज होस्टल पनि खोलेको छु ।’

समाज सेवा

सानैदेखि समाजसेवा गर्न मन पराउने सुष्मा मन्दिर अनाथालय, वृद्धाश्रममा पुगेर सहयोग गर्दै आएकी छिन् । पहिले जेसिस, स्काउट, रोटरीमा आवद्ध सुष्मा हाल लाइन्स क्लबमा आवद्ध छिन् । उनी वर्षको दुईपटक परिवारसहित नि:शुल्क स्वास्थ्य शिविर लिएर विभिन्न स्थानमा पनि पुग्ने गर्छिन् ।

सांगीतिक पाटो

उनी औद्योगिक मेलाहरुमा गीत गाउने गर्थिन् । उनले २०५९ सालमा ‘भरोसा गर हे प्रिय’ बोलको गीत बजारमा ल्याइन् । त्यस्तै टेम्पो दुर्घटनामा मृत्यु भएका १३ जना बालबालिकाको सम्झनामा बनाइएको श्रद्धाञ्जली गीति एल्बममा  आवाज भर्नुका साथै भिडियोमा समेत अभिनय गरिन् ।त्यस्तै उनले २०६२-६३ तिर सौभाग्य, शृंगार बोलको तीजको गीत समावेश गरिएको एल्बम पनि बजारमा ल्याइन् । जसमा अहिलेका चर्चित निर्देशक शंकर बिसीको निर्देशन रहेको छ । त्यस्तै नेपाली कांग्रेससँग सम्बन्धित गीतमा आवाज पनि भरेकी छिन्  उनले ।

चरित्र अभिनेत्री

उक्त गीतको भिडियोमा गरेकोे अभिनयले उनलाई चरित्र अभिनेत्री बनायो । उक्त भिडियोपछि उनलाई टेलिशृंखला र चलचित्रमा अभिनय गर्ने अफर आयो । चलचित्रमा अभिनय गर्ने इच्छा नभए पनि उनले श्रीकृष्ण लुइटेलद्वारा निर्मित ‘आयोे बोके दाह्री’ नामक टेली शृंखलामा अभिनय गरिन् ।

त्यसपछि भारतीय निर्माताले बनाएको चलचित्र ‘प्रेमपथ’बाट उनी अभिनेत्री बनिन् । नेपाली कलाकार लिएर सम्पूर्ण छायांकन भारतमा गरिएको र अभिनेत्री पुजना प्रधान र अभिनेता नवीन श्रेष्ठको मूख्य भूमिका रहेको उक्त चलचित्रबाट सुष्मा चरित्र अभिनेत्रीको रुपमा चलचित्र क्षेत्रमा भित्रिईन् ।

भन्छिन, ‘उक्त चलचित्रको निर्माता भारतीय भएकाले दार्जलिङ, खर्साङमा सुपरहिट भयो ।  सानैदेखि संगीतप्रेमी भएकाले उक्त चलचित्र गरेपछि अफर आए पनि त्यो बेला अरु चलचित्र गरिन् । तर पछि भने मेरो संगीत प्रतिको प्रेमलाई चलचित्रले नै जित्यो । त्यसपछि फ्लासब्याक, सपना, मृगतृष्णा,सायद ,काठमाण्डौ, डेस्टिनेशन काठमाण्डौ लगायतका चलचित्रहरु गर्दै गएँ ।’

बटर फ्लाई, शत्रु गते, अमेरिका बोइज उनी अभिनित पछिल्ला चलचित्र हुन भने एकलब्य, शुभलाभ प्रदर्शनको तयारीमा छन् । साथै उनी नेपाल टेलिभिजनबाट प्रशाारण हुन लागेको अवकाश प्राप्त सैनिकको पारिवारिक कथामा आधारित टेली शृंखलामा देखिनेछिन् । डिएर लाइफ नामक टेलीशृंखलामा कलाकार सुनिल थापा अवकाश प्राप्त फौजीको भूमिकाका देखिनेछन् भने सुष्मा उनको श्रीमतिको भूमिकामा देखिनेछिन् । म टेली शृंखला नखेल्ने सोचमा थिएँ । डिएर लाइफलका निर्माताको आग्रहका कारण अभिनय गर्दैछु । यसको चार भागको छायांकन सकिएको छ ।’

उनी चलचित्र डेस्टिनेशन काठमाण्डौको पहिलो महिला प्रोडक्शन डिजाइनर पनि हुन् । लगभग ६०–७० वटा चलचित्रमा अभिनय गरेकी सुष्माको सुष्मा इन्टरनेशनल पिक्चर्सको ब्यानर पनि छ ।  उनले अपाङ्ग बालबालिकाको बिषयमा डकुमेन्ट्री समेत निर्माण गरेकी छिन् ।

आबद्धता
उनी बाग्मती सरसफाई अभियानको  वोर्ड सदस्य हुन् । त्यस्तै चलचित्र कलाकार संघको सदस्य समेत रहेकी सुष्माले चलचित्र विकास वोर्डको महिला शशक्तिकरणमा बसेर काम गरिसकेकी छन् । उनी नेपाल साँस्कृतिक संघ, विराट को अपरेटिभ बोर्डिङ स्कुल, सहकारी र बैंक लगायतका विभिन्न संघसंस्थामा आबद्ध छिन् ।

राजनैतिक पाटो

नेपाली कांग्रेसका नेताहरु घरमा आउजाउ गर्ने, बुवा राजनीति गर्दा जेल पर्ने र राजनैतिक पृष्ठभूमिमा हुर्किएकाले उनी आई.ए पढ्दा नै नेपाल विद्याथी संघको सदस्य बनिन् । ‘त्यतिखेर पढाई र व्यवहारले गर्दा राजनीतिलाई निरन्तरता दिन सकिन , उनले भनिन् ।

२०६३ मा उनले नेपाली कांग्रेसको चुनावी गीतको एल्बममा आवाज भरिन् । उक्त एल्बम नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले विमोचन गरेका थिए । त्यतिबेला सांस्कृतिक अभियानमा सक्रियताका साथ लागेकी सुष्मा सांस्कृतिक संघकोे पहिलो महाधिवेशनबाट अत्याधिक मतले सदस्यमा विजयी भइन् । त्यसपछि उनले सांस्कृतिक संघमा ११ वर्ष सहमहामन्त्रीको जिम्मेवारी सम्हालिन् ।

सांस्कृतिक संघको दोस्रो महाधिवेशनमा उनले सभापतीको उमेद्वारी दिइन तर रानैतिक नेतृत्वले चुनाव हुन दिएन् । भन्छिन्, संघको २०७३ मा भएको दोस्रो महाधिवेशनमा मैले उमेद्वारी दिएँ । नोमिनेशन भएर पनि अनेक षड्यन्त्र गर्दै नेतृत्वले चुनाव गराएन त्यसले मतदान गर्ने अधिकार पनि खोसियो । नेतृत्वले तीर्थ थापालाई संघको सभापतिको टिका लगाइदियो ।’स्पष्ट वक्ता सुष्माले नेपाल विद्यार्थी संघ, तरुण दलको गीत गाएकी छिन् । हाल गरिरहेका सबै कामहरुलाई निरन्तरता दिने योजनामा रहेकी सुष्मा समाज सेवालाई प्राथामिकतामा राख्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्