मित्तल तथा गौचनको शालिक अनावरण



०३ असोज २०७५, काठमाडौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मंगलवार नेपाल निर्माण व्यवसायी महासंघको सचिवालय अगाडि निर्माण गरिएको महासंघका संस्थापक–अध्यक्ष स्वर्गिय वनवारी लाल मित्तल तथा पूर्व–अध्यक्ष स्वर्गिय शरद कुमार गौचनको शालिक अनावरण गरेका छन् ।

शालिक अनावरण पछिको सभालाई सम्बोधन गर्दै मन्त्री महासेठले निर्माण व्यवसायीहरुको योगदानविना समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताएका छन् । निर्माण व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको समेत मन्त्री महासेठले बताए । निर्माण व्यवसायी महासंघ देशभरका निर्माण व्यवसायीहरुको छाता संगठन रहेकाले महासंघ भित्र कसैले पनि राजनीति गर्न नहुने मन्त्री महासेठको भनाइ थियो । मन्त्री महासेठले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्न पनि सुझाब दिएका थिए ।

त्यस्तै महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले व्यवसायीहरुको समस्याका बारेमा मन्त्री महासेठको ध्यानाकर्षण गराएका थिए । महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघले देशभरको व्यवसायीहरुको हकहितको लागि काम गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्