४२ जिल्लाका नागरिकले गरे स्वास्थ्य बीमा, प्रदेश नं. ३ मा सबैभन्दा बढि



०४ भदौ २०७५, काठमाडौं

सरकारले आ. व. २०७२ बाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ४२ जिल्लाका नागरिकहरुले गरिसकेका छन् । हालसम्ममा ११ लाख ६७ हजार ४ सय ४ जना सदस्य बनेका छन् । जसमध्ये ६ लाख १४ हजार ६ सय ६६ महिला र ५ लाख ४७ हजार ९ सय ६६ पुरुषले स्वास्थ्य बीमा गरेका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायका अनुसार ३ जिल्लाबाट सुरु भएको बीमा कार्यक्रम अहिलेसम्म ४२ जिल्लाका नागरिकले स्वास्थ्य बीमा गरि सदस्य बनेका छन् । ४२ जिल्लाका नागरिकले  बीमा गरे पनि ३८ जिल्लाका नागरिकहरुले मात्र सेवा लिईरहेको उनले बताएका छन् । बाँकी ६ जिल्लाका नागरिकहरुले स्वास्थ्य बीमा गरिसके पनि स्वास्थ्य सेवा भने लिएका छैनन् । हुम्ला, मुगु, डोल्पा, सिराहा, स्याङ्जा र सङ्खुवासभाका नागरिकले स्वास्थ्य बीमा गरेपनि बिमितले सेवा भने पाएका छैनन् । उनीहरुलाई पनि अब छिट्टै सेवा उपलब्ध गराउने बोर्डले जनाएको छ ।

७७ ओटै जिल्लामा स्वास्थ्य बीमा गराउने बोर्डको लक्ष्य भएपनि बजेट विनियोजनमा ६० जिल्लालाई मात्र लक्षित गरिएको छ । बजेटलाई आधार मान्दै सरकारले लक्ष्य पुरा गर्ने हो भने एक वर्षभित्र थप १७ ओटा जिल्लालाई स्वास्थ्य बीमा गराउनुपर्ने छ ।

यस्तै प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश नम्बर ३ मा बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी छ । हालसम्म बीमा गराउनेको तथ्याङ्क हेर्ने हो भने चितवन जिल्लाबाट मात्रै १ लाख ४८ हजार ३ सय ३५ नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।

यस्तै बिरामी नभएका व्यक्तिहरू पनि आफ्नो स्वास्थ्यमा खासै केही रोग छैन भन्दै बीमा गर्दैनन्– डा उपाध्याय भन्छन्– ‘जब बिरामी पर्छन् अनि बीमा गर्न आउँछन् तर तत्काल सेवा त पाइन्न सेवा पाउनका लागि त एक महिना नै कुर्नुपर्छ । मैले भन्न खोजेको स्वास्थ्य बीमा स्वस्थ्य, अस्वस्थ्य सबैले बीमा गर्दा राम्रो हो ।’

प्रतिक्रिया दिनुहोस्