प्रवक्ता प्रकाण्डद्धारा करोडौं चन्दा उठाएको स्वीकार, बिहीबार अदालतमा उपस्थित गराईने



३० साउन २०७५, काठमाडौं

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले करोडौं चन्दा उठाएको स्वीकार गरेका छन् ।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार उनले करीब ७ करोड ५६ लाख चन्दा उठाएको विवरणसहितको आयव्याय रेकर्ड विशेष ब्युरोको टोलीले फेला पारेको छ । उनले २०७३ चैत्रदेखि चन्दा उठाएको विवरण बरामद भएको श्रोतको दावी छ ।

उक्त रकम चन्दा नभई सहयोग भएको उनको दावी रहेको छ । अनुसन्धान अधिकारी समक्ष बयान दिने क्रममा उनले “हामीले भौतिक,आर्थिक तथा नैतिक हिसाबले सहयोग लिएका छौं ।” भनेका छन् ।

गैर–कानुनी रुपमा थुनामा राखिएको भन्दै उनका छोरा नरेन्द्रबहादुर विकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाई गर्दै अदालतले प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेश बमोजिम उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

उनी साउन २३ मा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रहरीले नियन्त्रनमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्