बिरामीको सेवामा रमाउने डा. गुप्त



२९ साउन २०७५, काठमाडौं

अरुलाई सेवा गर्दा रमाउने डा. गुप्त बहादुर श्रेष्ठ चाबहिलमा रहेको हेल्पिङ हेन्डस सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष हुन् । संखुवासभाको वानामा २०१७ सालमा जन्मिएका श्रेष्ठ एसएलसी सेकपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौ झरे ।

श्रेष्ठको रुची चिकित्सा अध्ययनतर्फ थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट हेल्थ असिष्टेण्टको अध्ययन पूरा गरे । तत्पश्चात केही समय हेल्थ असिष्टेण्टको जागिरे भएका श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमै चिकित्साशास्त्र अध्ययन गर्न थाले ।

उनी भन्छन्, ‘अध्ययन सकिएपछि क्लिनक खोलेँ, त्यसलाई प्रवद्र्धन गर्दै जाँदा आजको हेल्पिङ ह्याण्डस बनेको हो ।’ उनमा जन्म तथा कर्म दिने संखुवासभाका लागि केही गर्नुपर्छ भन्ने सोचको विकास भयो ।

 

२०५३ सालमा जिल्ला स्वास्थ्य प्रमुख भएर संखुवासभा जाँदा उनले आफ्ना केही सपना पूरा हुने सम्भावना देखे ।सदरमुकाम खाँदबारीमा रहेको अस्तव्यस्त जिल्ला अस्पतालको सुधारतर्फ लागेका श्रेष्ठले जिल्ला अस्पताललाई सुविधासम्पन्न अस्पताल बनाउने अठोट पनि गरे ।
उनी भन्छन्, ‘म स्वास्थ्य प्रमुख भएर गरेको काम स्थानीय राजनैतिक दललाई मन परेने मलाई त मेची स्वास्थ्य अस्पतालमा पो सरुवा गरियो ।’

तत्पश्चात श्रेष्ठ राजनैतिक खिचातानीमा बसेर काम नगर्ने निर्णयसहित मेची अस्पताल जानु भन्दा क्लिनिक खोल्ने सोचले काठमाण्डौ झरे ।
सुरुवातमा क्लिनिक खोलेर बसेका श्रेष्ठलाई साथीभाइले मनमोहन अस्पताल खोल्न लागेको कुरा थाहा भयो । तत्पश्चात उनी मनमोहन अस्पतालमा संस्थापक कार्यकारी प्रमुख भएर काम गर्न थाले ।

मनमोहनमा अस्पतालमा पनि राजनैतिक नियुक्ती हुन थाल्यो । त्यो कुरा उनलाई मन परेन । करिब २ वर्ष त्यहाँ काम गरेर फेरि क्लिनिकमै फर्किए ।अब जागिर नखाने तथा क्लिनकलाई सुधार्ने सोचेर जागिर छोडिदिएका श्रेष्ठले केही वर्ष अघि ३५ लाख रूपैयाँ खर्चिएर मुलुकका कुनै पनि अञ्चल अस्पतालमा नभएको अत्याधुनिक मेसिनहरू त्यहाँ जडान गरेका छन् । जुन नमुना अस्पताल बनेको छ।

उनले आधुनिक डिजिटल कम्प्युटराइज्ड एक्सरे मेसिन, मेडिकल लाइब्रेरी, हेमाटोलोजी एनालाइजर, सोडियम पोटासियम मेसिन र टेलि-इसिजी मेसिन जिल्ला अस्पताल पठाए ।

जिल्ला अस्पतालका केही डाक्टरहरूलाई काठमाडौं बोलाएर मेसिन चलाउन सिकाएका श्रेष्ठ समयसमयमा पुग्ने गरेका छन् ।उनी प्रायः महिनामा २ पटक संखुवासभा जाँदा विज्ञ लिएर जान्छन् र त्यहाँका डाक्टर र प्राविधिकलाई मेसिनबारे ज्ञान दिएर आउँछन् ।

यस्तै श्रेष्ठले डाक्टरहरूलाई चाहिने आवश्यक पुस्तकहरू संकलन गरेर २ लाख रुपैयाँ मूल्य बराबारको मेडिकल लाइब्रेरी खोलेका छन् । मुलुकका कुनै पनि जिल्ला अस्पतालमा नभएको लाइब्रेरीमा डाक्टरहरूलाई चाहिने आवश्यक पुस्तकहरू राखिएको छ । त्यहाँ उनले २० सेकेण्डमै रगत जाँच्न मिल्ने हेमाटोलोजी एनालाइजर मेसिन समेत जडान गरेका छन् ।

उनले देश विदेशमा रहेका साथीभाइबाट सहयोग जुटाएर स्वास्थ्य सामाग्री लगेर सुविधा सम्पन्न अस्पताल बनाएका छन्, जिल्ला अस्पताललाई । चाबहिलमा रहेको हेल्पिङ ह्याण्डसमा संखुवासभाका अधिकांश बिरामी आउँछन्। प्रवर्द्धनमुखी सेवा प्रदान गर्ने उद्देश्य लिएका श्रेष्ठ संखुवासभाका मात्र होइन उपचार खर्चको अभावमा बाँचिरहेका जुनसुकै ठाउँका दीन दुखीहरूलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न हरदम तत्पर हुन्छन् ।

इमानदारी र पारदर्शीतालाई आफ्नो व्यवस्थापन मन्त्र ठान्ने श्रेष्ठ,समन्वायत्मक कार्यमा विश्वास गर्छन् । १० लाख रुपैयाँको लगानीबाट शुरू गरेको उनको अस्पतालले अहिले १० करोड बराबारको पूर्वाधार खडा गरिसकेको छ।

गत २०७२ वैशाख १२ गतेको भूकम्पपछि राजधानीको खोकना, लप्सीफेदी तथा धादिङ, सिन्धुपाल्चोक, दोलखा,रामेछाप लगायतका ८-१० ठाउँमा स्वास्थ्य शिविर समेत चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्