नेपालेडाँडामा निर्माणाधीन स्वास्थ्य चौकी ४ वर्ष बितिसक्दा पनि पुरा भएन



२९ साउन २०७५, काठमाडौं

एटम शर्मा

भोजपुर जिल्लाको षडानन्द नगरपालिका स्थित १ नम्बर वडामा पर्ने नेपालेडाँडामा निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्य चौकी ४ वर्ष वितिसक्दा पनि अझै पुरा भएको छैन।

उपस्वास्थ्य चौकीको रुपमा लामो समयसम्म रहेसँगै नेपालेडाँडामा ४ वर्ष अघि स्वास्थ्य चौकीको रुपमा रुपान्तर भएर नयाँ भवन निर्माणको निम्ति काम सुरु भएको थियो । २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता अनुरुप भोजपुरका देवी कार्कीले ठेग्गा लिएको उक्त स्वास्थ्य चौकी भवनमा अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन। ठेग्दारको लापरबाही, स्थानिय जनप्रतिनिधिहरुको वेवास्ता तथा पार्टी प्रतिनिधिहरुको खबरदारी नहुँदा आलटालमै ४ वर्ष वितिसकेको छ।

यतिबेला नेपालेडाँडामा २०७२ सालको भूकम्पले चिरा चिरा परेको जिर्ण अवस्थाको स्वास्थ्य चौकी भवनमा विरामीहरु उपचार गराउन वाध्य छन्। स्वास्थ्य चौकी प्रमुख राजनारायण मण्डलले पनि भवन चाडो बनाउने कार्यमा खासै चासो नदेखाएको सेवाग्राहीहरुको गुनासो रहेको छ।

२ करोड ८० लाखमा टेन्डर पारेको उक्त भवनमा अहिलेसम्म भवन निर्माण समिति समेत बनाएको छैन। यस विषयमा नगरपालिका र वडा कार्यालय केही बोल्न चाहदैन। कतिमा ठेग्गा परेको हो त ? भन्ने हाम्रो प्रश्नमा नगर प्रमुख र वडा अध्यक्षको एउटै उत्तर छ हामीलाई त्यो बारे केहि थाहा छैन।

स्थानिय नारायण थापाले आफ्नो स्वर्गीय हजुरबुबाको नाममा नि:शुल्क जग्गा उपलब्ध गराएसँगै निर्माण कार्य थालिएको उक्त स्वास्थ्य चौकी भवन ४ वर्षको अन्तरालमा बल्लतल्ल एक ढलान गरिएको छ। जग्गा दान गर्दाको सम्झौता विपरित यतिखेर काम भईरहेको जग्गादाता थापा बताउछन। त्यतिबेला बिरामी बस्ने एउटा छुट्टै गुणस्तरीय ट्रस्ट र आफ्नो हजुरबुबाको शालिक बनाउने सम्झौता भएको थियो तर अहिले सम्झौता विपरित १ वर्ष पनि नटिक्ने गुणस्तरहीन ट्रस्ट बनाएको र शालिकलाई पनि अपमान गरे झै राख्नको लागि मात्रै राखे जस्तो गर्न खोजेको थापाको गुनासो रहेको छ।

ठेगदारको धेरैतिरको ठेग्गा रहेको कारण काममा केहि ढिला हुन पुगेको भए पनि अब तिब्र गतिमा काम संचालन हुने षडानन्द नगरपालिकाको प्रमुख विरबल राई बताउछन् । स्थानिय निर्वाचन हुनु भन्दा २/३ वर्ष अगाडी नै ठेग्गा लागेको हुँदा आफु निर्वाचित भएर आए पश्चात छिटो निर्माण गर्न आफुले निर्देशन दिईसकेको प्रमुख राईले परिवर्तन खबरलाई बताए। जिल्ला विकासले ठेग्गा लगाको हुँदा कतिमा लगाएको हो त्यो आफुलाई थाहा नभएको तर बाटो, भौतिक सामान सबैमा सपोर्ट गरिरहेको पनि राईले जनाए।

त्यसैगरी, भवन निर्माणको कार्यमा ढिलासुस्ती भएको वडा नम्बर १ का वडा अध्यक्ष रामेश्वर भण्डारी स्विकार्छन्। भवन निर्माण कार्यमा ठेगदारको कारण ढिला भएको भए पनि आगामी पुस महिना सम्ममा निर्माण कार्य सम्पन्न हुने वडा अध्यक्ष भण्डारी बताउछन् । यतिबेला तराईबाट १० जना कामदार ल्याएर काम लगाई रहेको पनि वडा अध्यक्ष भण्डारीले जानकारी गराए।

ठेगदाराले कामदारलाई समयमा पैसा नदिने, उधारोमा काम लगाउने गरेका कारण काम गर्न आउने कामदारहरु बिचमै काम छाडेर जाने गरेका कारण पनि निर्माण कार्यमा केही ढिलो हुने गरेको स्थानीयहरू बताउछन। हिउँदभरि कुनै काम नगर्ने र बर्खा लागेपछि हिलो झरीमा २/४ जना कामदार ल्याएर काम गरेजस्तो गर्ने गरेको पनि स्थानीयहरूको गुनासो छ।

जनस्वास्थ्य जस्तो संबेदनशील ठाउमा किन हुन्छ यस्तो लापरबाही ? समयमा स्वास्थ्य चौकी निर्माण नहुदा सेवाग्राहीहरुले ठुलो सास्ती भोग्नु परिरहेको छ अब यसको जिम्मेवारी कसले लिन्छ ? यो ४ बर्षे अवधिमा कति बालबच्चाहरुको अकालमै मृत्यु भएको छ कति सुत्केरी महिलाहरुले सुरक्षित सुत्केरी गराउन नपाएर ज्यान गुमाउनु परेको छ के यसको क्षेतिपूर्ति ठेगदाराले बेहोर्छ ? किन यस्तो संबेदनशील कार्यमा निस्क्रिय बन्छ वडा कार्यालय ? किन सक्रियता देखाउदैन नगरपालिका ? किन खबरदारी गर्दैनन् स्थानिय पार्टी प्रतिनिधिहरु ? यतिखेर यो नै सबैको लागि आश्चार्यको विषय बनेको छ। आशा छ अब यो विषयमा सबैको सक्रियता बढ्ने छ।

(समाचार पढिसकेपछि मन परेमा सेयार गरिदिनु होला साथै आफ्नो बिचार या धारणा पनि कमेन्ट गरिदिनुहुन हुन् अनुरोध छ।)

तस्बिर : राई जरा

प्रतिक्रिया दिनुहोस्