नेकपा विरुद्ध निर्वाचन आयोगमा उजुरी



२९ साउन २०७५, काठमाडौं

ऋषि कट्टेल नेतृत्वको नेकपाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दल दर्ता खारेज गर्न माग गरेको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम नेकपा राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ । जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, गैह्रकानुनी काम गरेको बताउँदै आएका छन् । कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा २०७० साउन २२ गते दर्ता भएको हो, भने ओली र प्रचण्ड नेतृत्वको नेकपाको निर्वाचन आयोगमा २०७५ जेठ २३ गते दर्ता भएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित नेकपाको कार्यालयविरुद्ध निर्वाचन आयोगमा उजुरी सरहको निवेदन पेश गरेको कट्टेलले जानकारी दिए । कट्टेलले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा को संवैधानिक एवं कानुनी हकको हनन् भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा दर्ता बदर गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्