प्रदेश नं. ५ का सांसदद्धारा अर्थमन्त्री खतिवडाको राजीनामा माग



२७ साउन २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । हालको अर्थमन्त्रीले जनताहरुको मागको सम्बोधन नगरेको भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा मागेका हुन् ।

प्रधानमन्त्रीसँग २५ साउनमा सम्पन्न भएको छलफलको क्रममा चौधरीले यस्तो बताएका हुन् । उनले सके बजेट करेक्सन गर्नुपर्ने र नसके पनि अर्थमन्त्री चेन्ज गनुपर्ने बताएका छन् । अर्थमन्त्रीकै कारणले चुनाव अगाडि नेपाल कम्युनिष्ट पार्टीमा रहेको नेपाली जनताको विश्वास हटेर गएको भन्दै अब अर्थमन्त्री चेन्ज गरेर अगाडि बढ्नुपर्ने विचार ब्यक्त गरेका हुन् ।

“अरु साथीहरुले पनि यस बारेमा कुरा राखेका छन् तर मैले सिधै भनेको हुँ” उनले अनलाईनसँग कुरा गर्दै भने ।
यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने सिधा जवाफ नादिएको र आउँदो वर्षहरुमा यस्ता कमीकम्जोरीहरुलाई सच्याएर जानुपर्ने बताएका छन् । साथै उनले नेपाल कम्युनिष्ट पार्टीको सरकार बन्दा देश आर्थिक संकटमा परेकोले यस किसिमको बजेट ल्याउनुपरेको बताए ।

सांसदहरु नन्दलाल रोकाय, खिमलाल भट्टराई, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे तथा तुलसा थापालगाएतले पनि बजेटका सम्बन्धमा आ–आफ्नो विचार राखेका थिए । साथै उनीहरुले बाढी, पहिरो, डुवान, जंगली जनावरका आक्रमण, सिचाँई तथा बाटोघाटोको बारेमा सरकारलाई ध्यानाकर्षण समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्