स्थापनाको २१ वर्षपछि बडापत्र बनाउँदै विम्स्टेक, प्रमको संयोजकत्वमा चौथो शिखर सम्मेलन आयोजक समिति गठन



२७ साउन २०७५, काठमाडौं

स्थापना भएको २१ वर्षपछि बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) ले आफ्नो बडापत्र तयार गर्ने भएको छ ।

आउदो भाद्र १४, १५ मा काठमाडौंमा हुने शिखर सम्मेलनको अवसर पारेर बडापत्र बनाउने सहमति शनिबार बसेको अधिकारीहरुको बैठकले पारित गरेको हो । यस वर्षपछि विमस्टेकले औपचारिक रुपमा दुरदृष्टि सहितको बडापत्र बनाउने तथा काठमाडौं घोषणा पत्रको विषयमा समेत सहमति जुटेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए । साथै चौथो शिखर सम्मेलनको घोषणापत्रको अर्थवस्तु तथा औचित्यलाई पनि अन्तिम रुप दिइएको उनले बताए ।  विम्स्टेकलाई प्रभावकारी र क्षेत्रीय विकाशको अवधारणालाई प्राथमिक्ताका विषयमा राख्ने सदस्य राष्ट्रहरुको अधिकारीहरुले बताएका छन् ।

बैठकमा लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि पुर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यन्वायन विषयमा पनि छलफल भएको थियो । विम्स्टेकले पहिचान गरेको व्यापार, लगानी, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, कृषि प्रतिआतंकवाद, गरिवी निवारण, जनस्वास्थ्य वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तन जस्ता १४ वटा  क्षेत्रमा हालसम्म भएका प्रगतिहरुको समिक्षा पनि भएको बैरागीेले जानकारी दिए ।

म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनले चौथो शिखर सम्मेलनको लागि अध्यक्ष नेपाललाई बनाई आयोजनाको जिम्मेवारी समेत दिएको थियो । सम्मेलनमा विम्स्टेकको सदस्य राष्ट्रहरु सरकार प्रमुखहरु, परराष्ट्रमन्त्री, सचिवहरु तथा प्रतिनिधिहरुको सहभागिता रहने छन् । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्के, म्यानमारकी राज्यपरिषद्की प्रमुख आङसाङ सुची तथा थाईल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउने भएका छन् ।

सम्मेलनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा आलीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । सम्मेलनमा भाग लिन भनि भाद्र ११ बाट विदेशी पाहुनाहरु काठमाडौंमा आउने बताईएको छ । सम्मेलन हुनुपुर्व भाद्र १२ गते अधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्रमन्त्री स्तरिय बैठक बसेर सम्मेलनको एजेण्डालाई अन्तिम रुप दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्