अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता



२६ साउन २०७५, वासिङ्टन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।

उनीहरुबीच व्यापार साझेदारी, सुरक्षा मुद्धा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्धा र मध्यपूर्वका विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उक्त विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उनीहरुबीचको वार्तालापमा विश्वमा पछिल्लो समयमा देखिएका विभिन्न खालका चुनौतीहरुको समाधानका लागि समन्वय गरी अघि बढ्ने विषयमा सहमति भएको ह्वाइट हाउसद्धारा जारी गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

इरानको पारमाणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि अमेरिका र इरानबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा नराम्रो भएको देखिएको छ ।

यसका कारण अमेरिकाले पनि इरानमाथि कडा नाकाबन्दीको घोषणा गरेको छ । यस विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटगर्दै फ्रान्सेली राष्ट्रपतिसँग राम्रो कुराकानी भएको बताएका छन् । उनले विशेषगरी व्यापार र सुक्षासम्बन्धमा वार्तालाप भएको पनि आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्