संग्रौला, ज्वालादेखि ग्वालासम्मको जमघटस्थल ‘अधिकारीको चिया पसल’



२५ साउन २०७५, काठमाडौं

प्रख्यात लेखक खगेन्द्र संग्रौलालाई निरन्तर रुपमा चियाको रसास्वादन गराउँदै आएका कृष्ण अधिकारी जसले चिया पसलमै ३० वर्ष व्यतिथ गरिसकेका छन् । भक्तपुरको वागेश्वरीमा जन्मिएका अधिकारीले काठमाण्डौको चाबहिल क्षेत्रमा विं.सं. २०४४ साल माघ ७ गतेबाट चियाको व्यापार सुरुवात गरेका हुन् ।

अधिकारीका दाजु र उनका साथीले गाउँकै एक व्यक्तिसँग तीन हजार रुपैयाँमा चिया पसल खरिद गरेका थिए । दाजुका साथीले चिया पसल नगर्ने भनेपछि आफ्नै दाजुभाइ मिलेर चिया पसल चलाउने निर्णय गरे उनीहरुले । विं.सं २०५८ सालसम्म अधिकारीका दाजुभाइले संयुक्त रुपमा चियाको व्यापार गरे । त्यतिबेलासम्म उनीहरुले सरस्वतीनगरमा एउटा घर बनाए भने भक्तपुरमा पाँच रोपनी जग्गा समेत किन्न भ्याए ।

२०५८ सालपछि चाबहिलको गणेश स्थान नजिकै एउटा घरको भर्याङ्गमुनि एकल रुपमा चियाको व्यापार गर्न थालेका अधिकारीको पसलमा सामान्य मानिसदेखि लेखक, साहित्यकार, शिक्षक, वकिल, पत्रकार आदि विभिन्न तहका चियाका पारखीहरु आउने गर्दछन् । प्रख्यात लेखक खगेन्द्र संग्रौला, नयाँ पत्रिकाका प्रकाशक \सम्पादक कृष्ण ज्वाला देवकोटा, कृष्ण मुरारी भण्डारी लगायतका विभिन्न व्यक्तिहरु लामो समय निरन्तर जमघटको स्थल हो,अधिकारीको चिया पसल ।

‘थुप्रै तहका मानिसहरुलाई चिया खुवाइयो, कतिपयले अवकाश पाइसके , गोविन्द वर्तमान लगायतका व्यक्तिहरु स्वर्गीय भइसके,उनी भन्छन् । ग्वालादेखि संग्रौला, ज्वाला लगायतलाई चिया खुवाएँ ।’

भर्याङ्गमुनिको चिया पसल, अधिकारी चिया पसल, र बाजेको चिया पसल नामबाट परिचत उनको पसलमा दैनिक साढे चार सय कप चिया विक्री हुने गर्दछ । उनी भन्छन्, ‘दैनिक चार सयदेखी साढे चार सय कप चिया बेच्दै आएको छु । सुरुवातमा एक कप चियाको मूल्य एक रुपैँया थियो, हाल बिस रुपैयाँ लिने गरेको छु ।’

विशेष गरी राजनैतीक विषयवस्तुले प्राथामिकता पाउने उनको पसलमा दैनिक ८० प्याकेट दुधको प्रयोग हुन्छ, चियाका लागि । साठ्ठीको दशकमा खगेन्द्र संगौला अध्यक्ष, कृष्ण ज्वाला देवकोटा महासचिव र कृष्ण अधिकारी उपाध्यक्ष रहेको भर्याङ्गमुनि नामक मौखिक पार्टी समेत गठन भएको थियो । उक्त पार्टीमा अरु कसैले प्रवेश पाएनन् भने पुन: गठन पनि भएको छैन् ।

बिहान पाँच बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ने उनको चिया पसलमा मूलपानीमा गाई पालन गरेका गोविन्द ढकालले दश वर्षसम्म दुध ल्याउने गर्थे । गाई पाल्ने र दुध ल्याउने भएकाले ग्वाला भएका थिए ढकाल ।

७–८ जना सहयोगीहरुलाई समेत उचित व्यवहारसहित विदाई गरेका अधिकारीलाई कहिल्यै अन्यत्र जाने रहर पलाएन् । उनी भन्छन्, मेरा निरन्तर ग्राहक चिया पिउनका लागि कता जालान् भन्ने चिन्ताले अन्त कतै जान मन लागेन् । २०४९ सालमा विवाह भयो , एक छोरा र एक छोरी छिन् । कमाएको रकम उनीहरुकै पढाईमा खर्च गरेको छु । साथै भक्तपुरमा भूकम्पले भत्काए घर पनि निर्माण गरेँ ।’

अब चार वर्षसम्म चिया पसल चलाउने योजनामा छन् उनी । भन्छन्, ‘चार वर्ष पछि अवकाश लिने तयारीमा छु ।’ चियाका पारखीहरुको दैनिकको जमघटस्थल अधिकारीको पसलमा धेरै ठाउँका मानिसहरु आउने गरेका छन् । उनका पसलमा दैनि रुपमा चिया पिउन आउनेहरु भन्छन्, उहाँको पसल सदावहार यस्तै हो । पहिले जस्तो थियो , अहिले पनि उस्तै छ ।’ एक मुखे ग्यासँमा चिया बनाउँदै आएका अधिकारी आफ्नो काममा सन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्