नेपाल र म्यानमारका निर्माण व्यवसायीबीच सहकार्य हुने



२५ साउन २०७५, काठमाडौं

नेपाल निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्सड कन्ट्रयाक्टर एसोसिएसनबीच द्धिपक्षीय सम्बन्ध अभिवृद्धि गर्दै सहकार्यका साथ अघि बढ्ने सहमति भएको छ । महासंघ सचिवालय अनामनगरमा शुक्रवार भएको भेटमा महासंघ र एसोसिएसनका पदाधिकारीहरुबीच द्धिपक्षीय सहकार्य गर्दै अघि बढ्ने सहमति भएको हो ।

भेटमा महासंघको नेतृत्व गर्नु भएका अध्यक्ष विष्णुभाई श्रेष्ठले दुई देशका निर्माण व्यवसायीहरुको सहकार्यले भविष्यमा थप गुणस्तरीय काम गर्न दुवै पक्षलाई सहज हुने विश्वास व्यक्त गरे । निर्माण क्षेत्रमा प्रविधिको भूमिका महत्वपूर्ण रहेको सन्दर्भमा दुई देशबीच प्रविधि आदानप्रदानमा पनि सहकार्य हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले छिट्टै महासंघ र एसोसिएसनबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिए ।

म्यानमार लाइसेन्सड कन्ट्रयाक्टर एसोसिएसनका अन्तर्राष्ट्रिय विभाग प्रमुख को को लाटले नेपाल निर्माण व्यवसायी महासंघसँगको सम्बन्धलाई एसोसिएसनले उच्च प्राथमिकता दिएको बताए । दुई संस्थाबीचको सहकार्यले निर्माण क्षेत्रमा ठूलो फड्को मार्न सकिने विश्वास पनि लाटले व्यक्त गरे । लाट म्यानमार लाइसेन्सड कन्ट्रयाक्टर एसोसिएसनका प्रविधि अनुसन्धान तथा आर्थिक विकास समितिका प्रमुख समेत हुन्।

लाट सहित एसोसिएसनका अन्य पदाधिकारीहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । महासंघ नेपालका निर्माण व्यवसायीहरुको छाता संगठन हो भने एसोसिएसनले म्यानमारका निर्माण व्यवसायीहरुलाई प्रतिनिधित्व गर्दछ ।

प्रतिक्रिया दिनुहोस्