बुवाको तलव अठार रुपैयाँ हुँदा मेरो दुई सय थियो : बखत बहादुर



२४ साउन २०७५, काठमाडौं

नेपालका पहिलो सिनेमेटोग्राफर मात्र नभई फोटोग्राफर तथा शिक्षा क्षेत्रको विकासमा लामो समय योग्दान दिएका व्यक्ति हुन्, बखत बहादुर चित्रकार ।

फोटोग्राफी सम्बन्धी दख्खल भएको पारिवारिक वातावरणमा विं.सं १९८७ माघ १० गते यतखा टोल काठमाण्डौमा उनको जन्म भयो । उनका वावु कृष्णबहादुर चित्रकार फोटोग्राफर भएकाले १० वर्षे कलिलो उमेरमा नै फोटोग्राफीको जानकार भएका बखतबहादुरले सानै उमेरबाट वावुको काममा सहयोग गर्न थाले ।

२०११ सालमा त्रिचन्द्र कलेजबाट बि.ए. उतीर्ण गरेका चित्रकारले तत्कालीन श्री पाँचको सरकार र अमेरिकी सरकारको संयुक्त पहलमा सञ्चालन भइरहेको परियोजनामा काम गर्ने अवसर पाए । त्यहाँ उनको ‘तलब रु २०० तोकीयो जतिबेला घरमा बावुको तलब रु १८ थियो । उनी भन्छन्, मेरो बुवाले १८ रुपैँया कमाउँदा मेरो तलव दुई सय थियो ।’

शिक्षक तालिम विभागमा जागीरे भएका चित्रकारले ६ महिना शिक्षकहरुलाई तालिम दिए र विद्यालय खोल्नका लागि बाँके–बर्दिया पुगे । तत्कालिन समयमा शिक्षा चाहिन्छ भन्ने अज्ञानताकाबीच पनि बाँके बर्दियाका ११ स्थानमा विद्यालय खोल्न सफल भए ।

विद्यालय खोल्ने काम सकेर फर्किएका बखत बहादुरलाई लाग्यो , कितावी ज्ञान भन्दा तस्विरको माध्यमबाट पठनपाठन गर्न सहज हुन्छ । सोही विचारको परिपूर्ती गर्न उनकै पहलमा शिक्षक तालिम अन्तर्गत अडियो भिजोवल सेक्सनको सुरुवात समेत भयो ।

शिक्षा क्षेत्रको विकासमा दत्तचित्त भएर लागिपरेको बखत बहादुले विद्यालयमा राष्ट्रिय गान चाहिने महशुस भएपछि राष्ट्रकवि माधव प्र. घिमिरेलाई गीत लेख्न समेत सुझाव दिएका थिए ।उनी भन्छन्, मैले सुझाव दिएपछि माधव घिमिरेले राष्ट्रिय गीत लेख्नुभएको थियो ।

अडियो भिजोल सेक्सनमा काम गर्दागर्दै भारतबाट आएको सिनेमेटोग्राफी छात्रावृत्ति कोटामा चित्रकारको नाम निस्कियो ।

त्यस समयमा उनलाई सरकारी जागिर नछोड्न धेरै ठाउँबाट आग्रह गरिएको थियो । सानै उमेरदेखी फोटोग्राफीमा लगाव भएका चित्रकारलाई उनको तीव्र इच्छाले रोक्न सकेन् । त्यसपछि उनलाई यता पुरै तलव दिनेगरी ब्याङलोरमा छात्रावृत्तिमा अध्ययनकको अवसर दिइयो ।

१८ महिनाको अध्ययन अवधि लम्बिएर ४ वर्षको पो पुग्यो । सो अवधिमा चित्रकारले मद्रासी चलचित्रको छायांकन गर्ने अवसर पनि पाए ।
मद्रासी चलचित्र छायांकनका दौरान आएका उतार चढावले उनलाई सिनेमेटोग्राफीप्रति दिक्दारीपन नआएको भने होइन् । त्यसपछि बम्बइ फिल्म डिभिजनमा काम गर्न सिफारिश पनि पाए,चित्रकारले ।

बम्बइकै माहोलमा हराउन थालेका चित्रकारलाई एउटा चलचित्र बनाउन आग्रह गरियो । सो आग्रह स्वीकार गर्दै उनले ग्लिमसेस अफ बम्बइ नामक फिल्म तयार पारे । उनले उकत फिल्मबाट प्रशंसा पनि पाए । बम्बइमै रमाउन थालेका चित्रकारको कार्यालयमा नेपालबाट एक पत्र आयो जसमा लेखिएको थियो ,सेण्ड हिम व्याक इमिडेटली ।

वि.स.२०१७ मा नेपाल फर्किएपछि पनि उनी शिक्षा मन्त्रालय अन्तर्गत नै कार्यरत रहे । उनी नेपाल फर्किएपछि गोरखापत्रमा ठूलो हेडलाईनमा छापिएको थियो नेपालका पहिलो सिनेमेटोग्राफर बखत बहादुर चित्रकार ।गोरखापत्रको समाचारपछि उनलाई शिक्षाबाट सञ्चारमा तानियो ।

उनले सोचे अब त फिल्म क्षेत्रमा काम गर्ने बाटो खुल्यो । तर बिडम्बना सञ्चारमा आएको दुई दिन पछि नै उनी शिक्षामै फर्कनुपर्यो ।त्यसपछि उनी सह–सचिवमा बढुवा भई दिपायल पुगे । काठमाण्डौमा जन्मिएका चित्रकारले राम्रैसँग गाम्रीण भेगको उकालो ओरालो गरेको अनुभव बटुलेका छन् । जीवनमा भएको उतार चढावबाट उनी कति पनि विचलित भएनन् ।

सञ्चारमा केही गर्न खोजेका चित्रकार शिक्षामा नै अल्मलिन पुगे र सिनेमेटोग्राफिलाई त्यति अघि बढाउन सकेनन् । तथापी खाने मुखलाई जुँघाले छेक्दैन भनझैँ शिक्षामै रहेरै पनि उनले सिनेमेटोग्राफीको काम भने नगरेका होइनन् ।

नेपालमा उच्च शिक्षा ल्याउनमा उनको अग्रणी भूमिका रह्यो ।तत्कालीन राजपरिवारको फोटो खिच्ने क्रममा पाएको कष्टलाई उनले अझै बिसर्न सकेका छैनन् । साथै उनले फोटोग्राफी सम्बन्धीको पुस्तक पनि प्रकाशित गरेका छन् ।

फोटोग्राफी , सिनेमेटोग्राफी र शिक्षा क्षेत्रमा लामो समय योग्दान दिएका चित्रकार आफूले गरेका काममा भने सन्तुष्ट देखिन्छन् ।
अवकास पछिको जीवन पनि शिक्षा र समाज सेवामा समर्पित गरिहेका ८७ वर्षीय चित्रकारको तेज घटेको छैन।

प्रतिक्रिया दिनुहोस्