२४५ रुपैयाँ लगानी गरेर दिनमै २० हजारको मासु विक्री गर्ने मिना नगरकोटीको संघर्ष



२३ साउन २०७५, काठमाडौं

 

सानै उमेरमा नेपालगञ्जबाट काठमाण्डौ झरेकी मिना नगरकोटी सडकमा गुडिरहेको बस देख्दा टाढा भाग्थिन् ।

काठमाण्डौको रमाइलो वातावरण हेर्दै हिड्दा कतिपटक सडक नजिकैको बिजुलीका खम्बाहरुमा पनि ठोकिएकी छन्,उनी । आफ्नो आमावावुको अनुहार समेत देख्न नपाएकी मिना मामाघरमा हजुरआमासँग वस्ने गर्थिन् ।  बहिनीले दु:ख पाइनन् भनी काठमाण्डौ ल्याएकी थिइन् ,उनकी दिदीले ।

मिनाको १४ वर्षको उमेरमा आफूभन्दा १२ वर्ष जेठा युवकसँग काठमाण्डौमा  विवाह भयो ।विवाह गर्दाको क्षण स्मरण गर्दै उनले भनिन्, ‘मेरा दिदी भिनाजुले कान कम सुन्नुहुन्थ्यो । विवाहका लागि भनेर केटाको घर हेर्न जानुभयो । उता दिदी भिनाजुलाई अरुकै घर जग्गा देखाइएछ ।’

मगर परिवारमा जन्मिएकी मिनालाई विवाह गरेर जादाँ दलित भनेर घरमा बस्न दिइएन् । त्यसपछि उनी ललितपूरमा कोठाभाडामा बसोबास गर्न थालिन् । मिनाका साथमा उनका रक्सी पिउने श्रीमान् पनि थिए ।उनी बसेको घरधनीको पसल थियो, त्यहाँ उनले ड्रम बोक्ने र उनीहरुको घरको काम पनि गर्थिन् । तीन वर्ष कोठा भाडामा बसेपछि घरधनीले उनका श्रीमानलाई आफ्नो हक लिन सुझाव दिए ।

त्यसपछि उनीहरु घर फर्किए र मिनाले श्रीमानको नामबाट नागरिकता पनि पाइन् । गाउँका केही मानिसहरुले सम्झाएपछि उनका घरपरिवारले घर बनाउनका लागि केही आना जग्गा दिए तर लालपूर्जा भने दिन मानेन् ।त्यसपछि उनीहरु त्यहि जग्गामा जस्ताको घर बनाएर बस्न थाले ।  तत्पश्चात उनी इट्टा वालुवा बोक्ने काम गर्न थालिन् । उनका श्रीमान् भने रक्सी पिएर मात्रै वस्थे ।

उनले भनिन् , उहाँले मन पराएर विवाह गर्न खोजेको केटी उहाँको आफन्तले विवाह गर्नुभएछ । उहाँले मलाई मन नपराएपनि माया भने गर्नुहुन्थ्यो । आफूले मन पराएको केटी विवाह गर्न नपाएको भन्दै उहाँ असाध्यै रक्सी पिउन थाल्नुभयो । अनि रक्सी पिएर मलाई पिट्नुहुन्थ्यो तर पनि मलाई उहाँको असाध्यै माया पनि लाग्थ्यो । श्रीमानले निकै दुःख दिने, पिट्ने गर्न थालेपछि भने उनी तीन महिना दिदीको वसिन् । त्यसपछि उनले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गरिन् र सम्बन्ध विच्छेद पनि भयो ।

त्यसको एक महिनापछि उनका श्रीमान् दिदीको घरमा आएर रुन थाले । अव कहिल्यै रक्सी नपिउने र नकुट्ने वाचा पनि गर्न थाले । उनका दिदी भिनाजुले नपठाउने कुरा गरेपनि उनलाई भने श्रीमानको माया लाग्यो र दुई महिना पछि पुनः घरै फर्किइन्,मिना ।उनी भन्छिन् , ‘यदि मेरो वुवा आमा हुनुहुन्थ्यो भने श्रीमान्सँग फर्कने थिइन् म माइत जान्थेँ ।’घर फर्किएपछि उनले इट्टा बोक्ने वालुवा चाल्ने काम गर्न थालिन् तर उनको श्रीमानको बानी भने सुध्रिएन ।

उनका तीन छोरीहरुको पालन पोषणका लागि उनले निकै संघर्ष गर्नुपर्यो । उनका छोरीहरुको अध्ययन गर्नका लागि एक शिक्षकले छात्रावृत्तीको व्यवस्था मिलाएका थिए । त्यसको वदलामा उनी उक्त सरको घरको काम गरिदिन्थिन् । गाउँका मानिसहरुको घरमा काम गर्ने, इट्टा बोक्ने वालुवा चाल्ने लगायतका विभिन्न काम गर्दै उनले छोरीहरु हुर्काइन् ।

इट्टा बोक्ने वालुवा चाल्ने काम गर्दा ठेकेदारले पैसा दिन छाडेपछि उनको जीवनले नयाँ मोड लियो । काठमाण्डौको भद्रवासमा बसोबास गर्दै आएकी मिनाले डाँछी चोकमा २०६६ मा तीन महिनासम्म मासु काट्ने काम गरिन् । त्यतिबेला एक व्यक्तिले मासु ल्याइदिन्थे उनले भने नाफा मात्रै पाउथिन् । तीन महिनाको अनुभव भएपछि उनलाई आफैँले पसल सुरु गरौँ जस्तो लाग्यो । जतिबेला उनको साथमा पाँच सय रुपैँया मात्रै थियो तैपनि उनले कुखुराको मासु पसलको सुरुवात गरिन् ।

२४५ रुपैयाँमा एउटा कुखुरा किनेर मासु पसलको सुरुवात गरेकी मिनाले पहिलो दिन विहान ७ बजेदेखि दिनभर बस्दा ४५ रुपैयाँमा एक पाउ मात्रै विक्री गर्न सफल भइन् ।  त्यतिबेला उनको पसल बाँस गाडेर जस्ताको छानो राखिएको थियो भने टेबुलमा मासु काट्ने गर्थिन् ।  बाँकी रहेको कुखुरा घरमा लगिन् दोस्रो दिन त्यसैलाई विक्री गरिन् ।

खासै विक्री नभएपछि उनी विहान बेलुका मात्रै पसलमा बस्ने र दिउँसो अरुको घरमा काम गर्न जान्थिन् ।  जब विस्तारै विक्रि पनि बढ्दै गयो उनले कुखुराको संख्या पनि थप्दै गइन्  ।डाँछी चोकमा रहेको एक पुरानो घरमा मासिक पाँच हजार भाडा तिर्दै आएकी मिनाको  ‘टिना मिट शप’ मा अहिले मानिसहरुको घुँइचो लाग्छ । समय समया आएका विभिन्न कठिनाई पन्छाउँदै व्यापारलाई निरन्तरता दिदैँ आएकी मिनाको श्रीमानको मृत्यु भएको  गत वैशाखमा एक वर्ष पूरा भयो ।

‘मलाई कतिपय मानिसहरुले जड्याहा श्रीमान्सँग कति बस्छौ, अन्तै जाउ पनि भने । तर मलाई तीन छोरीहरुको निकै माया लाग्थ्यो र अहिले पनि लाग्छ । मैले त आमा वावुको माया पाइन् मैले छोडेर हिँडे भने यी छोरीहरु टुहुरा हुन्छन् भन्ने लागेर कतै हिडिन् । उनी भन्छिन्, श्रीमानको उपचारका लागि मैले धेरै दुःख भोग्नुपर्यो भने खर्च पनि धेरै भयो ।

धेरै पिएका कारण उहाँलाई मुटुसम्वन्धी रोग लागेछ । उपचारका लागि  तीन वटा अस्पतालमा लगेँ र भर्ना गराउन रोइकराइ गर्नुपर्यो । डाक्टरले बाँच्दैन भन्दा पनि अस्पताल लैजान छोडिन् । ऋण गरेर उहाँलाई कुर्दा कुर्दै म आफैँ पनि बिरामी भएँ तर पनि घरपरिवारबाट भेट्न कोही आफन्त आएनन् । श्रीमानलाई उपचार गर्दा लागेको ऋण अझै तिर्न सकेको छैन् । दु:खको त के कुरा गर्नु र ।’

मिनाले आफ्नो श्रीमानलाई उपचार गराउँदा भोग्नुपरेको पीडा भन्दै गर्दा उनका आँखा रसाएका थिए । उनका दुई छोरीको विवाह भइसकेको छ । श्रीमानका दाजुभाइले मृत्युपछिको काम गर्न खोजे पनि उनको श्रीमानको इच्छा अनुसार कान्छी छोरीले दाग्वती दिइन र एक वर्षसम्मको कामकाज सकिन् ।

९ वर्षदेखीे मासु पसल सञ्चालन गर्दै आएकी मिनाले हाल दिनमा २० हजार बराबरको कुखुरा विक्री गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘कहिलेकाहीँ २० हजारको मासु ल्याउँदा कम हुन्छ भने कहिले बढ पनि । बढी भएको बेला चाहिँ अर्को दिन अलिक कमको ल्याउँछु । अहिले त साउन महिना भएर खासै व्यापार छैन् ।’

मिनाले शनिबार ८५–९० केजीसम्म कुखुरा तथा ५ केजी खसीको मासु समेत विक्री गर्दै आएकी छिन् । साथै उनले माछा पनि विक्री गर्छिन् ।उनी भन्छिन्, यहाँ कुखुरा काट्ने गरेको छैन । म विहान ४ बजेतिरै जोरपाटी पुगेर मासु ल्याउँछु र बेलुकी ८ बजेसम्म पसलमा बस्छु ।सकेसम्म अझै ठूलो पसल राखेर बस्ने योजनामा रहेकी मिना आफ्नो उपलब्धिप्रती सन्तुष्ट छिन् ।

घरमा जस्ताको छानो हटाउने सपना बोकेकी मिनाको हाल घर भएको जग्गा अझै पनि आफ्नो नाममा आएको  छैन् । उनी भन्छिन्, श्रीमानका भाइहरुले दिन्छौँ चाहीँ भन्दै हुनुहुन्छ अब पनि दिनुभएन भने मुद्दा गर्ने सोचमा छु ।’

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्