संगीतकै लागि रोएका दामोदरको सपना पूरा हुँदै



२२ साउन २०७५, काठमाडौं

घरबाट खेतमा काम गर्न भनेर निस्किएका दामोदर अधिकारी डिलमा बसेर गीत गाउनमा पो व्यस्त हुन्थे । विद्यालयमा आयोजना हुने कार्यक्रममा गीत गाएर आफ्नो प्रभाव जमाएका अधिकारी पढाईमा पनि अब्बल थिए ।

तिहारमा देउसी भैलो खेल्न जाँदा उनकै माग हुन्थ्यो भने स्वस्थानी कथा पढ्दा पनि उनको शैलीको प्रशंसा हुन्थ्यो । ‘गाउँका मानिसहरुले मेरो प्रशंसा गर्दै भन्थे यसले नपढे पनि गीत गाएरै आफ्नो जीवन चलाउँछ’ अधिकारीले सम्झिए  ।सानैदेखीकोे संगीतप्रतिको लगाव र संघर्षले दामोदर अधिकारीलाई गायक, संगीतकार र संगीत प्रशिक्षकको रुपमा स्थापित गराएको छ ।

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ९ स्थित शेरा बजारमा जन्मिएका अधिकारीले काठमाण्डौको संघर्षपूर्ण यात्रामा पाँच दिन सम्म खोले खाएको अनुभव समेत  बटुलेका  छन् ।मध्यमवर्गीय किसान परिवारमा जन्मिएका अधिकारीले मिरकोट माद्यामिक विद्यालयबाट २०५५ सालमा एसएलसी परिक्षा उत्तीर्ण गरे ।

तत्पश्चात काठमाण्डौ झरेका अधिकारी पब्लिक युथ क्याम्पसमा व्यवस्थापन संकायमा अध्ययन थाले ।उनको सानै देखीको रुची भएपनि संगीत अध्ययनका लागि नै भनेर काठमाण्डौ आएका थिएनन् उनी ।साथी भाइहरुलाई गीत गाएर सुनाउने क्रममा एक आफन्तले उनालाई स्वर राम्रो रहेछ संगीत अध्ययन गर्दा हुन्छ भन्ने सुझाव दिए ।ति आफन्तको सुझावले उनलाई संगीतको मोह  जगायो  र मनमैजु सांस्कृतिक संस्थानमा भर्ना भए  ।

३६ वर्षीय अधिकारीले संगीत पढ्दाको सुरुवाती अनुभव सुनाउँदै भने,‘ सुरुवाती सात स्वर सिक्नका लागि मैलै निकै संघर्ष गर्नुपर्यो । अरुले सहजै सिकेका कुरा पनि मेरा लागि गाह्रो विषय बन्यो । संगीत सिक्ने क्रममा धेरैपटक रोएको छु । अहिले महसुश गर्छु मलाई पढाउने गुरुको शैलीमा केही कमी थियो र आफूमा पनि । २० वटा विद्यालयमा संगीत पढाउँदा समेत  विद्यार्थीहरुलाई सिक्नका लागि त्यति धेरै संघर्ष गर्नुपरेको मैले देखेको छैन् ।’

मनमैजु सांस्कृतिक संस्थानमा  केही समय अध्ययन गरेपछि उनी गान्धर्व संगीत महाविद्यालयमा संगीत अध्ययन गर्न पुगे ।संगीत अध्ययन गर्न थालेपछि उनको जीवनले फरक मोड लियो  । ‘संगीत अध्ययन गर्दा संसार नै यहि हो भन्ने लाग्न थाल्यो । अझै यसप्रतिको भोक झनै बढ्यो,उनले भने ।’तत्पश्चात थप संगीत अध्ययनका लागि दिल्ली प्रस्थान गरका अधिकारीको  कक्षा ११ को पढाई भने सञ्चालन भइरहेको थियो ।

 

२ वर्ष दिल्लीमा संगीत अध्ययन गरेका अधिकारीले यता प्लसटुको परिक्षा दिन  भने छाडेनन् र उत्तीर्ण पनि भए । तत्पश्चात पुनः गान्धवमै फर्किएका अधिकारीका साथीहरु हरी लम्साल र अमर शाहसँग संगीत सिक्न भारत जाने सहमती भएपछि भारतको पुनेतर्फ हानिए उनी ।त्रिचन्द्र क्याम्पसमा बिएमा भर्ना गरेपनि पुनेमा संगीत सिक्न गएका अधिकारीको यताको पढाई टुट्यो भने उताबाट बि म्यूज (संगीतमा स्नातक) गरेर नेपाल फर्किए ।

काठमाण्डौको संघर्षपूर्ण एक घटना सम्झँदै अधिकारीले भने,‘ एउटा कोठामा तीन जना बस्थ्यौँ ।काठमाण्डौ आएको पहिलो वर्षको दशैँमा घर जानका लागि ५–६ दिन बाँकी थियो भने हाम्रो साथमा पनि बस भाडा मात्रै ।  खाद्यान सकियो,चिनेजानेको मानिस नभएकाले पैसा दिने कसले । त्यसपछि ५ दिन  खोले मात्रै खाएर बसियो । यस्ता थुप्रै संघर्षपूर्ण अनुभव संगालेको छु ।’

बि म्यूज गरेका भएपनि उनी नेपाल फर्किएको केही समय कामबिहीन वस्नुपर्यो ।कामविहीन भएर भौतारिएका अधिकारी काठमाण्डौको संघर्षपूर्ण जीवनलाई सहज बनाउन एक गैरसरकारी संस्थामा काम गर्न थाले ।

संगीतमा आफूले हाँसिल गरेको ज्ञान प्रयोग गर्ने स्थान नभेटेका अधिकारीले विद्यालयहरुमा पनि संगीत पढाइ हुने रहेछ भन्ने थाहा पाए । साथीहरुले विद्यालयमा संगीत पढाउछन भन्ने थाहा पाएपछि उनी पनि अध्यापनतर्फ लम्किए ।२०६६ बाट विद्यालयमा संगीत शिक्षण आरम्भ गरेका अधिकारीले पहिलो वर्षमै पाँच वटा विद्यालयमा संगीत पढाउने मौका पाए ।

अधिकारी २०६७ सालमा वौद्घ स्थित अरुणिमा स्कुलमा पूर्ण रुपमा संगीत प्रशिक्षक बने । २०६८ सालदेखि वानेश्वरमा रहेको पाठशाला फाउण्डेशनको संगीत शिक्षक बनेका अधिकारीले हाल अरुणिमा र पाठशालामा निरन्तर रुपमा संगीत पढाइरहेका छन् । समय मिलाएर अन्य केही विद्यालयमा संगीत अध्यापन गराउँदै आएका छन् उनी ।

 

पाठशालाका संस्थापक निर्देशक डा. रामप्रसाद ज्ञवालीसँग भेट भएपछि उनको जीवनले नयाँ मोड लियो । डा. ज्ञवालीले उनलाई विभिन्न कुरामा सहयोग गरे भने सहकार्य गर्ने मौका समेत दिए ।केही समय अघि मात्रै डा. रामप्रसाद ज्ञवालीको शब्द र अधिकारीको संगीत र स्वरमा सजिएको जनवादी गीतहरु समावेश गीति एल्बम् ‘आशय’ सार्वजनिक भएको छ ।

‘आशयमा समावेश गीतहरुबाट मैलै निकै प्रशंसा बटुलेको छु । म चिनाउने गीत संगीत भन्दा अलिक फरक धारमा अघि बढिरहेको छु  । आफू चिनिने नाममा जस्तो पायो उस्तै गीत गाउने योजनामा छैन, उनले भने ।’अधिकारी अब बाल गीति एल्बम र काठमाण्डौको फोहोरमैला सम्बन्धी गीत छिट्टै नै बजारमा ल्याउने तयारीमा छन् ।

साथै उनले संगीतमा हाल गोंगवुको वानियाँटारमा ॐ संगीत पाठशाला सञ्चालनमा ल्याएका छन् ।संगीत पाठशालमा कक्षा १० सम्म संगीतमा सम्भावना देखाएका प्रतिभावान  विद्यार्थीलाई संगीत सिकाएर मिडिया मार्फत बाहिर ल्याउने तयारीमा छन् उनी ।

उनी भन्छन्, मैले यो स्थानमा आउनका लागि त्यति धेरै संघर्ष गर्नुपर्ने थिएन होला, सायद समयमै सहयोग गर्ने मानिस भेटेको भए । अझै पनि म सफल भएको छैन संघर्ष गर्दैछु । मेरो सपना पूरा भएको छैन ।’

 

 

प्रतिक्रिया दिनुहोस्