विश्वको सवैभन्दा ठूलो मन्दिर जहाँ हिन्दु र बुद्धिष्टहरु एकैसाथ पुजा गर्छन्



२० साउन २०७५, काठमाडौं

धर्ममा ठूलो र सानोको मापन क्षेत्रफल वा भौतिक संरचनाले गर्न सकिदैन । अनुयायीहरुको आस्था, ज्ञान, विश्वास र अनुभवले यसको मापन फरकफरक किसिमले गर्न हरेक व्यक्ति स्वतन्त्र छन् । नेपालीहरु भारतका विभिन्न धामहरुको भ्रमणलाई पवित्र र ठूलो स्थानमा पुगेको अनुभव गर्छन भने भारतीयहरु पशुपतिनाथलाई सबैभन्दा ठूलो तिर्थस्थल मान्दछन् ।

यद्धपी लोकप्रियता, ऐतिहासिक वा प्राचीन सम्पदाको रुपमा स्थापित सम्पदालाई कुनै आधारमा पक्कै पनि ठूलो मान्नुपर्ने हुन्छ ।  हामीले विश्वको सबैभन्दा ठूलो मन्दिरको कुरा गर्दा लाग्न सक्छ त्यस्तो मन्दिर नेपाल, भारत वा  बंगलादेशमा हुनुपर्छ । अझ धर्म देखि राजनीतिमा समेत प्रभावी मानिने भारत जहाँ झन्डै  १ अर्व हिन्दुहरु बसोबास गर्छन, त्यही हुनुपर्छ त्यो हिन्दुहरुको विशाल मन्दिर ।

हिन्दु मन्दिरको बनोट र क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो र पुरानो मन्दिर दक्षिणपूर्वी एसियाली देश कम्बोडियामा छ । हिन्दु सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकाल (सन् १११२–५३) मा करिव ३५ वर्ष लगाएर निर्माण गरेको अंकोरवाट मन्दिर नै संसारको सबैभन्दा ठूलो मन्दिरको रुपमा विश्वभर चर्चित छ ।  परम्परागत खमायर वास्तुकला शैलीमा निर्माण गरिएको मन्दिरलाई कम्बोडियाको राष्ट्रध्वज प्रतिकमा समेत समावेश गरिएको छ । अंकोरवाट मन्दिरलाई विश्वकै सबैभन्दा ठूलो धार्मिक सम्पदाको रुपमा समेत मानिएको छ जसको क्षेत्रफल १६२.६ हेक्टर रहेको छ ।

विष्णु भगवानका मूर्तिहरू स्थापना गरेर शुरु गरिएको विष्णु मन्दिरमा पछि शिवका मुर्तिहरु समेत थपिए । हिन्दु संस्कृतिमा निर्माण भएको मन्दिरका भित्ताहरु अप्सरा, देवीदेवता, राक्षससँग जोडिएका अनेकौं मुर्तिहरु समेत कुदिएका छन् । मन्दिर निर्माण गर्न इजिप्टको पिरामिडको भन्दा धेरै पत्थर प्रयोग भएका छन् ।

अंकोरवाट मन्दिर अग्ला पहाडको फेदीमा छ । जसलाई घना जंगल र मन्दिर परिसरमा रहेको लामो तालले अझ सुन्दर बनाएको देखिन्छ ।  कम्बोडिया कै लोकप्रिय पर्यटन गन्तब्य भन्दै गरेको अंकोरवाट मन्दिरले वर्ष २०१७ मा टिकट विक्रीबाट मात्र १०८ मिलियन डलर (करिब ११ अर्व नेपाली) आम्दानी गरको स्थानीय अंग्रेजी पत्रिका द फेनम पेन पोष्टले जनाएको छ ।

सुर्यवर्मन शासनकालमा राजधानीको रुपमा रहेको मन्दिर क्षेत्र  १५ औँ शताब्दीमा राजधानी सरेपछि बौद्ध भिक्षुहरुले कब्जा गरी मन्दिर परिसरमा बुद्धका मूर्ति र गुम्बाहरु समेत निर्माण गरे । बहुसंख्यक बौद्ध धर्मावलम्बीहरु रहेको कम्बोडियामा अंकोरवाट मन्दिर अहिले राष्ट्रिय प्रतीकको रुपमा रहेको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सुचिकृत मन्दिरलाई विश्वप्रसिद्ध टाइम म्यागेजिनले संसारको सबैभन्दा भव्य कलाकृतिले सजिएका संरचनाहरुको ५ औँ  सूचीमा समावेश गरेको छ भने विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आस्था केन्द्र समेत बन्न पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्