४ वर्षमा बूढानीलकण्ठ क्षेत्र नेपालकै लोकप्रिय पर्यटकीय हब बन्दै



१९ साउन २०७५, काठमाडौं

व्यक्तिगत रुपमा आजसम्म सहभागी भएका थोरै महत्वपूर्ण कार्यक्रमहरु मध्ये बूढानीलकण्ठ क्षेत्र विकास समितिले आयोजना गरेको ‘समद्ध बूढानीलकण्ठमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया तथा ‘बूढानीलकण्ठ : एक परिचय पुस्तक’को विमोचन कार्यक्रम बन्न पुग्यो । किनभने स्थानीय, प्रदेश र संघीय सरकारका नीति निर्माता र बजेट दाताहरु एउटै मंचबाट बूढानीलकण्ठ क्षेत्रको गुरुयोजना निर्माण गरी लागु गर्दै नेपालकै लोकप्रिय पर्यटन हब बनाउन  प्रतिवद्ध देखिए ।

बूढानीलकण्ठ विकास समितिका अध्यक्ष जयराम थापा आफ्नो चार वर्षे कार्यकालमा ६ जना पर्यटन मन्त्रीसँग छलफल गर्नुपर्दा अस्थिर राजनीतिले बूढानीलकण्ठ क्षेत्रको विकास हुन नसकेको धारणा राखे ।  पशुपति, लुम्बिनी जस्तै बूढानीलकण्ठलाई पनि अधिकार सम्पन्न विकास समिति वा कोष बनाई अघि बढ्न सकेमा धेरै काम गर्न सकिने उनको जोड थियो ।

आफूले जिम्मेवारी सम्हाल्दा बूढानीलकण्ठ क्षेत्र भित्रै ३ समितिहरु फरक फरक योजनाका साथ क्रियाशील रहेकोमा त्यसलाई एकीकृत गर्न सफल भएको, गुरुयोजना निर्माणको लागि तात्कालिन पर्यटन मन्त्री आनन्द पोखरेलले पूर्ण सहयोग गरेर अघि बढेको काम सरकार परिवर्तनले रोकिएको र अबको स्थिर सरकारले बूढानीलकण्ठ क्षेत्रको विकास नगर्ने हो भने कहिल्यै यो क्षेत्र समृद्ध हुन नसक्ने उनको ठम्याई थियो ।

स्थानीय सरकारका प्रमुख उद्धव खरेल विकास समितिको कामप्रति सन्तुष्ट देखिएनन् । आक्रामक अभिव्यक्ति दिएका खरेलले समिति पैसा मात्र जम्मा गर्ने तर सरसफाई समेत गर्न नसक्ने भएको आरोप लगाए ।  २०५६ मा सांसद भएका ईश्वर पोखरेलले हिजोको समयमा केहि नगरेको भन्दै शक्तिशाली उप–प्रधान तथा रक्षामन्त्री हुँदा पनि केही नगर्ने हो भने कहिले गर्ने भन्दै गुरु योजना लागु गर्न कम्तिमा ३ अर्व बजेटको आवश्यकता रहेको बताए ।

प्रदेश ३ पर्यटन संसदीय समितिका संयोजक सांसद कुसुमकुमार कार्कीले पर्यटन क्षेत्रलाई विकासको मेरुदण्ड बनाउनु पर्नेमा जोड दिदैं सबै व्यवसायमा प्रतिस्पर्धा भएपनि नेपालको पर्यटनमा प्रकृति नै हामीलाई मात्र दिएकोले कोहीसँग प्रतिष्पर्धा नै नहुने भन्दै बूढानीलकण्ठ क्षेत्र विकासको लागि स्थानीय र संघीय सरकारलाई आवश्यक सहयोग गर्ने बताए ।

पुर्व सांसद तथा परराष्ट्रविद् डा. राजन भट्टराईले खानेपानीको आवश्कतालाई पुरा गर्न  शिवपुरी जलाधार क्षेत्रको उपयोग गर्दै शिवपुरीमा पिकनिक स्थल बनाउन सकिने धारणा राखे । बूढानीलकण्ठ स्कूललाई नेपालकै उत्कृष्ट प्राविधिक शिक्षालय बनाउने सवालमा शिक्षामन्त्रीसँग छलफल गरिरहेको जानकारी समेत उनले दिए ।

बूढानीलकण्ठ क्षेत्रलाई हङकङको आईल्याण्डसँग तुलना गर्दै गुरुयोजना मार्फत बूढानीलकण्ठ क्षेत्रलाई नेपालकै लोकप्रिय पर्यटन हव बनाउन सकिनेमा जोड दिए । ठूला–ठूला योजनाको छलफलले जनताका अति आवश्यकीय क्षेत्रहरु बाटो र पानीका समस्याहरु ओझेलमा पर्न सक्ने भन्दै आफूले त्यसको लागि आवश्यक पहल गरिरहेको समेत बताए ।  बूढानीलकण्ठ क्षेत्रको समग्र विकासको लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता राख्दै आवश्यक सहयोगको लागि सधैँ तयार रहेको बताए ।

बूढानीलकण्ठ क्षेत्रका धेरै ठाउँहरुमा आफूले पैदल हिडेको स्मरण गर्दै बूढानीलकण्ठ क्षेत्र विकासको लागि स्थानीय र प्रदेश सरकारका योजनाहरु पूर्ण रुपमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्दै  क्याविनेटमा ईश्वर पोखरेल जस्तो मन्त्री हुनाले समेत गुरुयोजना लागु हुनेमा निश्चित जस्तै रहेको बताए ।

पर्यटक टिकाउने वातावरण नभएकोले पर्यटक आगमनले प्रदुषण निम्त्याउने भन्दै स्थानीय समृद्धीका लागि ठूला होटल, होमस्टे, पदयात्रा, वेद विद्याश्रम र बूढानीलकण्ठ स्कूललाई समेत समेटेर एकीकृत योजना बनाउन सुझाव दिए । विकासको लागि २ वर्ष धेरै ठूलो समय भएको बताउँदै २ वर्ष भित्रमा देखिने परिवर्तन गर्न स्थानीय सरकारले योजना बनाउनुपर्नेमा जोड दिए ।

२०५६ को पहिलो विजयपछि लगातार २ पटकको पराजयले पनि हुनसक्छ ईश्वर पोखरेल आफ्नो क्षेत्रको विकासप्रति यो पटक निकै संवेदनशील देखिएका छन् । विगतमा आफूलाई राष्ट्रीय स्तरको नेता भन्दै स्थानीय विषयमा कम ध्यान दिने पोखरेल सांसद र मन्त्री भएपछि समेत स्थानीय स्तरका साना–साना कार्यक्रम सहभागी भएर आफूलाई जनतावीच पुर्याईरहेका छन् ।

कार्यक्रममा पोखरेलले आफ्नो पुरा धारणा विकासमा केन्द्रीत गरे । समस्याको वर्णन गर्ने छुट अब कसैलाई छैन भन्दै हामी नै कार्यकारी स्थानमा भएकोले ढिला नगरी काम गर्नुपर्नेमा जोड दिए ।

आफ्नो मन्तव्यको क्रममा मन्त्री पोखरेलले ३ पटक भने सिमित स्वार्थ त्यागेर वृहत स्वार्थमा केन्द्रीत हुन सकियो भने आज मिति २०७५ साउन १९ गते तपाईहरुलाई साँची राखेर प्रतिज्ञा गर्छु, “एकीकृत योजनाको नेतृत्व मेयरले गर्नुस, कुसुम कार्की प्रदेशको पर्यटन प्रमुख हो, उहाँले सहयोग गर्नु नै हुन्छ । बूढानीलकण्ठ क्षेत्रको एकीकृत योजना बनाएर मेरो हातमा हाल्दिनुस् बजेटको जिम्मा मेरो भो । ३ अर्व होईन अझ बढी लागेपनि जुटाउने जिम्मा मेरो हो ।”  पोखरेलले नेपाली कांग्रेस लगायत अन्य पार्टीका साथीहरुलाई समेत विकासमा राजनीति होईन सहयोग गर्न अपिल गरेका थिए ।

मलाई लाग्यो ! स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा अत्याधिक बहुमत प्राप्त स्थायी सरकारका नीति तथा  निर्णयकर्ताहरु एकीकृत योजना साथ लाग्ने हो भने बूढानीलकण्ठ क्षेत्रको आमूल विकास कसरी सम्भव छैन ? बजेट माग्ने स्थानीय सरकार, सहयोग गर्ने प्रदेश पर्यटन प्रमुख र सम्पूर्ण बजेटको जिम्मा लिने केन्द्रीय मन्त्री भएपछि समृद्धिको यात्रालाई कसले रोक्न सक्छ ।

जिम्मेवार वक्ताका सबै धारणाहरु सार्वजनिक छन् । तपाईका प्रतिवद्धताहरु व्यवहारमा लागु हुनैपर्छ । जनता, जनप्रतिनिधिहरु र संचार जगतलाई साँची राखेर गरेका कसमहरू पुरा हुन सकुन् ।

आम नेपाली नागरिकको हैसियतले नेपालकै नमुना बूढानीलकण्ठ पर्यटकीय क्षेत्रमा ४ वर्षभित्र घुम्न पाउने अवसर पाईयोस् । मेरो शुभकामना तपाईहरुको चुनौति !

प्रतिक्रिया दिनुहोस्