प्राविधिकहरुको अन्तर्राष्टिय सम्मेलन काठमाडौँमा



१९ साउन २०७५, काठमाडौँ

विश्वका पछिल्ला प्रविधि र प्राविधिक उत्पादन र विकास निर्माणको शैलीप्रति अन्तर्राष्टिय तहमा अनुभव आदान प्रदान गर्न आगामी असोज १८ र १९ गते ‘इन्नोभेशन इन टिभिइटी फर सोसियो–इकोनोमिक डेभलपमेन्ट’ विषयक दुई दिवसीय अन्तर्राष्टिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।

डिप्लोमा इञ्जिनियर्स एशोसिएशन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आयोजनामा काठमाडौँमा हुने सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २० मुलुकका ५० जना विज्ञ तथा अन्य सहभागी गरी करीब ५०० जनाको सहभागिता रहनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सार्क डिप्लोमा इञ्जिनियर्स फोरम (एसडिइएफ)को सहकार्य रहने सम्मेलनमा विभिन्न मुलुकका सहभागीले अनुभव आदानप्रदानसहित २५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

डिनका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष कामेश्वरप्रसाद सिंहले सम्मेलनले प्राविधिक व्यावसायिक शिक्षाका क्षेत्रमा भइरहेको कार्यबारे छलफल गर्नाका साथै इञ्जिनियरिङ क्षेत्रका उत्कृष्ट उपलब्धिको अवलम्बन र सफल मोडलहरुको आदानप्रदान गर्ने बताए । उनका अनुसार यसले राष्ट्रिय, क्षेत्रीय मात्र नभई अन्तर्राष्टिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै गुणस्तरीय विकासका लागि सम्बन्ध विस्तार गर्नेछ ।

डिनका महासचिव जीवन घिमिरेले सम्मेलनले सामाजिक तथा आर्थिक क्षेत्रमा गुणस्तरीय विकासको मापदण्ड निर्माण गर्ने बताउँदै यस क्षेत्रमा रहेका नीतिगत अस्पष्टतार्लाइ न्यूनीकरण गरी निर्माणमा समस्या, अलमल र कमसल अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्