अध्यारोमा नेपालेडाँडा : १२ वर्षअघि पोल गाडियो अझै तार टाँगिएन



१५ साउन २०७५, काठमाडौं

बिजुलीको पोल गाडेको १२ वर्ष पुगिसक्दा पनि भोजपुर जिल्लाको उत्तरी भेग नेपालेडाँडामा अझै बत्ति पुगेको छैन। भोजपुर जिल्लाको षडानन्द नगरपालिका स्थित १ नम्बर वडामा पर्ने नेपालेडाँडामा बिजुलीको पोल गाडेको वर्षौ बितिसकेको छ तर बत्ति भने अझै पुगेको छैन ।

पहिलो सम्बिधानसभाको चुनाब अघि तत्कालिन जलस्रोत राज्यमन्त्री रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीको पहलमा उक्त बिजुलीको पोल पुर्याइएको भएता पनि त्यसलाई कार्की स्वयमले चुनावी मसलाको रुपमा प्रयोग गरेका थिए। केन्द्रिय प्रशारण लाइनसँग जोड्ने गरि लगिएको उक्त बिजुली मन्त्री कार्कीले चुनावमा विजयी गराई दिए मात्र पोल गाडेर बिजुली ल्याउने प्रतिक्रिया दिएका थिए।

एटम शर्मा

चुनाब अघि गाउमा बिजुलीको पोल पुर्याएका कार्कीले चुनाबमा तत्कालिन माओवादीका नेता पदम राइसँग पराजित भए पछि गाउमा खात लगाएर राखिएको उक्त पोल उनी जस्तै अलपत्र परेको थियो।

निर्वाचित भएर आएका राइले पनि आफ्नो कार्यकालमा कुनै विकासका काम नगरी दोस्रो संबिधानसभाको चुनाव आएको थियो। दोस्रो संबिधानसभाको चुनावमा फेरी चुनावी नारा र मसला बनेको थियो त्यहि बिजुलीको पोल।

पहिलो संबिधानसभाको चुनावमा पराजित भएसँगै आफ्नो निर्वाचन क्षेत्रमा नफर्केका कार्कीले दोस्रो संबिधानसभाको चुनाव हुने हल्ला चलेसँगै एकाएक पोल गाड्न लगाएका थिए। कार्कीकै पहलमा पोल गाडिएता पनि पोलमा तार भने टाँगीएन।

दोस्रो संबिधानसभाको चुनावमा एमालेका उमेद्वार कृपाशुर शेर्पासँग प्रतिस्पर्धा गर्ने हल्ला चलेका कार्कीले धर्मराज राईलाई प्रत्यक्षमा उठाउदै आफु समानुपातिकमा बसेका थिए। कार्कीले आफुले उक्त बिजुलीको पोल ल्याएर गाडेको र अब निर्वाचित भएर आएपछि मात्र तार टाँगेर बत्ती बाल्ने भन्दै कांग्रेस उमेद्वारहरुलाई निर्वाचित गराइदिन अनुरोध गरेका थिए। तर, राई शेर्पासँग पराजित भएका थिए भने कार्की समानुपातिक कोटाबाट सभासद बन्दै अर्थमन्त्री समेत बन्न सफल भएका थिए। आफु र आफ्नो पार्टीलाई चुनावमा जिताए मात्र बत्ती बालिदिने बताउने कार्की चुनाब सकिए पछि सभासद बन्दै अर्थमन्त्री बने पनि आफ्नो निर्वाचन क्षेत्र नफर्की राजधानी मै रहन थाले ।

दोस्रो संबिधानसभाको चुनावबाट निर्वाचित भएर गएका तत्कालिन एमाले नेता तथा सभासद कृपाशुर शेर्पाले पनि उक्त ठाउमा बिजुली बाल्नको निम्ति खासै पहल कदमी गरेनन्। करिव ६ महिना सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत बनेका शेर्पाबाट नेपालेडाँडाका बासिन्दाले ठुलो आसा राखेता पनि उनले त्यो आसा मन्त्रीको कार्यकाल भरि बुझ्न सकेनन्।

करिब ४ बर्ष सभासद बनेका शेर्पाले उक्त ठाउमा बत्तीको केन्द्रिय प्रशारण लग्न आफुले पहल गरेको भएता पनि स्थानीय नेताहरु एक अर्कामा मिल्न नसक्दा आफ्नो बत्ति बाल्ने योजना असफल भएको बताउछन्। नेपालेडाँडामा राजनीति गर्दै आएका तत्कालिन नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुको राजनैतिक लुछाचुडी र मानशिक भ्रमको कारण त्यहा अहिले सम्म केन्द्रिय प्रशारण लाइन जोड्न नसकिएको शेर्पाको आरोप रहेको छ ।

यतिबेला नेपालेडाँडामा गाडिएको बत्तीको पोलमा चराले गुँड लगाउन थालेको छ। उक्त पोलमा बर्षेनी चराले बच्चा हुर्काउने गर्दछ। कुनै चौर र घरको आगनमा लथालिङ्ग भएर लडिरहेको भेट्न सकिन्छ। मर्ने बेलामा भए पनि गाउमा बत्ति बलेको देखेर मर्न पाहिने भईयो भनेर खुशी बनेका धेरै बुढाबुढीहरुले त्यो खुशी लिन नपाउदै दिवंगत बनिसके। बत्तिको पोल गाडेर मुग्लान छिरेका युवाहरु मुग्लानबाट फर्किदा पनि गाउ अध्यारो नै देख्न विवश बने। आजकाल त केटाकेटीहरु पनि हाम्रो बुबाको बिहे गर्नु भन्दा अगाडी गाडेको पोल रे भन्दै हास्न थालेका छन्।

 

गाडिएको पोलमा पनि हात्तिपाइले अर्थात पोल स्टेन राखिएको छैन्। तत्कालिन नेपाली कांग्रेस नेपाले डाँडाका सभापति रामेश्वर भण्डारीले उक्त पोल ल्याउने र गाड्ने जिम्मा लिएका थिए। तर यतिखेर भण्डारी र स्थानीय बासिन्दा बीच विवाद सुरु भएको छ। १ वर्ष अगाडी भएको स्थानिय निर्वाचनबाट नेपाले डाँडाको वडा अध्यक्ष समेत बनेका भण्डारीले पोल गाड्दा आफुले प्रत्येक पोलमा स्टेन राखेको बताए पनि पोल गाड्ने काममा संलग्न स्थानियाहरु आफुहरुले कुनै पोलमा स्टेन नराखेको र काम गरुन्जेल स्टेन पनि नदेखेको बताउछन्।

स्थानीयहरुले श्रमदान अन्तर्गत करिव ३ घण्टा टाढा रहेको षडानन्द नगरपालिका स्थित दिंला बजारमा गएर उक्त पोल बोकेर ल्याएका थिए। उक्त पोल बोकेर ल्याउने कतिपयाले बत्ति बलेको त परे छाडौ पोलमा तार टाँगिएको समेत नदेखी परलोक भईसके। उक्त कामको जिम्मा लिएका भण्डारीले ठेकेदार भागेको कारण काम नभएको बताए पनि यतिको वर्ष वितिसक्दा समेत ठेकेदारलाई कुनै कारवाही गरिएको छैन।

आफु निर्वाचित भएसँगै आफ्नो वडा झलमल्ल बनाइसकेका अन्य वडा अध्याक्षसँगै कुम जोडाएर हिड्ने नेपाले डाँडाका वडा अध्यक्ष भण्डारीले विजुली बाल्न विशेष पहल गरिदिए नेपाले डाँडा बासीले अन्य कुनै काम खोज्ने थिएनन्। त्यो नै उनको निम्ति सबैभन्दा लोकप्रिय र प्रशंसकिया काम हुने थियो।

षडानन्द नगरपालिकाका मेयर वीरबल राईले पनि उक्त ठाउमा बत्ति बाल्ने योजना अनुसार केहि काम गरेका छैनन्। १२ बर्षअघि पोल गाडिएको र छिमेकी ५ नम्बर वडाको चीउरिबोटेसम्म बत्ति पुग्दा पनि नेपाले डाँडामा नपुर्याइनु र पुर्याउने पहल नगरिनुमा पनि मेयर राईले कुनै चासो नलिएको अनुमान गर्न खासै गाह्रो छैन।

यतिबेला संघिय र प्रदेशको चुनाव सकिएसँगै स्थानीय, प्रदेश र केन्द्रमा सरकार बनिसकेको छ। भोजपुरबाटै निर्वाचित शेरधन राई प्रदेश सरकारका मुख्यमन्त्री बनेका छन्। उनि मुख्यमन्त्री बनेको १ बर्ष वितिसक्दा पनि १२ बर्ष अगाडिबाट अलपत्र परेको उक्त योजनाको बारेमा कुनै चासो देखाएका छैनन्।

भोजपुर जिल्लाका सांसद सुदन किराती र प्रदेश (क) का सांसद राजेन्द्र कुमार राईले नेपाले डाँडामा केन्द्रीय प्रशारण जोड्न आफुहरुले माथिल्लो तहमा आवश्यक पहल गरिरहेको बताएता पनि त्यसको कुनै सकारात्मक असर पर्न थालेको अनुभव स्थानियाले लिन पाएका छैनन्। हेरौ अब कसको नजर पुग्ने हो अध्यारो नेपाले डाँडामा ?

यो पनि पढ्नुहोस:

एटम जी! दीपावली मनाउने तयारीमा बस्नुस्, दशैँ अघि नेपालेडाँडामा बत्ति बल्छ: बीरबल राई

जेष्ठ नागरिकहरुलाई नगरभित्र स्वास्थ्य सेवामा विशेष छुट दिलाउने छु : मेरिका राई

‘The Voice of Nepal’ मा छनौट भएसँगै भोजपुरका तेजिन्द्र गन्धर्ब चर्चाको शिखरमा (भिडियो सहित )

 

प्रतिक्रिया दिनुहोस्