सय घण्टा निरन्तर बोलेर विश्व कीर्तिमान राख्ने तयारीमा नुवाकोटका अनन्तराम (भिडियो सहित)



१५ साउन २०७५, काठमाडौं

आगामी भाद्र ११ गतेबाट निरन्तर कम्तिमा ९० घण्टा बोल्ने तथा स्वास्थ्यले साथ दिएमा १०० घण्टा बोल्ने तयारीमा छन् ,उनी । भन्छन्,‘ गत वर्षको गल्तीबाट पाठ सिक्दै यसपटक ९० घण्टा निरन्तर प्रवचन दिने लक्ष्य छ । स्वास्थ्यले साथ दियो र अनुकुलता भयो भने १०० घण्टा सम्म बोलेर रेकर्ड राख्ने योजनामा छु ।’

सानोमा डाक्टर बन्ने सपना बुनेका उनले नेपाली सेना अनि नेपाल प्रहरीमा आवद्व हुने प्रयत्न  नगरेका होइनन् ।न सेना न त प्रहरी कतै पनि स्थान नपाएपछि अन्ततः उनी शिक्षण पेशा अपनाउन पुगे र ९ वर्षसम्म प्रधानाध्यापकको भूमिकामा रहे ।

प्रधानाध्यापकको पदमा रहने इच्छा हराएपछि अध्यात्मतर्फ होमिएका ४६ वर्षीय अनन्तराम केसी अहिले लामो समय प्रवचन दिएर विश्व कीर्तिमान कायम गर्ने तयारीमा छन् ।नुवाकोटको शिवपुरी गाउँपालिकामा जन्मिएका अनन्तले नेपालका तत्कालिन ७५ जिल्ला र भारतका ६ प्रान्त गरी १२ हजार ५ सय किलोमिटरको पैदाल यात्रा समेत गरिसकेका छन् ।

शारिरिक रुपमा केही अशक्त भएपनि देशको नाम राख्न सकेका मानिसहरुबाट प्रेरित अनन्तराम ‘विश्वले सम्मान गर्नेछ नेपालीलाई’भन्ने मूल नाराका साथ निरन्तर अघि बढिरहेका छन् ।

नुवाकोटको भूमेदेवी उच्च मावीबाट औपचारिक अध्ययनको सुरुवात गरेका उनले स्याउले भूमीबाट २०४४ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।तत्पश्चात उनी अध्ययनका लागि काठमाण्डौ झरे । काठमाण्डौमा पनि उनको घर भएकाले यहाँको बसाई संघर्षपूर्ण रहने त कुरै भएन् ।

एसएलसीमा उक्त विद्यालयबाट उतीर्ण भएका तीन विद्यार्थीमध्ये अनन्तराम पनि एक थिए । तथापी त्रिचन्द्र कलेजमा विज्ञान विषय अध्ययनका लागि पर्याप्त नम्बर ल्याउन सकेनन् । अनि त उनको डाक्टर बन्ने बाल्यकालिन सपना अधुरै रहन गयो ।

स्कुल पढ्दा कक्षाको पहिलो हुने अनन्तराम त्यसपछि भने स्तानककोत्तरमा मात्र उत्कृष्ट नजिता ल्याउन सफल भए ।विज्ञान बिषयमा अध्ययन गर्न नपाउने भएपछि उनले रत्न राज्य क्यापसमा अंग्रेजी र अर्थशास्त्र विषयमा स्नातकसम्म अध्ययन गरे ।

उनकोे अर्को सपना पनि थियो सेनामा भर्ति हुने । तत्पश्तात सेनाको सेकेन्ड लेफ्टिनेन्ट र नेपाल प्रहरीमा पनि आवद्ध हुने प्रयत्न गरेका अनन्तरामको इच्छाले मूर्त रुप पाउन सकेन् । उनका अनुसार सायद, पिता राजनीतिज्ञ भएकाले उक्त अवसरबाट वञ्चित हुनुपर्यो ।

त्यसपछि भने उनी २०५२ सालमा आफ्नो औपचारिक शिक्षाको जग बसालेको भूमेदेवी उच्च मावीमा शिक्षक बने र २०५९ सम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहे ।

२०५५ सालमा एक बर्षे बिएड गरेका अनन्तरामले विद्यालय प्रशासनको कार्यमा सहजता पुग्छ भन्ने लागेर एल एल बी समेत गरे । त्यति बेलासम्म जिन्दगी ठिकठाक चल्दै थियो ।

जब उनले पिता गुमाए , द्दन्वको चपेटामा नागरिक पिल्सन थाले अनि राजा विरेन्द्रको हत्या भयो । उनलाई लाग्यो राजा पनि सुरक्षित छैनन् भने देशमा अरु कसको सुरक्षा हुन्छ र ?

त्यसपछि भने जीवनले फडक मोड लियो, उनी अध्यात्मतर्फ लम्किए ।९ वर्षसम्म खाएको प्रधानाध्यापकको जागिर त्यागे र अध्यात्मको चिन्तन मननमा व्यस्त हुन थाले अनन्तराम ।

अध्यात्म चिन्तनमा लागेका अनन्तरामले सन् २००५–००६ सम्म भारतमा योगा र प्राकृतिक चिकित्साको अध्ययन गरे ।

त्यस विचमा उनले नेपाल र भारतमा गरी योगाका विभिन्न किसिमका ट्रेनिङहरु समेत लिए । तत् पश्चात उनी व्यवसायिक ट्रेनरका रुपमा ट्रेनिङ सञ्चालन गर्नतर्फ लागे ।

अनन्तरामको डा. योगी विकासानन्द लगायतका विभिन्न योगीहरुसँग सम्पर्क बढ्यो । डा.योगी विकासानन्दसँग उनले लामो समयसम्म सहकार्य समेत गरेका छन् ।

अध्यात्म यात्रामा निस्किएका अनन्तरामले जमिनमुनी पुरिएर ९ दिनसम्म निरहार तपस्या गरेका छन् भने २१ दिन पानी मात्र पिएर जल उपवाश वसेका छन् ।

 

केही गरौँ भन्ने भावाना बोकेका एक समुहले विभिन्न किसिमको कीर्तिमान कायम गर्ने योजना बनाए । साथीहरुले फरक फरक कीर्तिमान राख्ने सुनाएपछि उनले पैदल विश्व भ्रमण गर्ने निर्णय गरे र सुरुवात भयो पैदल विश्व भ्रमण ।२०६३ फागुन १२ गते पैदल यात्रामा निस्किएका अनन्तरामले २०६५ जेठ २३ गते नेपालका ७५ वटै जिल्ला हिँडेरै यात्रा गरे ।

सिंगो नेपाल र भारतका ६ प्रान्त गरी १२ हजार ५ सय किलोमिटरको पैदल यात्रा गरेका अनन्तरामले निरन्तर भाषण गरेर किर्तिमान समेत राख्न थाले । नेपाल पैदल यात्राकै क्रममा उनले २०६५ वैशाख १५ गते इलाममा निरन्तर १३ घण्टा प्रवचन दिए । जुन प्रवचनमा आध्यात्म र भ्रमण विस्तार गरेका थिए ।

त्यस्तै अनन्तरामले २०६६ हेटौडामा निरन्तर ३६ घण्टा ३६ मिनेट बोलेर अर्को किर्तिमान कायम गरे ।त्यसै क्रममा उनले २०५७ फागुन ८–११ सम्म हेटौँडामा ६३ घण्टा प्रवचन दिएका थिए । उक्त प्रवचनमा भने उनले विश्राम पनि लिएका थिए ।

नेपाल यात्राको क्रममा उनले मनको शक्तिको प्रयोग गरेका थिए । उनले भने,‘ नेपाल यात्रा गर्दा मैले मनको शक्तिको प्रयोग गरेको थिएँ । मनले चाहेपछि आफू र वातावरण परिवर्तन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुथियो । मनले चाहेपछि वातावरण अनुकुल बन्दै गयो र पैदल यात्रा सम्भव भयो ।

नेपाल यात्राका दौरान कतिपय उल्टो प्रयोग गरियो । उक्त टोलीमा हामी पाँच जना थियौँ । भ्रमणको क्रममा मनाङबाट जोमसोम जानुपर्नेमा हामीले जोमसोङबाट मनाङको यात्रा गर्‍यौं । त्यस्तै हिमालको यात्रा बिहान गर्नुपर्छ तर हामीले दिउसो गर्‍यौं र त्यो सम्भव पनि भयो । अनि हिमाल चढ्दा टन्न खाएर चढ्नुपर्छ तर हामीले भोकै हिमाल चढ्यौँ ।

अनि महत्वपूर्ण कुरा अक्सिजन विना नै हिमाल चढ्यौँ । कतिपय स्थानजमा त साथीलाई बोकेर पनि चढेँ भने कतिपय ठाउँमा साथीहरुको झोला बोकेर ।मनले चाहेपछि जे पनि गर्न सकिन्छ भन्ने प्रमाणित गरियो । हामीले उल्टो यात्रा गरेको देख्दा कतिपयले बाँच्दैनौ, यस्तो सम्भव हुन सक्दैन भने । तथापी हामीले उल्टै यात्रा गर्‍यौं। ‘

तत्पश्चात उनी २०६५ चैत्र २९ गतेबाट ०६६ असोज १० गतेसम्म छिमेकी मूलुक भारतको ६ वटा प्रान्तको पैदल भ्रमणमा तल्लिन भए ।

उनले भारत यात्रा स्मरण गर्दै भने, ‘ छाला कति गइसकेको थियो त्यसको पत्तो छैन, गोडाबाट रगतको धारा लाग्दा समेत ८ किलोमिटरको यात्रा गरियो ।’

केही कीर्तिमान कायम गरेका अनन्तरामलाई एक विषयमा स्नातककोत्तर अध्ययन गर्ने इच्छा भयो । त्यतिबेलासम्म मिडियामा चर्चा हुन थालेको थियो भने पत्रकारहरुसँग हिमचिम बढीसकेको अनन्तरामको ।

पत्रकारिता नगरेपनि पढ्ने इच्छा भएपछि अनन्तरामले सन् २०१० मा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको सिजेएमसी कलेजबाट स्नातककोत्तर उत्तीर्ण गरे ।

‘विश्व भ्रमणका लागि निस्किएको हुँ , भ्रमण टुंगिएको छैन् विश्राम पाएको मात्रै हो , उनले भने । ‘ मेरो परिवार पनि छ, मेरो दुई छोरी छन्, तिनकोे जिम्मेवारी वोध गर्दै उज्वल भविष्यका लागि यात्रा विश्राम लिएको मात्रै हो । कुनै दिन विश्व भ्रमण पूरा गर्नेछु’ ।

उता निरन्तर बोलेर नेपाल किर्तिमान कायम गरिसकेका अनन्तरामलाई विश्वमा पनि रेकर्ड कायम गर्ने इच्छा पलायो । तत्पश्चात २०७४ असोज १९–२२ सम्म गिनिज वल्र्ड रेकर्डको नियम अनुसार ८० घण्टा निरन्तर प्रवचन दिए । तथापी उनले राखेको त्यो रेकर्ड प्रमाणीकरण भएन । उक्त रेकर्डका लागि आवश्यक प्रमाण जुटाउन असफल भएपछि उनी अव नयाँ रेकर्ड राख्ने लक्ष्यका साथ अघि बढेका छन् ।

आगामी भाद्र ११ गतेबाट निरन्तर कम्तिमा ९० घण्टा बोल्ने तथा स्वास्थ्यले साथ दिएमा १०० घण्टा बोल्ने तयारीमा छन् ,उनी । भन्छन्,‘ गत वर्षको गल्तीबाट पाठ सिक्दै यसपटक ९० घण्टा निरन्तर प्रवचन दिने लक्ष्य छ । स्वास्थ्यले साथ दियो र अनुकुलता भयो भने १०० घण्टा सम्म बोलेर रेकर्ड राख्ने योजनामा छु ।’

जसका लागि तयारी तीव्र पारिएको र विभिन्न व्यक्तिहरुले आर्थिक सहयोगको घोषणा गरेको उनले बताए ।हाल २०७३ बाट माइन्ड एण्ड मेमोरी पावर ट्रेनिङ सेन्टर खोलेर प्रशिक्षण गराइरहेका अनन्तले स्मृती विज्ञान र सफलता सुत्र नामक दुई पुस्तक समेत प्रकाशन गरेका छन् ।

अव भने अनन्तराम समाज,देश बदल्नका लागि युवाहरुसँग मिलेर प्रतिभा क्रान्ति गर्ने योजनामा पनि छन् ।युवाहरुको मनको शक्ति (मनोशक्ति)लाई जितेपछि मात्र प्रतिभा क्रान्ति गर्न सकिने उनको बुझाई छ ।

उनले भने, ‘हामी देश समृद्ध भएन भन्छौ, त्यसका लागि युवाहरुको मनोशक्ति बलियो बनाउनुपर्छ । त्यसपछि प्रतिभा क्रान्ति हुन्छ । हामीले आफूलाई जितेपछि जस्तो पनि काम पनि गर्न सक्छौँ । नयाँ नयाँ कीर्तिमान राख्दै गएपछि देश आफैँ समृद्ध बन्दै जान्छ । ’

यो पनि पढ्नुहोस्

सय घण्टासम्म लगातार भाषण गरेर विश्व कीर्तिमान कायम गर्ने तयारीमा अनन्तराम

प्रतिक्रिया दिनुहोस्