जोडिँदै जोगबनी–किमाथांका



१४ साउन २०७५, संखुवासभा

१४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी–किमाथांका मार्ग जोडिँदै छ । चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ । संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै आर्थिक वर्ष भित्र सक्ने घोषणा गरिसकेको छ ।

स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले पनि उच्च महत्त्व दिएको यो सडक बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्ने सरोकारवालाको बुझाइ छ । प्रदेश १ को मात्र होइन, मुलुककै समृद्धिमा महत्त्वपूर्ण मानिएको योजना हो, रानी–किमाथांका मार्ग ।

त्रिदेशीय व्यापारिक महत्त्वको यो सडक मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ । दक्षिणी नाकालाई उत्तरी नाकासँग जोड्न करिब ३ सय ४० किलोमिटर सडकमध्ये अब १४ किलोमिटर ट्रयाक खोल्न मात्र बाँकी छ ।

मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको सीमावर्ती गाउँसम्म सडक पुर्‍याउने लक्ष्य छ । संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ । अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर रियुमा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि चीन र भारतको व्यापारिक ‘ट्रान्जिट’ बन्नेछ नेपाल ।

सडक निर्माणले नेपालको व्यापार विस्तार मात्र हुनेछैन, उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन् । किमाथांकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने उद्योगीले बताउँदै आएका छन् । किमाथांका नाकाबाट चीनको व्यापारिक सहर सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ ।

किमाथांका सडकका कारण नेपालबाहेक अरू चार मुलुकसमेत प्रत्यक्ष/अप्रत्यक्ष जोडिन सक्नेछन् । अर्थशास्त्री प्राडा. पीके झा किमाथांका सडक बनेपछि विराटनगर चीन, भारत, भुटान र बंगलादेशबीच जोडिन सक्ने सम्भावना औंल्याउँछन् । ‘यो सम्भावनालाई साकार पार्न दलहरूले प्रयास केन्द्रित गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसका लागि योजनाबद्ध र दीर्घकालीन गुरुयोजनाअनुसार काम गर्नु आवश्यक छ ।’

यो मार्गको दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकाता नजिक पर्ने भएकाले पनि व्यापारिक महत्त्व बढ्नेछ । किमाथांका सडक निर्माणमा जोड दिँदै आएका उद्योगी–व्यवसायीले हालै त्यस क्षेत्रको अवलोकन भ्रमण गरे । उद्योग संगठनको अगुवाइमा गएको टोलीले निर्माणमा संलग्न प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलगायतसँग भेटेर सडकको अवस्थाबारे जानकारी लिएका छन् ।

‘कुनै पनि नयाँ नाका जोडिनु हाम्रा लागि फाइदाजनक हो,’ मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा भन्छन्, ‘नाका खुलेपछि प्रदेश १ को मात्र होइन, सिंगो मुलुककै लागि यो सडक कोसेढुंगा बन्नेछ ।’ ट्रयाक खुलेर चीनको नाकासँग जोडिनासाथ व्यापारिक सम्भावनाका क्षेत्रबारे अध्ययन गर्ने तयारी भइरहेको उनले बताए ।

उक्त नाकाबाट ठूला उद्योका लागि कच्चापदार्थ ल्याउन सकिने र जडीबुटीलगायत स्थानीय वस्तु निर्यात गर्न सकिने सारडाको भनाइ छ । ‘ट्रयाक खुलेपछि साना सवारीसाधन सञ्चालन भएर दुई देशका नागरिकबीचको सम्बन्ध प्रगाढ हुनेछ,’ उनी भन्छन्, ‘व्यवस्थित हुन केही समय लाग्ला तर त्यसअघि व्यापारिक सम्भावनाको क्षेत्रबारे हामी सरकारसँग सल्लाह गर्नेर्छौं ।’

दुई धनी र विकसित मुलुक यो सडकमार्गबाट जोडिने भएकाले नेपालले पनि यसबाट फाइदा लिन सक्ने धेरै सम्भावना भएको उनको बुझाइ छ । संघीय सरकारले यो योजनालाई प्राथमिकतामा राख्दै आएको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले किमाथांका–रानी सडकको मुख्य काम यसै वर्षभित्र सकिने उल्लेख गरेका थिए ।

पछिल्लो पटक संखुवासभा सदरमुकाम खाँदबारीबाट १ सय ३३ किलोमिटर कच्ची सडक बनिसकेको छ । अब करिब १४ किलोमिटर सडक खोलिसक्दा किमाथांका जोडिन्छ । खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोडिसकेको छ ।

उत्तर–दक्षिण कोसी सडक योजनाका प्रमुख पशुपति ज्ञवालीका अनुसार ट्रयाक खोल्न बाँकी स्थानमा चट्टान र पहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गरी खोल्नुपर्ने अवस्था छ । चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा विस्फोट प्रयोग गरी १४ किलोमिटर छिचोलेपछि रानीदेखि किमाथांका स्थलमार्गबाट जोडिन्छ । ‘विस्फोटक पदार्थ खरिद गर्न प्रक्रिया अघि बढाइसकेका छौं,’ ज्ञवाली भन्छन्, ‘सकेसम्म चाँडो सडक जोड्ने लक्ष्य छ ।’

योजना कार्यालयका अनुसार सडक बनिसकेकाले हिँउदमा खाँदबारीबाट हटियासम्म यातायातका साधन चल्न सक्छन् । यो सडकको माथिल्लो खण्डमा स्वच्छन्द, याक्थुम्हाङ र पुष्पाञ्जली जेभी कम्पनीले काम गरिरहेका छन् ।

यस्तै ट्रयाक खोल्ने काममा हटिया–चेपुवा खण्डमा गजुरमुखी, मोतीदान, गीताञ्जली जेभी र कञ्चनजंघा जेभीले काम गरिरहेका छन् । किमाथांकातर्फबाट पनि ट्रयाक खोल्ने काम भइरहेको छ । १ सय ६२ किलोमिटर दूरीको खाँदबारी–किमाथांका सडकको उत्तरतर्फबाट १४ किलोमिटर सडक बनिसकेको योजना कार्यालयले जनाएको छ ।

बीचबीचमा रेखांकन विवाद र धार्मिकस्थल भएकाले विवाद देखिए पनि योजनाका तर्फबाट त्यसलाई समाधान गरी निर्माणको काम अघि बढाइएको ज्ञवालीले बताए । खाँदबारी र संखुवासभाबीचको चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माण भएपछि किमाथांका पुगिने उल्लेख गर्दै उनले तीव्र गतिमा काम गरेर यसै वर्ष किमाथांका जोड्ने प्रयास भइरहेको जानकारी दिए ।

चीन सीमासम्म सडक जोडिन लागेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधि पनि उत्साहित छन् । भोटखोला गाउँपालिका–३ का वडाध्यक्ष आन्दी भोटेले हटियासम्म सडक पुगेपछि सुविधा भएको बताए । ‘अब खाँदबारी–किमाथांका जोडिन लागेको छ,’ उनी उत्साहित देखिए, ‘यसले हामीलाई धेरै फाइदा हुने विश्वास छ ।’

स्रोत: नमस्ते संखुवासभा

प्रतिक्रिया दिनुहोस्