बजेट कार्यान्वयनमा अलिकति पनि ढिला नगरौं :- मुख्यमन्त्री राई



१४ साउन २०७५, विराटनगर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले सबै विभागीय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले भने ‘हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ, अब कार्यान्वयन पक्ष कस्तो हुन्छ भनेर सबैको ध्यान केन्दि्त भएको छ, त्यसैले बजेटको प्रभावकारी कार्यान्वयनमा तपाईहरु आजैबाट लाग्नुहोस् ।’

यदि यो बजेट कार्यान्वयनमा सफल हुन नसकेमा नागरिकका सपना पूरा नहुने र समृद्धिको यात्रा अगाडि नबढ्ने मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले बजेट कार्यान्वयनमा अलिकति पनि ढिला नगर्न निर्देशन दिए । ‘बजेट कार्यान्वयनमा केही चुनौती र समस्याहरु छन्, तर चुनौती र समस्या छन् भनेर चुप लागेर बस्नु हुँदैन’, राईले भने ‘समयमै प्रदेश सरकार समक्ष हस्तान्तरण हुनु पर्ने संरचनाहरु संघीय सरकारले अहिलेसम्म हस्तान्तरण गरेको छैन ।, यसको बारेमा हामीले संघीय सरकारसँग बारम्बार संवाद गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्