प्रवासी नेपाली मञ्च युएईको तीज विशेष सांस्कृतिक कार्यक्रम



१३ साउन २०७५, युएई

प्रवासी नेपाली मञ्च युएईले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विदेशमा रहेर पनि नेपाली संस्कृति पर्व र रितिरिवाजलाई मनाउने मात्रै नभएर हप्ताभरिको कामको थकानलाई मेटाउँदै साथिभाई आफन्तहरुको भेटघाट र रमाइलोको अवसर समेत जुटाउने यस्ता कार्यक्रम युएईका विभिन्न शहरमा आजभोलि बाक्लै हुन थालेका छन् ।

प्रवासी नेपाली मञ्चले पनि यसैलाई निरन्तरता दिदै उठेको सहयोग रकम समस्यामा परेका नेपालीहरुका लागि सहयोग प्रदान गर्ने उद्देश्य रहेको मञ्चका महासचिव तथा कार्यक्रम आयोजक कमिटीका संयोजक भेषराज ढकालले बताए । गत वर्ष आयोजित कार्यक्रमबाट संकलित रकम पिडित महिलालाई नेपाल फर्काउन टिकट व्यवस्था गर्ने देखि मृत्युदण्ड सजाय पाएका टोपबहादुर विकको ब्लडमनी जुटाउन सम्म सहयोग गरेको थियो । यसपाली पनि त्यस्तै भैपरी आउने समस्यामा धेरथोर सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको संयोजक ढकालले जानकारी दिए ।

अगष्ट १० तारिखका दिन अबुधाबी बस स्टेशन नजिकैको फल्क्लोर थिएटरमा हुने कार्यक्रममा नेपाल बाट बहुचर्चित गायिका सम्झना भण्डारी, गायक बैकुण्ठ महत र हाँस्यकलाकार तथा कार्यक्रम प्रस्तोता पुरुषोत्तम भण्डारी पुर्खे बा लगायत युएईमा रहेर नेपाली गीतसंगीतमा पनि सक्रिय रहँदै आएका कलाकारहरुको प्रस्तुति रहेको छ भने पत्रकार तथा साहित्यकार जे सागरले कार्यक्रम होस्ट गर्नेछन  । दर्शकहरुलाई सहजताको लागि कार्यक्रम स्थलमा आउन जान निशुल्क यातायातको व्यवस्थाका साथै अलहलिया अस्पतालसँगको सहकार्यमा निशुल्क मेडिकल क्याम्प पनि राखिने कुरा आयोजकले जानकारी गराए । नमस्ते ट्राभल्स र नेपाली चुलो रेस्टुरेन्ट कार्यक्रमका मुख्य प्रायोजक रहेका छन ।

प्रवासी नेपाली मञ्चकै दुबई राज्य कमिटीले पनि अगष्ट ३१ मा दुबईमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । नेपालबाट रोइला किंग भनेर चिनिने लोकप्रिय गायक शिरीष देवकोटा, चर्चित गायिका सिन्धु मल्ल, गायिका गंगा गौतम सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । क्लब एभरेस्ट एस्टोरिया होटलमा आयोजित कार्यक्रमको सञ्चालन पत्रकार सुवाष शर्माले गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्