कार र मोटरसाइकलको लाइसेन्स आवेदन खुल्यो



१० साउन २०७५, काठमाडौं

जेठ अन्तिमदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया आगामी आइतबारदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले साउन १३ गतेदेखि नयाँ लाइसेन्सको आवेन खोल्ने निर्णय भएको प्रवक्ता तुलसीराम अर्यालले बताएका छन् ।

देशैभरी साउन १३ गते आइतबारबाट आवेदन खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभाग निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए । विभागले गत जेठ अन्तिम सातादेखि आवेदन बन्द गरेको थियो । राजस्व संकलन, मिलान, बाँकी रहेको रिट्रायल ब्याक लक सक्ने भन्दै विभागले आवेदन बन्द गराएको थियो ।

विभागका अनुसार ए, के र बी क्याटेगोरीका सवारी साधनका लागि आवेदन दिन सकिने छ । ए (मोटरसाइकल), के (स्कुटर) र बी (जीप र कार) का लागि आवेदन दिन सकिने छ । विभागले अहिले अनलाईन आवेदन अनिवार्य गरिसकेको छ ।

देशैभरबाट परम्परागत लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स कार्यान्वयनमा ल्याइएपनि लाइसेन्स पाउन ९/१० महिना कुर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन । करिव चार लाखले सवारीचालक अनुमतीपत्र (लाइसेन्स) को ट्रायल परिक्षा पास गरेपनि लाइसेन्स पाउन सकेका छैनन् । स्मार्ट कार्ड कार्यान्वयनमा ल्याउनु अघि गर्नुपर्ने तयारी नहुँदा यस्तो अवस्था आएको हो ।

कार्ड र प्रिन्टर ल्याउने जिम्मा पाएको मन्द्रास प्रिन्टर्सका कारण समस्या भएको विभागको भनाई छ । करिव साढे तीन लाख कार्ड ल्याएपनि सँगै ल्याएको मेसिनमा समस्या देखिएपछि लाइसेन्स छाप्न नसकिएको हो । कम्पनीले इण्डियामै मेसिन चेक गरेर नल्याएका कारण समस्या भएको निर्देशक अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार कम्पनीबाट दुई तीन पटक प्राविधिक आएपनि समस्या हल हुन सकेको छैन । दुई महिनादेखि नयाँ ल्याइएका प्रिन्टरहरु त्यसै थन्किएर बसेका छन् । अहिले विभागमा चारवटा पुराना मेसिनबाट काम भैरहेको छ । दैनिक ५ हजार लाइसेन्सको माग भएपनि अहिले बल्ल २ हजार छापिने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्