विश्व हेलिकोप्टर प्रतियोगिता शुरु



०९ साउन २०७५, बेलारुस

बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ ।

मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६ औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ ।

यहाँ सबैभन्दा धेरै पाइलटको समूह रुसले पठाएको छ । रुसबाट १३ जना हेलिकोप्टर पाइलट र चालक दलका सदस्य रहेका छन् ।

आयोजकका अनुसार सो प्रतियोगितामा बेलारुस, पोल्याण्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ । यसक्रमा उडानका विभिन्न कला, नाविक विधा, विभिन्न खालका उडान र सुरक्षित अवतरणजस्ता सीपको बारेमा प्रतिस्पर्धा हुनेछ ।

यो प्रतिस्पर्धा सकिएपछि यही जुलाई २८ देखि २९ सम्म प्रतिस्पर्धास्वरुप वार्षिक उडान महोत्सव पनि आयोजना गरिएको छ । यस महोत्सवमा बेलुन र साना उडानको पनि प्रतिस्पर्धा गरिने छ । यस्तो प्रतिस्पर्धा हरेक वर्ष आयोजना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्