सुगममा ९ बैंक, दुर्गममा शुन्य



०८ साउन २०७५, संखुवासभा

बाणिज्य बैंकले शहरी क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाउँदा दुर्गम स्थानीय तहसम्म बाणिज्य बैंकको सुबिधा पुर्याउने सरकारी लक्ष्य, लक्ष्यमै सिमित हुने देखिएको छ । ५ गाउँपालिका र ५ नगरपालिका गरी १० स्थानीय तह समेटिएको संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिकामा ९ वटा बैंक छन् । यता संखुवासभाको दोस्रो विकसित बजारका रुपमा रहेको यता चैनपुर नगरपालिकामा ५ वटा बैंक स्थापना भईसकेका छन् । पाँचखपन नगरपालिकामा एक महिना अघि नेपाल बंगलादेश बैंकले शाखा सञ्चालन गरिसकेको छ भने धर्मदेवी नगरपालिकामा पनि एसविआई बैंकले शाखा सञ्चालन गरी कारोबार गरिरहेको छ । यता मकालु गाउँपालिकामा पनि सिद्धार्थ बैंकले शाखा सञ्चालन गरिसकेको छ ।

तर जिल्लाको दश स्थानीय तह मध्ये सबै हिसावले अलिकता सुगम मानिएका स्थानीय तहमा मात्र बैंक पुग्दा दुर्गम मानिने ५ स्थानीय तह भने बैंक बिहीन रहेका छन् । यातायात र भौगोलिक रुपमा दुर्गम मानिएका स्थानीय तहमा बैंकले शाखा बिस्तार नगरी सुगम स्थानमा थुप्रो लाग्दा दुर्गमका स्थानीयहरुले आर्थिक कारोबार र योजनाको खाता सञ्चालनका लागि सदरमुकाम धाउनु पर्ने स्थिति फेरिएको छैन ।

यस अघि नेपाल राष्ट्र बैंकले असार मसान्त सम्ममा प्रत्येक स्थानीय तहमा बैंकको शाखा स्थापना गरिसक्नु पर्ने भनेपनि सङ्खुवासभाका पाँच स्थानीय तहमा अझै बैंकको शाखा खुलेको छ्रैन ।

सङ्खुवासभाको दुर्गम मानिने भोटखोला, चिचिला, सिलिचोङ, सभापोखरी गाउँपालिका र मादी नगरपालिकामा बैंक सञ्चालन हुन सकेको छैन । जिल्लाको सवैभन्दा दुर्गम मानिने भोटखोलामा ग्लोबल आईएम्ई बैंकले शाखा सञ्चालन गर्ने भनिए पनि अझै बैंक सञ्चालनको तयारी समेत भएको छैन । बैंक सञ्चालनको लागि पक्की भवन आवश्यक पर्ने भएकाले आवश्यकता अनुसारको भवन नपाउँदा बैंक सञ्चालन गर्न ढिलो भएको बैंक स्रोत बताउछ ।

यता चिचिला गाउँपालिकामा केही समयदेखि बैंक सञ्चालनको लागि तयारी गरिए पनि अझै बैंक सञ्चालन हुन सकेको छैन । बैंकको लागि दुई महिना अघि नै भवन उपलब्ध गराईएको भएपनि अहिलेसम्म बैंकको शाखा सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिए । बैंक सञ्चालन गर्नको लागि केही सामाग्रीहरु आईनसकेकोले अहिलेसम्म बैंकको शाखा सञ्चालन गर्न नसकेको बैंकका प्रतिनिधिहरुले बताउने गरेको शेर्पाले बताए ।

यस्तै सिलिचोङ गाउँपालिकामा पनि बैंक खुल्न सकेको छैन । सिलिचोङमा पक्की भवन प्राप्त भएपनि बैंक राख्ने संरचना भइ नसकेकोले असार मसान्त भित्र शाखा सञ्चालन गर्न नसकिएको बताईएको छ । आवश्यक सामग्री ढुवानी गर्न यातायातको पनि समस्या रहेकाले शाखा सञ्चालनमा ढिलो हुन गएको बैंकका अधिकारीहरुले बताउने गरेको गाउँपालिका प्रमुख रामबहादुर कुलुङले बताए । उता सभापोखरी गाउँपालिकामा प्राईम बैंकले शाखा स्थापना गर्ने भनिए पनि भल्ट (पैसा राख्ने दराज) आई नपुगेको भन्दै शाखा सञ्चालन गर्न सकिएको छैन । बैंकको अन्य तयारी सकिएको र उक्त भल्ट आईपुगेलगत्तै शाखाबाट कारोवार सुरु गरिने बताईएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको मादी नगरपालिका पनि बैंक पहुँज भन्दा बाहिर रहेको छ । केहि समय अगाडी बैंक अफ काठमाण्डुले शाखा बिस्तार गर्ने बताए पनि उक्त कुरा हल्लामा सिमित बन्यो । जिल्लाको अन्य ५ नगरपालिकामा बैंक भएतापनि मादी नगरपालिकाको बैंकिङ्ग कारोबार चैनपुरबाट गर्नुपर्ने बाध्यता रहेको छ । अब भने मादी नगरपालिकामा हिमालयन बैंकले शाखा सञ्चालन गर्ने भएको छ । यसका लागि प्राप्त भएको भवनमा संरचना तयार भईरहेको मेयर विदुर लिङ्थेपले बताए ।

प्रतिक्रिया दिनुहोस्