दुई सातादेखि फोहर व्यवस्थापन नहुँदा काठमाडौं दुर्गन्धित



०४ साउन २०७५, काठमाडौं

काठमाण्डौ महनगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा समय समयमा चोक, गल्ली, सडकमा फोहोरको डंगुर देखिन्छ ।

यस्तै विगत दुई साता देखि फोहर व्यवस्थापन हुन नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएका छन् । गर्मी समयमा फेैलिएको दुर्गन्धका कारण विभिन्न रोगको संक्रमण बढ्ने देखिएकोे छ ।

नयाँ वानेश्वर, पुरानो वानेश्वर, वत्तिसपूतली, बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायतका विभिन्न स्थानमा घरबाट निस्कने दैनिक फोहोरको डंगुर देखिन्छ ।

चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवा, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई खपिनसक्नु भएको छ ।

चिकित्सकका अनुसार फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्छ ।

महानगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको सिसडोल र त्यस आसपासका क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि समस्या उत्पन्न भएको बताइएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले सडकमा संकलन भएका फोहरलाई छिटो व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिँदै सर्वसाधारण नागरिकले घरबाट निस्कने फोहरलाई अहिले सडकमा जथाभावी नफ्याल्न आग्रह गरेका छन् ।

मेयर शाक्यले एक कार्यक्रममा भने, ‘दुई-चार दिन घरको फोहोर घरमै व्यवस्थापन गरिदिनुहोस् भनेको झन् हामीलाई गाली गर्न सडकमा थुप्रो लगाइएको छ।’

महानगरका अनुसार काठमाडौंमा मात्र दैनिक करीब ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेकोे छ । जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता विषयमा उचित कदम चाल्न नसक्नु महानगरको लापर्वाही हो । यस्ता विषयमा गम्भिर बन्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्