डाक्टर सर्वाेत्तम श्रेष्ठको चीनियाँ मोह (भिडियो सहित)



३२ असार २०७५, काठमाडौं

डाक्टर बन्नुपर्छ भने सोचाइ र पारिवारिक अपेक्षाका कारण पाटनमा जन्मिएका ५२ वर्षीय डाक्टर सर्वोत्तम श्रेष्ठ आइएस्सी पश्चात मेडिकल अध्ययनका लागि छात्रवृत्तिमा २०५६ सालमा चीन प्रस्थान गरे ।

प्रावी तह ल्याब्रोटरीमा अध्ययन गरेका श्रेष्ठले  सिदार्थ वनस्थलीबाट आइएस्सी उतीर्ण गरेपछि उनमा पनि अरु विद्यार्थी झैं वैदेशिक अध्ययनको मोह बढ्यो । नेपालबाट प्रायः विद्यार्थीहरु अध्ययनका लागि  युरोप अमेरिका जाने भएपनि उनले भने छिमेकी मूलक चीन रोजे ।

नेपालबाट अध्ययनका लागि मेडिकल र इन्जिनियरिङका गरी चीन पुगेका १७ जनाले सुरुवातमा एक वर्षे चीनियाँ भाषाको अध्ययन गरे ।

उनी भन्छन्,‘चीनको भाषा गाह्रो छ भन्ने थाहा भएता पनि हामीभन्दा अघि चीन गएकाहरुले पनि त पढेका थिए, त्यसैले अध्ययन गर्न सकिन्छ जस्तो लाग्यो ।’

उनको बुझाईमा सामान्य बोलीचालीका लागि चीनियाँ भाषा त्यति गाह्रो छैन तर अध्ययनका लागि भने केही असहज छ ।

२०५७ सालबाट तत्कालिन हुवे मेडिकल कलेजमा अध्ययन गरेका श्रेष्ठले हालको हुआन मेडिकल कलेजबाट ग्राजुएट गरे ।

उनी सम्झिन्छन्, ‘चीनियाँ भाषा पढुन्जेल सबै जान विदेशी भएकाले रुाम्रो अंक ल्याइयो । पछि चिनीया विद्यार्थीसँग पढ्दा भने गाह्रै भयो ।’ अध्ययनका लागि उनी ९ वर्ष चीनमा बसे ।

अझै रमाइलो पक्ष के छ भने चीन जानु अगावै पढाईमा राम्रो विद्यार्थी भएकाले माया प्रेमको चक्करमा नपरेका श्रेष्ठ चीन बसाईमा प्रेममा परे ।

चीनियाँ युवती उनीसँग अंग्रेजी भाषा सिक्न आउने क्रममा माया बस्यो । उनी भन्छन्,‘दुई फरक शहरमा रहेकाले चिठ्ठी आदानप्रदान हुन्थ्यो, एक हप्ता अघि पठाएको  चिठ्ठी अको हप्ता मात्रै  हेर्न पाइन्थ्यो । दुई शहरबाट काठमाण्डौ आएपछि विवाह गरियो । विवाह भएको २२ वर्ष भइसकेकाले श्रीमतीलाई सामान्य नेपाली बोल्न असहज नभएको उनले बताए ।

श्रेष्ठ चीनमा अध्ययन सकेर नेपाल फर्किए पछि  वीर अस्पतालमा एक वर्ष भोलेन्टियरको रुपमा कार्यरत रहे ।

उनी सम्झन्छन्, ‘नेपालका अस्पतालमा न्यूरोलोजीको विकास भएको थिएन । वीर अस्पतालमा एउटा यूनिट थियो त्यसैमा एक वर्र्ष  भोलेन्टियरको रुपमा रहेँ । त्यसपछि निजीमा प्राक्टिस गरिरहेको छु ।’

उनी चीन र नेपालको स्वास्थ्य क्षेत्रको कार्यशैलीमा निकै अन्तर देख्छन्, ‘भन्छन्  सोचाइ, व्यवस्थापनमा फरक छ, हामी रिसर्च, अध्ययनमा खासै रुची देखाउदैनौँ । उनीहरुले काम गरेपछि पनि अध्ययन र रिसर्चका लागि छुट्टै व्यवस्था गरेका छन् ।’

श्रेष्ठ विगत ६ वर्ष देखि नेपाल र चीनको व्यक्ति तथा संस्थाको सम्बन्ध आदानप्रदान गर्ने संस्था अरनीको समाजका अध्यक्ष समेत हुन् । उक्त संस्थाले ६ वर्षमा ८०,९० जना डक्टरको टोलीबाट ८० पटक मेडिकल शिविर सञ्चालन गरेको छ ।

यस्तै समय समयमा चीनियाँ विज्ञलाई ल्याएर प्रवचन दिनुका साथै यस वर्ष मात्रै ६ पटक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । साथै विभिन्न टिभी सिरियल बनाउनुका साथै डकुमेन्ट्रीको भाषा परिवर्तन गरिएको उनको भनाई छ ।

उनले घरमा ३००० थान चीनियाँ किताब सजाएर राखेका छन् । भविष्यमा आवश्यक पर्छ भनेर उनले चीन बसाईको क्रममा नै उक्त किताब संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्