धार्मिक परम्परा भन्दै गोठमा सुत्केरी गराउने तथा राख्ने चलन



०७ असार २०७५, काठमाडौं

दैलेखको ठाटिकाँध गाउँपालिका–२ मा ११ दिनसम्म सुत्केरीलाई घरभित्र पस्न नदिने र धार्मिक परम्परा भन्दै घरदेखि टाढाको गोठमा सुत्केरी गराउने तथा राख्ने चलन रहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा गएर तीन हप्तासम्म नियमित गर्भ जाँच गरिरहेकी हरिकला थापा चौथो हप्ता जाँच गर्न नआएपछि स्वास्थ्यकर्मीहरु उनलाई खोज्दै घरमै पुगे । तर, उनी घरमा भेटिइनन् । कहाँ छिन् भनेर खोज्दै जाँदा उनी घरबाट तीन घण्टा लाग्ने जंगलमा रहेको गोठमा सुत्केरी भएर बसेको स्वास्थ्यकर्मीले भेटे । सानो गोठमा धूवाँ तथा फोहोरमा सुत्केरी महिला बच्चा च्यापेर बसिरहेकी थिइन् ।

प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी मञ्जु शाहीले भनिन्,‘गर्भवती खोज्दा गोठमै सुत्केरी भेटाइयौं, हामीले बच्चा र आमाको स्वास्थ्य चेकजाँच गोठमै गरेर फर्कियौं ।’

सुत्केरी बस्ने एकान्त ठाउँमा बाघभालु तथा विषालु सर्पको डर भएता पनि सामाजिक संस्कारअनुसार आफूलाई गोठमा बसालिएको सुत्केरी हरिकलाले बताइन् । अहिले उनलाई त्यही गोठमै सुत्केरी उत्तार्ने परिवारले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्