एनआरएनएको वैदेशिक रोजगार सम्बन्धी छलफल कार्यक्रम



०७ असार २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघले वैदेशिक रोजगार राहत कोष उपसमितको पहलमा वैदेशिक रोजगार सम्बन्धी एक छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम वैदेशिक रोजगारको क्षेत्रलाई कसरी सुरक्षित तथा मर्यादित बनाउन सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षले वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनका लागि सरोकारवाला संघसंस्थाहरुसँग छलफल गरिरहेको बताए । अधिकाशं मुलुकहरुसँग श्रम सम्झौता नभएको कारणले वैदेशिक रोजगारमा जानेहरु गन्तव्य मुलुक पुगेपछि विभिन्न प्रकारका समस्या भोग्न बाध्य भएकाले नेपाल सरकारले विशेषत मध्यपूर्वका श्रम सम्झौता नभएका मुलुकहरुसँग श्रम सम्झौता गरेर श्रमिकहरु पठाउँदा बढी सुरक्षित हुने जानकारी समेत गराए ।

प्रवासी नेपाली समन्वय समितिका महासचिव सोम प्रसाद लामिछानेले आफ्नो संस्थाले वैदेशिक रोजगारमा गरेका गतिविधिहरु बारे जानकारी गराएका थिए । उनले वैदेशिक रोजगारका करिव ८०० भन्दा बढी घटनाहरु आफ्नो संस्थाको जानकारीमा आएको र यसका समाधानका लागि पहल गरिरहेको पनि अवगत गराए । वैदेशिक रोजगारबाट विविध समस्याहरु भएर फर्केका पूरुष कामदारहरुको लागि एउटा सेल्टरको स्थापना गरी सेवा प्रदान गरिहेको बताए ।

कार्यक्रमको अन्त्यमा संघका सह–कोषाध्यक्ष तथा वैदेशिक रोजगार राहत कोष उपसमितिका संयोजक सोमनाथ सापकोटाले संघ मार्फत आयोजना भएको कार्यक्रममा सहभागी भई अमूल्य धारणा राखिदिने महानुभावहरु प्रति हार्दिक आभार प्रकट गरे । सापकोटाले वैदेशिक रोजगारको क्षेत्रमा संघले गरेका गतिविधिहरु बारे जानकारी गराउंदै यस क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनको लागि नेपाल सरकार र सरोकारवालाहरुसंग सहकार्य र समन्वय गरिने बताए ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रवासी नेपाली समन्वय समिति, नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक, ट्रेकिङ्ग एजेन्सिज एशोसियशन अफ नेपालका  प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्