नयाँ प्रअको आगमनले फेरिदै बालउद्धार



०५ असार २०७५, काठमाडौं

बूनपा १० स्थित बालउद्धार मावि कपन भेगको लोकप्रिय सामुदायिक विद्यालय हो । अत्याधिक विद्यार्थी संख्या रहेको विद्यालयमा राजनीतिले पनि निकै ठाउँ पाउँदै आएको थियो । विनोद पण्डितको नियुक्तिलाई लिएर केही समूहले पक्ष र विपक्षमा निकै बहसहरु चलाईए ।

अनुभवी र बौद्धिक विनोद पण्डितले छोटो समयमा बालउद्धारमा परिवर्तनका संकेतहरु देखाएका छन् । पूर्व विद्यालय व्यवस्थापन समितिका अनुसार,‘अगाडिका प्रअ डोरप्रसाद आचार्य र निवर्तमान प्रअ होमप्रसाद वाग्लेले प्रअ हुँदा दैनिक १ पिरियड पनि पढाउने गर्दैनथे । नेपाल सरकारले उपलब्ध गराउने प्रअ भत्ता मासिक रु.५००।– भएपनि अवैधानिक तरिकाले मोटो रकम लिदै आएका पूर्व प्रअहरु र  निवर्तमान प्रअ वाग्लेले रु.७,०००।– अतिरिक्त मासिक भक्ता बुझ्दै आएका थिए ।

विनोद पण्डित प्रअ भएपनि दैनिक ४ पिरियड पढाईरहेका छन् भने नेपाल सरकारले उपलब्ध गराएको रु.५००।– मात्र अतिरिक्त प्रअ भत्ता बुझ्ने प्रक्रियामा छन् । यस विषयमा उनले विद्यालय व्यवस्थापन समितिमा जानकारी समेत गराईसकेका छन् ।

विद्यालयको हाजिरी प्रक्रिया पहिले विद्युतीय थियो, जसको दुरुपयोग गरी नपढाउने शिक्षकहरु विद्यालय समयमा हाजिरी गरेर विद्यालय विदा हुने समयमा आउने गरेका थिए । हाल विद्यालयमा प्रअ पण्डितको आगमनसँगै दोहोरो हाजिरी प्रणाली लागू गरिएको छ । जसले गर्दा विद्युतीय हाजिरी र हस्तलिखित हाजिरी पुस्तिकामा अनिवार्य आएको/गएको हाजिरी गर्नैपर्ने व्यवस्था गरिएको छ ।

पूर्व प्रअ डोरप्रसाद आचार्य दशकभन्दा बढी विद्यालयमा १ पिरियड भन्दा पढाउँदैनथे । त्यो पनि नियमित थिएन । निवर्तमान प्रअ होमप्रसाद वाग्ले ३ दिनमा १ पिरियड पढाउँथे । पदीय दुरुपयोग गरी विद्यालय आउने–जाने समय र विदा बस्ने प्रक्रिया मनोमानी थियो । अनुपस्थित शिक्षकशिक्षिकाको अनुपस्थितिमा हाजिरी पुस्तिकामा गयल गर्ने चलन थिएन । हस्ताक्षर गर्ने ठाउँ खाली हुनाले विद्यालयमा आएको समयमा शिक्षकशिक्षिका नआएको दिनको समेत हाजिर गर्ने गर्थे ।

पूर्व प्रअहरुको कार्यकालमा डिजिटल हाजिरी पद्धतिको समेत अति धेरै दुरुपयोग भएको थियो । अहिले दोहोरो हाजिरी प्रणालीले यस्ता विकृतिहरु रोकिएका छन् । विद्यालय समयमा शिक्षकशिक्षिका नआएमा वा पन्ध्र मिनेट भन्दा ढिलो आएमा आधा दिनको तलब काटिने व्यवस्था प्रअ पण्डितको आगमनसँगै लागू भएको छ ।

प्रअ पण्डित आफैं दैनिक ४ पिरियड पढाउँछन् जुन अघिल्ला प्रअहरुको भन्दा नितान्त फरक छ । हाजिरकै भरमा तलब बुझेका पूर्व प्रअहरु डोरप्रसाद आचार्य र होमप्रसाद वाग्ले अहिले बाध्य भएर दिनमा ३/३ पिरियड पढाउँछन् । अतिरिक्त सुविधा लिदै १ पिरियड पनि नपढाउने उनीहरु विद्यालय समयावधिमा काम बाहेक विद्यालय बाहिर जानै नपाउने भएका छन् । आफू प्रअ हुँदा शिक्षण तालिकामा समेत १ पिरियड भन्दा बढी नबनाएका उनीहरुलाई गरिएको नियमसंगत व्यवस्थाले अन्य शिक्षकशिक्षिकामा समेत दवाव सिर्जना भएको छ ।

हाल विद्यालयको गेटमा आगन्तुक पुस्तिका, बाहिर जाने शिक्षकशिक्षिकाको विवरण टिपोट गर्न थालिएको छ । विना जानकारी वा दिईएको समयभन्दा बढी समय विताउने शिक्षकशिक्षिकाको तलब समेत कट्टा गर्ने व्यवस्था लागू गरिएको छ । निकै छोटो समयभित्र विद्यालयमा सीसी क्यामेराको व्यवस्था गरिदैछ । जसले गर्दा प्रअले शिक्षकले गरेका गतिविधिहरु प्रत्यक्ष निगरानी गर्न सक्नेछन् ।

विद्यालयमा उपस्थित भएर नपढाउने शिक्षकशिक्षिकाहरुको एउटा समूह नयाँ नियमले छटपटिएको छ । यद्यपि प्रअ पण्डित आफू पनि इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने र जोसुकैले पनि नेपाल सरकार जिल्ला शिक्षा कार्यालयको नियमानुसार काम गर्नुपर्ने बताउँछन् । जिम्मेवारी बहन नगर्ने शिक्षकशिक्षिकाहरुलाई प्रअको अधिकार प्रयोग गरी हदैसम्मको कारवाही गर्ने दृढतामा छन्–उनी । प्रअ पण्डितको प्रयासले बालउद्धारमा रहेको बेथिति अन्त्य हुँदै गुणस्तरीय शिक्षामा योगदान पुग्ने विद्यालय व्यवस्थापन समितिको विश्वास छ ।

यो पनि पढ्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्