सामुदायिक भवन तथा नाली निर्माण



५ असार २०७५, म्याग्दी

सामुदायिक भवन निर्माण

मंगला गाउँपालिका– ४ सोलधारामा सामुदायिक भवन निर्माण भएको छ । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानबाट सभाहलसहितको दुई कोठे भवन निर्माण भएका हुन् ।

बैठक, तालीम, गोष्ठी, भेलालगायतका कार्यक्रम सञ्चालन गर्न तथा सामुदायिक हितमा उपभोग गर्ने उद्देश्यले रु तीन लाख विनियोजन भएको एकीकृत सामुदायिक भवन निर्माण योजना सम्पन्न भएको वडा अध्यक्ष ओमबहादुर रोका (रवी)ले जानकारी दिए ।

भवन परिसरमा स्थानीय बासिन्दाको पहलमा यसअघिनै खेलमैदान निर्माण भइसकेको छ । उक्त खेलमैदानमा फुटबल, भलिबल, त्रिकेट लगायतका खेल सञ्चालन गर्न सकिन्छ ।

बरंजाको सबैभन्दा ठूलो उक्त खेलमैदानको घेराबार र व्यवस्थापन गर्ने कार्यलाई वडा कार्यालयले विशेष प्राथमिकतामा राखिएको वडा अध्यक्ष रोकाले बताए ।

नाली निर्माण

म्याग्दी मालिका गाउँपालिका– ७ बिम तल्लो गाउँमा ढल निकासका लागि नाली निर्माण भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय बासिन्दाको श्रमदान बाट रु पाँच लाख ५० हजार ९१७ को लागतमा ११० मिटर पक्की नाली निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सनमान जुक्जालीले बताए ।

७० सेन्टिमिटर गहिरो र ५० सेन्टिमिटर चौँडाइ भएको नालीमाथि पक्की ढकनी पनि राखिएको छ । यसबाट बिम तल्लोगाउँका १०० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको योजना सम्पन्न गर्न एक सय घरधुरीले दुई दिनका दरले श्रमदान गरेका थिए ।

नाली निर्माण भएपछि गुजमुज्ज परेको बाक्लो बस्तीको सरसफाइमा सहयोग पुगेको वडाध्यक्ष रेशम जुक्जालीले बताए ।

प्रतिक्रिया दिनुहोस्