प्रधानमन्त्री ओलीको चीन भ्रमणमा जम्बो टोलि, को-को जाँदैछन् ? सूचि सहित



४ असार २०७५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण टोलीमा सरकारीभन्दा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको संख्या करिब तेब्बर बढी भएको छ ।

प्रधानमन्त्रीको अफिसियल टोलीमा २८ जना छन् भने निजी क्षेत्रका विभिन्न संघ संस्था र सञ्चारमाध्यमका प्रतिनिधिहरुको संख्या जोड्दा ११० नाघेको छ ।

ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य सहित गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ गरी चारजना मन्त्री रहनेछन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र नेकपाका नेता तथा विदेश मामिला विज्ञ डा. राजन भट्टराई पनि टोलीमा छन् ।

त्यस्तै संघीय संसदका सांसदहरुमध्ये नेकपाका जनार्दन शर्मा, प्रेम आले, जयपुरी घर्ती, विशाल भट्टराई र नैनकला ओझा भ्रमण दलमा परेका छन् । नेपाली कांग्रेसका राजेन्द्र केसी, पार्वती डिसी चौधरी, राजपाबाट निर्जला राउत र संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव भ्रमण दलमा परेका छन् ।

भ्रमण दलमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुस्ताङ जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हमो गुरुङ पनि छन् । प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य र निजी चिकित्सक दिव्यासिंह शाह पनि अफिसियल टोलीमा छन् ।

मुख्य सचिव लोकदर्शन रेगमी,अर्थ सचिव राजन खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी र वाणिज्य सचिव चन्द्र घिमिरे भ्रमण दलमा छन् । त्यस्तै चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल सहित दूतावासका अधिकारी थपिनेछन् ।

हिमालयन एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा पनि भ्रमण दलमा छन् । सोही एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री चीन जाँदैछन् । त्यस्तै उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसानका अध्यक्ष रमेश सिलवाल र महासचिव लोकवहादुर भण्डारी पनि प्रधानमन्त्रीको भ्रमण दलमा छन् ।

निजी क्षेत्रका विभिन्न संस्थामध्ये उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित ११ जना भ्रमण दलमा छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सहित ५ जना र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित ५ जना भ्रमण दलमा परेका छन् । निजी क्षेत्रका प्रतिनिधि निजी खर्चमै जानेछन्  ।

प्रतिक्रिया दिनुहोस्