शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहमा ९ हजार पदका लागि विज्ञापन खुल्ला



०३ असार २०७५, काठमाडौं

प्राथमिक तहमा शिक्षक सेवा आयोगले खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले दिएको जानकारी अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको छ ।

आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि सो विज्ञापन आह्वान गरेको हो । अन्य तहका लागि भने अहिले कुनै पनि निर्णय नभएकोले प्राथमिक तहका मात्र खुल्ला प्रतिस्पर्धा अन्तर्गत विज्ञापन आह्वान गरिएको हो, अन्यको हकमा पछि निर्णय गरिनेछ डा. थपलियाले बताए ।

आयोगले खुलातर्फ ५ हजार ४९८, महिलातर्फ १ हजार ४२१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी/जनजातितर्फ १ हजार २१५, मधेशीतर्फ ९८६, दलिततर्फ ४०५, अपांगतर्फ २२५ र पिछडिएको क्षेत्रतर्फ १८० आरक्षण सहित कोटा छुट्टाइएको आयोग प्रमुख थपलियाले बताए ।

शिक्षा सेवा आयोगको विज्ञापनमा उल्लेख भए अनुसार कुनैपनी मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको वा शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा सो रहरको परीक्षामा २ सय पूर्णांकको शिक्षा विषय लिइ उत्तीर्ण गरेको तर अपांगता भएका व्यक्तिले यो विज्ञापनका लागि तालिम नभए पनि उम्मेदवार हुन पाउने भएका छन् ।

फारमको साथमा निवेदकले स्थायी अध्यापन अनुमति पत्र, नेपाली नागरिकताको प्रमाणपत्र र दरखास्त फारम बुझाउनु पर्नेछ । फारम बुझाउने अन्तिम मिति २०७५ साल असार ३० गतेसम्म तोकिएको छ । आवेदन दिने व्यक्ति १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ । त्यसैगरी कार्यरत राहत शिक्षकका हकमा भने उमरको हद लाग्ने छैन् । कार्यरत स्थायी शिक्षकले समान पदमा उम्मेदवार हुन पाउने छैनन् । आयोगले निकालेको सुचना अनुसार लिखित परीक्षा यहि असोज १३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्