उत्तर र दक्षिण कोरियाबीच सैन्य वार्ता शुरु



३१ जेठ २०७५, सौल

उत्तर र दक्षिण कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता शुरु भएको छ ।

स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार सो जानकारी दिएका छन् । बिहीबार बिहानबाट उक्त वार्ता शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बिहीबार १० बजे दुई कोरियाका सैनिक जर्नेल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए । यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमै यो पहिलो पटक यसरी वार्ता भएको बताइएको छ ।

यसअघि सन् २००७ को शुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीहरुबीच वार्ता भएको बताइएको थियो ।

पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर मेजर जनरल किम डो ग्युन बिहीबार बिहान उक्त गाउँमा पगेका हुँन् ।

त्यसैगरी उत्तर कोरियाको तर्फबाट पनि जनरल आन लक सनले नेतृत्व गरेका छन् । उनीहरुबीच दुई कोरियाको बीचमा सैनिक तहमा समस्या समाधानका लागि यो बैठकको आह्वान गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मङ्गलबार सिङ्गापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाबीच पनि सम्बन्धमा सुधार आएको छ ।

उक्त शिखर वार्तामा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक गृहकार्य गरिने र निशस्त्रीकरणका लागि प्रक्रिया थालिने भनेर उत्तर कोरियाली नेताले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्